तत्कालिन गृहमन्त्री रामबहादुर थापालाई पैसा बुझाउनु पर्ने भन्दै इन्द्रजित राईले रकम उठाउँथे
काठमाडौं : सर्वसाधारणलाई भुटानी शरणार्थी बनाइदिने भन्दै रकम उठाएको बलियो प्रमाणका आधारमा तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राईले भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भन्दै सर्वसाधारणबाट पैसा असुलेको प्रमाण प्रहरीले पाएको छ । सोही प्रमाणका आधारमा प्रहरीले मंगलबार बिहान ललितपुरस्थित उनकै निवासबाट राईलाई पक्राउ गरेको हो । राईले गृहमन्त्री थापालाई समेत मिलाउनु पर्ने भन्दै नक्कली भुटानी शरणार्थी बनाइदिने प्रलोभनमा सर्वसाधारणबाट पैसा उठाउने गर्थे।
यद्यपी,प्रहरीले तत्कालिन गृहमन्त्री थापासँग भएको लेनदेनको प्रमाण भने भेटाएको छैन । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले अन्नपूर्णसँग भने,‘राईले तत्कालिन गृहमन्त्री थापासहित त्यसबेलाका गृहका उच्च अधिकारीको नाम मुछेर पैसा उठाएको पाइयो । तर, तत्कालिन गृहमन्त्री थापासहित त्यसबेलाका गृहका उच्च अधिकारीहरूले पैसा लिएको प्रमाण चाहि भेटिएको छैन । ’
राईले पैसा उठाउनकै लागि मात्र तत्कालिन गृहमन्त्री थापालगायत उच्च अधिकारीहरूको नाम लिएको हुनसक्ने ती अनुसन्धानमा खटिएका अधिकृतले दावी गरे । यसअघि पक्राउ परेका केशव दुलाल,टंककुमार गुरुङ,सानु भट्टराई र सागर राईको बयानका आधारमा प्रहरीले थप अनुसन्धानका लागि राईलाई पक्राउ गरेको हो ।
राईले भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै पाँच करोड बढी रकम सर्वसाधारणबाट उठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । राईसँगको बयानका आधारमा अन्य संलग्नहरू खुल्दै जाने प्रहरीले बताएको छ ।
यो पनि पढ्नुहोस