
जनमत हेर्दा कांग्रेसको विकल्पमा रास्वपा उदाएजस्तो देखिन्छ। तर, कति टिकाउ हुन्छ ? यो हेर्न बाँकी छ।
लामो राजनीतिक इतिहास र दह्रो संगठन भए पनि ठूला दलका उम्मेदवार निर्वाचित हुन सकेनन्। जसको विकल्प खोज्दै जनमत रास्वपामा गएको छ। गैरकम्युनिस्टको रोजाइ भविष्यमा रास्वपा हुन सक्छ। कांग्रेस, एमाले र माओवादीका शीर्ष नेतामा मपाईंत्व छ। पटक–पटक प्रधानमन्त्री भए तर शासन शैलीमा गुणात्मक परिवर्तन आएन। आत्मकेन्द्रित र परिवारमुखी भए। नयाँ नीति र कार्यक्रमै भएन। सत्तामा जान गठबन्धनतर्फ केन्द्रित भए। यसबाट जनता वाक्क भए। वितृष्णा जाग्यो। त्यसकारण जनअपेक्षा नयाँ जोसिला युवा नेतातर्फ गयो।
शीर्ष नेताहरूबाट समृद्धि हासिल हुँदैन भन्ने बुझाइ जनतामा परेको छ। उनीहरूले पार्टीभित्र युवा नेतालाई थिचेका छन्। आफू सर्वेसर्वा भएका छन्। कांग्रेसमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेललगायत युवा नेता छन्। तर, विद्रोह गर्न सक्दैनन्। छुट्टै पार्टी खोल्ने आँट पनि गर्न सक्दैनन्। एमालेमा पनि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कोही बोल्न सक्दैनन्। नेतृत्वविरुद्ध विद्रोह गर्न पनि सक्दैनन्। माओवादीभित्र पनि त्यस्तै अवस्था छ।
शीर्ष नेतृत्व पटक–पटक प्रधानमन्त्री भइसक्दा भिजन देखिएन। अवकाशप्राप्त कर्मचारी नियुक्त गर्दा अख्तियारलगायत संवैधानिक निकाय प्रभावकारी हुन सकेनन्। उनीहरूमा चिन्तन भएन। खाली कार्यकर्ताबाट घेरिएर बस्ने प्रवृत्ति देखियो। चिन्तन भएकालाई प्रोत्साहन छैन। भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्ति देखियो। यसले जनता वाक्क छन्। तापनि, सच्चिने लक्षण देखिँदैन। जनताले नयाँ अनुहार खोजिरहेका छन्। जनतामा कुनै बेला गगन थापा र विश्वप्रकाश शर्माप्रति आकर्षण थियो। यी युवा नेताबाट अपेक्षा थियो। उनीहरूले पनि केही गर्न सक्दैनन् भन्ने अहिलेको बुझाइ छ। जनताको नजर अहिले रास्वपा सभापति रवि लामिछाने र डा. स्वर्णिम वाग्लेप्रति छ।
जनमत हेर्दा कांग्रेसको विकल्पमा रास्वपा उदाएजस्तो देखिन्छ। तर, कति टिकाउ हुन्छ ? यो हेर्न बाँकी छ। किनभने, यसअघि पार्टी फुटेर नयाँ बनेकाहरू टिकाउ हुन सकेनन्। त्यस्ता नेता पुरानोमै फर्केका छन्। रास्वपाको हकमा लामिछानेको पृष्ठभूमि टेलिभिजन प्रस्तोता हो। रास्वपाले जनअपेक्षा सबै पूरा गर्न सक्ने होइन। यद्यपि, भ्रष्टाचारमा मुछिएका छैनन्। स्वार्थकेन्द्रित भइसकेको देखिँदैन। उमेरगत हिसाबले युवा छन्। जनताको एजेन्डा बोके भने भविष्य उज्ज्वल हुन सक्छ। भ्रष्ट भएनन् र स्वच्छ छवि कायम राखे आगामी निर्वाचनमा अझ धेरै सिट ल्याउन सक्छ।
तीन–चार वर्ष बाँकी छ। रास्वपाले परिपक्वता देखाए र छवि जोगाए केही गर्न सक्छ। लोभिपापी हुनु भएन। जनताका एजेन्डासहित अघि बढे कांग्रेस, एमाले र माओवादीलाई अप्ठेरो पर्छ। आगामी निर्वाचनमा ठूलो धक्का दिन्छ।
(प्राध्यापक बराल राजनीतिक विश्लेषक हुन्।)
प्रतिक्रिया दिनुहोस !
