केन्याली महिलालाई पिछा गर्दा दुई करोड बढीको कोकिन फेला, भारतीयसहित दुई जना पक्राउ
काठमाडौं : दुई करोड ३३ लाख बढी मूल्य पर्ने लागु औषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन्। लागु औषध नियन्त्रण व्युरोले उनीहरूलाई ठमेलको विभिन्न होटलबाट पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा गत मंगलबार व्युरोबाट खटिएको टोलीले भारतीय नागरिक रविन्द्र कुमार परासरलाई ठमेलबाट पक्राउ गरेको हो। उत्तर प्रदेश अलिगढका ५१ वर्षीय परासरले लेडिज ब्यागमा फल्स बटम बनाइ एक किलो ८० ग्राम कोकिन लुकाएर राखेको व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्राराज जोशीले जानकारी दिए।
सोही घटनामा संलग्न केन्याका नागरिक ६३ वर्षीया पिलिसिला वान्जालाई पनि ब्युरोले पक्राउ गरेको छ। उनलाई ठमेलकै अर्को होटलबाट पक्राउ गरिएको हो। उनलाई एक हजार अमेरिकी डलरसहित पक्राउ गरिएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए।
पक्राउ परेकी महिलालाई ब्युरोबाट खटिएको टोलीले बैशाख १ गतेदेखि नै पिछा गरेको थियो। जोशीका अनुसार लेनदेनमा संलग्न दुबैलाई पक्राउ गर्न टोलीले पाँच दिन पिछा गरेको थियो।
पछिल्लो समय अफ्रिकी मुलुकमा लागू औषधको ठूलो मात्रामा कारोबार भइरहेको अनुसन्धानमा खटिएका प्रहरीको भनाइ छ। नेपाललाई लागू औषधको ट्रान्जिट हब बन्न नदिन प्रहरी सक्रिय रहेको ती अधिकारीको भनाइ छ।
प्रहरीले केन्याली नागरिकको कनेक्सन कसरी भारतीयसँग भयो र नेपालमा कसरी कारबारी भयो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !