मिटरब्याजले तक्मा पो जित्यो
![मिटरब्याजले तक्मा पो जित्यो](https://annapurnapost.prixacdn.net/media/albums/fursad_poem_sketch_may20_2023_XvJYLHq8N3_oCm0g6GW1u.jpg)
ए सरकार,
शान्तिवाटिकामा लाठी बर्साऊ
माइतीघरमा अश्रुग्यास र
पुलिसको बुटले हिर्काऊ
सुदखोरलाई गरिबको औंठाछाप बेचिदेऊ
सरकार, कुर्सी बचाऊ
साइँला काकाको जग्गा लिलामी हँुदैछ
माइलाभाइको सपना चकनाचुर हुँदैछ
अदालतमा तिम्रा एजेन्ट पठाऊ
रामदाइलाई कठघरामा उभ्याऊ
असीको धन खसीमा चढाऊ
चुनावमा दाम दिनेलाई बचाऊ
सरकार सत्ता जोगाऊ
माइँला बाको सास न्यायालयमा बिक्री छ
सरकार, इजलासबाट न्याय किनेर लैजाऊ
मिटरब्याजको सुई फन्फनी घुमाउँदै
न्यायाधीशसामु फर्जी तमसुक राखेर
निमुखाका आँसुको प्रमाण बुझाऊ
ए सरकार,
गरिबको बली चढाउँदै
सुदखोर र बिचौलिया बचाऊ
मिटरब्याजको घनचक्करमा बलात्कारको पीडा
ए सरकार,
माइली भाउजूको इज्जतमा दाग लाग्नै बाँकी पो के रह्यो
गर, संरक्षण गर, बलात्कारीलाई
तीन तहको सुरक्षा मिलाइदेऊ
गरिबलाई सुली अनि चोरलाई चौतारो बनाइदेऊ
लौ न सरकार, यौनपिपासुको रक्षा गरिदेऊ
शीतल निवासको दैलोमा उसलाई देखेर अचम्मित छु
मान्नै पर्छ, उसले त तक्मा पनि पो जित्यो !
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)