पूर्वको अलैंची पश्चिमतिर
![पूर्वको अलैंची पश्चिमतिर](https://annapurnapost.prixacdn.net/media/albums/alaichi-bagan-57ca393a192ce3.01806895_jD3qtg8ahe_ocgqOerc4h.jpg)
अछाम, डोटी, बैतडीसमेत ४६ जिल्लामा अलैंची बगान विस्तार भएको छ।
अलैंची व्यवसायी संघकी केन्द्रीय सदस्य कुसुम दहालको माईजोगमाई ५ मा रहेको तीन सय रोपनी जमिन अहिले नाङ्गै छ। रोगका कारण १२० मन (४० किलो बराबर १ मन) सम्म सुक्खा अलैंची फल्ने बगान मासिएपछि उनलाई अलैंची सम्झन पनि मनलाग्न छोडेको छ।
दाहाल भन्छिन्, ‘अलैंची सम्झँदा पनि मन कटक्क खान्छ, हाम्रो जस्तो हाल बनेको छ सबैको। ’ किसानले नयाँ जात खोजेर लगाए पनि लामो समय नटिकेपछि धेरैले बैकल्पिक खेती अपनाउन थालेको उनले बताइन्।
अलैंची विकास केन्द्र पान्दमका प्रमुख राजन परियारले नेपालको पूर्वक्षेत्रमा अलैंची खेतीको क्षेत्र खुम्चिए पनि पश्चिममा विस्तार हुँदै गएको बताए। उचित व्यवस्थापन र रोगको कारण इलाममा भने १५ वर्षको अवधिमा ९० प्रतिशत बगान सखाप भएको अनुमान छ। पछिल्लो समयमा इलामको चुरे क्षेत्रमा जिर्मले जातको अलैंचीको खेती सुरु भएपछि केही समयदेखि इलाममा उत्पादन घट्ने क्रम रोकिएको केन्द्र प्रमुख परियारले बताए। रोगका कारण इलामको अलैंची खेती अहिले १७२५ हेक्टरमा खुम्चिएको छ। ताप्लेजुङमा अहिले पनि ४३०२ हेक्टरमा अलैंची खेती फैलिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
२०६५ सालमा प्रकोपका रुपमा देखा परेको अलैंचीको गानो कुहिने रोगको कारण इलाम, पाँचथर, ताप्लेजुङ सहित अलैंची हुने सबै जिल्ला प्रभावित भएका छन्। तर, रोगको प्रभावकारी रोकथामको प्रयाससमेत नभएको राष्ट्रिय कृषक समूह महासंघ इलामका अध्यक्ष विष्णु दुलालले बताए।
कोसी प्रदेशमा अहिल १५ हजार ७३७ हेक्टरमा अलैंची खेती हँुदा वार्षिक ७ हजार ४७४ टन उत्पादन हुने गरेको छ। चालू आव २०७९/८० को फागुन मसान्तसम्ममा नेपालबाट पाँच अर्ब ८४ करोड ४६ लाख ७२ हजार मूल्य बराबरको ७२ लाख २१ हजार तीन सय ७४ केजी अलैंची भारत निर्यात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ। गत आव २०७८/७९ को सोही अवधिमा नेपालबाट तीन अर्ब २२ करोड २७ लाख २२ हजार रुपैयाँ मूल्य बराबरको ३५ लाख ८४ हजार २२ केजी अलैंची भारततर्फ निकासी भएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ।
गत आर्थिक वर्षमा सो भन्सार कार्यालयबाट चार अर्ब ७६ करोड ४३ लाख ८६ हजार मूल्य बराबरको ५२ लाख ८० हजार चार सय ४२ केजी अलैंची भारत निकासी भएको थियो। भन्सारको तथ्यांकले गत वर्ष अलैंची प्रतिकिलो ९ सय रुपैयाँमा कारोबार भएको देखिन्छ। मधेस प्रदेश बाहेकका जिल्लामा अलैंचीको खेती विस्तार हुन थालेको सरकारी तथ्याङ्कले देखाउँछ।
अलैंची विकास केन्द्रले भने यस वर्षदेखि तन्तु प्रजनन् प्रयोगशालामार्फत स्वस्थ विरुवा उत्पादन सुरु गरेको केन्द्र प्रमुख परियारले बताए। केन्द्रले वार्षिक ५० हजार बिरुवा उत्पादन गर्ने लक्षसहित काम सुरु गरेको छ। यसरी उत्पादन भएको बिरुवा ३० महिनामा कृषकको बारीमा रोप्न योग्य हुन्छ। यस्तो विरुवामा रोग सहने क्षमता बढि हुने उनले बताए। उनले भने, ‘पश्चिम नेपालमा अलैंची खेती विस्तार भइरहेको छ। हामी त्यहाँ स्वस्थ विरुवा दिने योजनामा छौं। ’
पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, खोटाड.,संखुवासभा, ओखलढुंगा, उदयपुर, लमजुड., कास्की, सल्यान , दैलेख, सुर्खेतदेखि सुदूरपश्चिमका अछाम, डोटी, बैतडीसमेत ४६ जिल्लामा अलैंची बगान विस्तार भएको अलंैची विकास केन्द्र पान्दम फिक्कलले जनाएको छ। नेपालमा सबैभन्दा बढी अलैंची खेती गर्ने ताप्लेजुङगमा ४३०२ हेक्टर क्षेत्रमा यसको व्यावसायिक खेती भएको छ।
वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेका १९ वटा तुलनात्मक लाभका वस्तुमध्ये अलैंची पनि हो।
विश्वका अलैंची उत्पादन गर्ने मुख्य तीन मुलुकमध्ये नेपाल अग्रस्थानमा छ। नेपालमा करिब १७ हजार हेक्टरबाट अलैंची खेती हुने गरेको छ। यसबाट वार्षिक ६ हजार ५२१ मेट्रिकटन अलैंची उत्पादन हुने गरेको छ। भारतमा भने २६ हजार ४ सय ८२ हेक्टरबाट वाषिर्क ४ हजार ५ सय २५ टन मात्र अलैंची उत्पादन हुने गरेको छ।
२०१५ सालदेखि नै अलैंची खेती गरेर किसानले आम्दानी लिन थालेका हुन्। पहिलोपटक अलैंची खेती इलामका सीमावर्ती गाउँहरू श्रीअन्तु, समालबुङ, पशुपतिनगर, गोर्खे, जोगमाईलगायत क्षेत्रमा भएको पाइन्छ।
पहाडी क्षेत्रका ६७ हजार भन्दा बढी कृषकहरू अलैंचीमा आश्रित रहेको नेपाल सरकारको पाँच वर्षे अलैंची निर्यात नीतिमा उल्लेख छ। नीतिमा भनिएको छ– ‘भारतीय बिचौलियाहरूले यसको आम्दानीको ठूलो हिस्सा कब्जा गरेका छन् किनभने यसको अधिकांश व्यापार खासगरी संसाधन (लजिस्टिक्स) उनीहरूको नियन्त्रणमा छ। ’ नेपाली अलैंचीको भाउ पनि दिल्लीका व्यपारीले निर्धारण गर्ने गरेको छ।
अलैंचीको उत्पादन र प्रशोधनमा सुधार गरी मूल्य सञ्चयलाई अभिवृद्धि गर्ने नीति लिएको सरकारको अलैंची निर्यात नीतिमा उल्लेख छ।
नेपाली अलैंचीले विश्वको ६८ प्रतिशत हिस्स नेपाली अलैंचीले ओगटेको दायीत्व नामक गैरसरकारी सस्थाले सार्वजनीक गरेको रिर्पोटमा उल्लेख छ। सो रिपोर्टमा गुणस्तर सुधार, रोग नियन्त्रण र मिसावट नियन्त्रणमा तत्काल काम गर्न सुझाव दिइएको छ।
नेपाली अलैंचीको गुणस्तरलाई तीन तहमा विभाजन गरिएको छ। तीनवटै समुहको मूल्य बेग्लाबेग्लै हुने गरेको छ। जम्बोजेट, स्टेन्डर र चलन चल्ती भनिने वर्गीकरणमा प्रतिमन १ हजार सम्मको फरक रहने गरेको छ। अलैंचीको दानाको आकार, पुच्छर काटेको वा नकाटेको, अलैंचीको रंग, अलैंचीको चिस्यानको आधारमा वर्गीकरण गर्ने गरिएको छ। जम्बोजेट सबैभन्दा उच्च गुणस्तरको भए पनि यस्तो अलैंची किसानबाट नआउने व्यवसायी बताउँछन्। दोस्रो तहको स्टेण्डर र तल्लो गुणस्तरको अलैंची आउने भएकाले पनि अलैंचीले राम्रो मुल्य नपाएको व्यवसायीहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)