ताल र सुरको संगम

संगीत

ताल र सुरको संगम
सुन्नुहोस्

शास्त्रीय संगीतलाई साधनाको विषय मान्छन् डा. हरिप्रसाद पौड्याल। यही साधनामार्फत परमतत्तव प्राप्त गर्न सकिने हुँदा उनी यसलाई निकै शक्तिशाली विद्या ठान्छन्।

सात दाजुभाइमध्ये छैटौं नम्बरमा पर्छन्, डा. हरिप्रसाद पौड्याल। एउटा छोरालाई संस्कृत पढाउने बुवाको इच्छा थियो। यही कारण बागलुङ बडाचौरका हरि माइलो दाइसँग १० वर्षकै उमेरमा बनारस पसे। विद्यार्थी जीवन उतै बिताए। बनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट संस्कृतमा स्नातकोत्तर उत्तीर्ण गरे। संस्कृत उनको मुख्य विषय थियो। तर संगीतमा पनि उत्तिकै रुचि हुँदै गयो। संगीतमा स्नातक तहमा बनारस हिन्दू विश्वविद्यालयमा सर्वोत्कृष्ट विद्यार्थीका रूपमा उनले स्वर्णपदक हात पारे। विश्वविद्यालयमा सर्वोत्कृष्ट भएकोमा नेपाल सरकारको तर्फबाट तत्कालीन राष्ट्रपति डा.रामवरण यादवबाट उनले विद्याभूषण ‘ग’ ग्रहण गरे। 

भरत नाट्यम्मा विद्यावारिधि गरेकी डा. प्रियंवदा तिवारीसँग हरिकोे भेट कलेज पढ्दाताका भयो। सोलो संगीतकार, भक्ति संगीत, स्टुडियोमा बजाउने, भरत नाट्यम्, कत्थकलगायत विधामा उत्तिकै ‘अलराउन्डर’ थिए हरि। रुचि मिल्ने भएकाले दुवैको कुरा पनि मिल्यो। भारत बनारसकी प्रियंवदाको परिवारले पनि छोरीका लागि हरिलाई नै रोजे र विवाह भयो। हुन त प्रियंवदाको परिवार इन्जिनियरिङ पृष्ठभूमिको हो। छोरी इन्जिनियर होस् भन्ने उनको बुवाको चाहना थियो। त्यसैले नृत्यलाई सौखको रूपमा मात्र बढाउन परिवारले सुझाएका थिए। तर सांगीतिक क्षेत्रप्रतिको विशेष लगावले उनले बीएचयूबाट संगीतमै डिप्लोमादेखि स्नातकोत्तरसम्मको अध्ययन पूरा गरिन् उनले।

महाराजा सयाजी राव विश्वविद्यालय बरोड्रा गुजरातबाट सन् २०२२ मा विद्यावारिधि पनि सकाइन् प्रियंवदाले। भारतको धेरै महोत्सवमा प्रस्तुति दिएकी उनले उत्तर प्रदेश गौरव रत्न अवार्डनामक राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेकी छन्। बनारसमा यी दम्पती एक्लै बस्छन्। दुवै एउटै क्षेत्रमा हुँदा एकापसलाई साथ र सहयोग निकै मिलेको प्रियंवदा बताउँछिन्। ‘बिहान सबेरै उठेर उहाँ साधना कक्षमा जानुहुन्छ। म पनि त्यहीँ गएर नृत्याभ्यास गर्छु। एकअर्कालाई कुनै पनि किसिमको डिस्टर्ब गर्दैनौं’, उनी भन्छिन्।

संगीतको कार्यक्रम कहिले साँझ, कहिले राति हुन्छ। यस्तो परिस्थितिमा संगीत नबुझ्ने परिवारमा गाह्रो हुन्छ। तर आफू दुवै यही क्षेत्रमा भएकाले कुनै समस्या नआएको उनी बताउँछिन्। यी दम्पतीले जुम, गुगल मिटलगायतका माध्यमबाट विश्वभरका विद्यार्थीलाई संगीत र नृत्यको कक्षा लिने गरेका छन्। धेरै विश्वविद्यालयमा उनीहरूले गेस्ट लेक्चररको रूपमा पनि कक्षा सञ्चालन गरे। पौड्यालले सन् २०१५ देखि प्रत्येक वर्ष युरोपमा प्रस्तुति देखाउँदै आएका छन्। स्विट्जरल्यान्डको बासेलस्थित क्लासिकल एन्ड सेक्रेड म्युजिक सेन्टर एसोसियसनका उनी उपनिर्देशक हुन्। सोही संस्थामार्फत उनी स्विट्जरल्यान्ड, फ्रान्स, हल्यानड, जर्मनी, बेल्जियमलगायत देशमा संगीत अध्यापन र प्रस्तुतिका लागि पुगिसकेका छन्।

अल इन्डिया रेडियोको बी हाई ग्रेड आर्टिस्टका रूपमा रहेका उनी भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर)को लाइफटाइम प्यानल आर्टिस्ट हुन्। परिषद्मार्फत छात्रवृत्तिमा उनले बनारस हिन्दू विश्वविद्यालयबाट सन् २०१९ मा संगीतमा विद्यावारिधि गरेका हुन्। उनी शास्त्रीय संगीत समाज नेपालको विदेश विभागअन्तर्गत भारतको संयोजक पनि हुन्। संस्थामार्फत शास्त्रीय संगीतका लागि प्रचारप्रसारको काममा आफू जुटिरहेको उनी बताउँछन्। ‘जब संगीत सुरु गरें। साधना निरन्तर जरुरी रह्यो। जसले गर्दा जन्मघर नेपालमा समेत लामो समयपछि मात्र जान भ्याउँथे’, पौड्याल सम्झन्छन्, ‘एकअर्काको साथले नै संगीतमा अझै खारिन र अगाडि बढ्न मद्दत गर्‍यो।’ अन्य देशमा प्राय :  एक्लै वा आफ्नै समूहसँग जाने भए पनि भारत र नेपालमा भएका थुप्रै कार्यक्रममा यी दम्पती दुवैले प्रस्तुति दिएका छन्।

शास्त्रीय संगीतमा भारतकै सबैभन्दा वरिष्ठ बाँसुरीवादक पण्डित हरिप्रसाद चौरसिया, पण्डित राजेन्द्र प्रसन्नालगायतका कलाकारबाट आफू प्रेरित रहेको पौड्यालको भनाइ छ। पहिलेको तुलनामा यस क्षेत्रमा अहिले धेरै अवसर रहेको बताउँदै उनी थप्छन्, ‘शास्त्रीय संगीतमा लागेर अहिले धेरै गर्न सकिन्छ। सोलो, लोक, आधुनिक गीतदेखि सिरियल र चलचित्रको ब्याकग्राउन्ड संगीतमा पनि कला प्रस्तुत गर्न सकिन्छ।’ आय आर्जनको हिसाबले पनि संगीत र नृत्य क्षेत्र निकै राम्रो हुँदै गएको उनको भनाइ छ। ‘अभैm सरकारी कार्यक्रमहरूमा प्रस्तुति दिँदा त राम्रै पारिश्रमिक पाइन्छ’, उनी सुनाउँछन्।

पहिलेभन्दा अहिले सांगीतिक क्षेत्रप्रतिको दृष्टिकोण फेरिएको उनको अनुभव छ। ‘पहिले गाउने, नाच्ने भनेको त जसले नि गर्न सकिहाल्छ भन्ने सोचाइ थियो। तर अहिले पढेर र सिकेर यो क्षेत्रमा आउने ट्रेन्ड बढेको छ’, उनी अनुभव सुनाउँछन्, ‘नेपालमा पनि सांगीतिक क्षेत्रको विकास हुँदैछ।’ उनका अनुसार भारतमा सानैदेखि विद्यालय तहमै संगीतको पढाइ हुने हुँदा ११, १२ कक्षामा पुगुन्जेल विद्यार्थी संगीतमा अब्बल भइसक्छन्। यसले गर्दा चिकित्सा र इन्जिनियरिङजस्ता विषय लिएर पढ्न नसके पनि सांगीतिक क्षेत्रमा उनीहरूका लागि प्रशस्तै अवसर पैदा हुन्छन्। नेपालमा पनि विद्यालय तहदेखि नै संगीतको अध्ययन अध्यापनमा सरकारले चासो दिए विद्यार्थीले विविध क्षेत्र रोज्न सक्ने उनको बुझाइ छ। यसैगरी विश्वविद्यालयमा पनि भोकल, तबला, गायन, गितारलगायतका विषयका साथै बासुरी, सारंगीजस्ता बाजाको अध्यापन सुरु गर्नुपर्ने उनको धारणा छ।

शास्त्रीय संगीतलाई साधनाको विषय मान्छन् उनी। यही साधनामार्फत परमतत्त्व प्राप्त गर्न सकिने हुँदा उनी यसलाई निकै शक्तिशाली विद्या ठान्छन्। बाँसुरीको धुनमा जोकोही मोहित हुन्छन्। त्यसैले यसलाई मनोरञ्जनको माध्यमको रूपमा मात्र नभई संगीत चिकित्साको माध्यमको रूपमा पनि लिने गरिएको छ। विगत केही वर्षयता पौड्याल यही संगीत चिकित्सामार्फत बिरामीको उपचारमा संलग्न छन्। तनाव, दमलगायतका बिरामीलाई बाँसुरी, प्राणायामलगायत विधिमार्फत उनले उपचार गर्ने गरेका छन्। दमका रोगीलाई बाँसुरी फुक्न लगाउँदा निकै प्रभावकारी भएको उनको अनुभव छ। दिनहुँ पम्प लगाउनुपर्ने, औषधि खानुपर्ने दमका रोगीले यस्तो उपचारपछि सातामा तीन दिन, सातामा एक दिन, दुई सातामा एक पटक गरेर विस्तारै घटाउँदै औषधि छाडेको उनको सुझाव छ। ‘दुनियाँभरबाट डाक्टर, इन्जिनियरलगायत पेसाका व्यक्तिले पनि बाँसुरी सिकेर आफ्नो स्ट्रेस लेभल घटाउने गरेका छन्’, उनी भन्छन्।

बाँसुरीलाई सबैभन्दा प्राचीन वाद्य मानिन्छ। ऋग्वेदमा यसलाई नाडी र वीणालाई गात्र भनेर उल्लेख गरिएकोे पाइन्छ। यस्तो इतिहास बोकेको वाद्यवादनप्रति नेपालमा पनि युवा पुस्तामा धेरैले सिक्दै र बजाउँदै गरेको देख्दा आफूलाई खुसी लाग्ने उनको भनाइ छ। काठमाडौंमा शास्त्रीय संगीतको विकास भए पनि अन्य ठाउँमा पनि प्रचारप्रसार गर्न उनी सुझाउँछन्। भारतमा शास्त्रीय कलाकारलाई पद्मश्री, पद्म भूषण, पद्म विभूषण, भारत रत्नलगायतका उच्च कोटीका पुरस्कारको व्यवस्था भएजस्तै नेपालमा पनि कलाकारको प्रोत्साहनका लागि यस्ता पुरस्कारको व्यवस्था गरिनुपर्ने उनको धारणा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.