'जिल्ला प्रशासन सुधार योजना' निर्माण
तेह्रथुम : जिल्ला प्रशासन कार्यालय तेह्रथुमले 'जिल्ला प्रशासन सुधार योजना' निर्माण गरेको छ।
जिल्लाको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन, सुशासन तथा सार्वजनिक सेवा प्रवाहलाई व्यावसायिक र योजनावद्ध रूपमा सञ्चालनका लागि कार्ययोजना निर्माण गरिएको हो।
प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालयसहित सबै सरकारी कार्यालयको सेवा प्रवाहलाई व्यवस्थित र सेवाग्राहीमैत्री बनाउनका लागि ३६ बुँदे योजना निर्माण गरिएको छ।
कार्ययोजनामा समयसीमा तथा अपेक्षित उपलब्धी समेत समावेश गरिएको छ। योजनामा कार्यालयमा हटलाइन सञ्चालन गर्ने, नागरिक सहायता कक्ष सञ्चालन गर्ने, सेवाग्राही लक्षित पुस्तकालय स्थापना गर्ने, सबै कार्यालयमा सेवाग्राही सन्तुष्टी सर्वेक्षण गर्ने, सूचना अधिकारीहरूका लागि छुट्टै मोबाइल नम्बर उपलब्ध गराउने लगायतका योजना समावेश गरिएका छन्।
साथै कार्यालयहरूमा सेवाग्राहीलाई चिसो तातोपानीको व्यवस्था, फ्री वाइफाइ, फर्स्ट एड किटको व्यवस्था गरिने योजनामा उल्लेख गरिएको छ।