अन्नपूर्णद्वारा बृहत् विद्युतीय सवारी र्‍याली

विश्व वातावरण दिवस

अन्नपूर्णद्वारा बृहत् विद्युतीय सवारी र्‍याली
अन्नपूर्ण मिडिया ग्रुपले आयोजना गरेको इभि र्‍यालीमा सहभागी । तस्बिर : दिपेन श्रेष्ठ

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले विश्व वातावरण दिवसका अवसरमा सोमबार बिहान बहृत् विद्युतीय सवारी र्‍याली आयोजना गरेको छ। जसमा २ सय विद्युतीय सवारी, सवारीधनी तथा चालक सहभागी भएका छन्। 

तीनकुनेस्थित अन्नपूर्ण टावरबाट सुरु भएको र्‍याली गौशाला, चाबहिल, बालाजु, नयाँबजार, सोह्रखुट्टे, दरबारमार्ग, ज्ञानेश्वर र फेरि गौशाला हुँदै तीनकुनेमै आएर सम्पन्न भयो। दुईपांग्रे र चारपांग्रे सवारी सामेल र्‍यालीको नेतृत्व मुख्य प्रायोजक टाटाको नेक्सन ईभी म्याक्सले गरेको थियो।

‘नेक्सन ईभी एएमएन ईभी र्‍याली २०२३ इन एसोसिएसन विथ टेस्ला’को उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले गरेका थिए। 

ऊर्जामन्त्री बस्नेतले अन्नपूर्ण मिडियाले आफ्नो स्थानबाट आवश्यक पहल गर्नुपर्ने दायित्व सम्झेर र्‍याली आयोजनाजस्तो सराहनीय काम गरेको बताए। यो काममार्फत चुनौतीको सही ढंगले सामना गर्दै हरेक व्यक्ति तथा संस्थाले आफ्नो ठाउँबाट चाल्नुपर्ने पहल कस्तो हुन्छ भन्ने सिकाएको उनको भनाइ थियो।

‘वातावरणको वैश्विक आयाममा अन्नपूर्णले असल नियत राखेर ईभी र्‍याली आयोजना गरेको छ। यो र्‍यालीले निश्चय नै वातावरण संरक्षण र मानव स्वास्थ्य वातावण प्रवर्द्धन गर्नेछ’, मन्त्री बस्नेतले भने, ‘यो यसर्थमा अभियान सान्दर्भिक र आवश्यक पनि छ।’

वातावरण संरक्षण गर्नु भनेको जमिन, जलसहित वायुको संरक्षण गर्नु पनि रहेको उनले बताए। वायु प्रदूषण रोक्न तथा हरित पर्यावरण जोगाउन विद्युतीय सवारीको भूमिका हुने उनको भनाइ थियो। ‘समस्याको भार घटाउन पेट्रोलियम पदार्थले चल्ने गाडीको सट्टा विद्युतीय सवारी प्रयोग गर्दा हानिकारक उत्सर्जन घटाएर सकारात्मक योगदान रहने हुनाले सरकारले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्दै आइरहेको छ र आगामी दिनमा पनि प्रोत्साहन गर्ने नीति कार्यक्रम प्रस्तुत गर्दै आइरहेको छ’, उनले भने।

वातावरण प्रदूषित बन्दै गर्दा मानवीय जीवन पनि जोखिमपूर्ण बन्दै गइरहेको टिप्पणी उनले गरे। ‘प्रकृति र मानवबीचको अन्योन्यास्रित सम्बन्धलाई बचाइराख्ने काम चुनौतीपूर्ण छ’, उनले भने, ‘दैनिक जीवनमा आउने समस्या जुन परिमाणमा विस्तार हुँदै गइरहेको छ, त्यही अनुपातमा हाम्रो पहलकदमी विकास गर्न सकेनौं भने समस्या र जीवनको बीचमा ठूलो असन्तुलन पैदा हुन्छ।’ जलवायु परिवर्तनका कारण पृथ्वी तात्दै जाँदा यसलाई न्यूनीकरण गर्नु चुनौतीको विषय भएको मन्त्री बस्नेतले बताए। ‘वातावरणसँग सम्बन्धित विश्वव्यापी समस्याबाहेक नेपालको स्थानीय एजेन्डा पनि छन्’, उनले भने। null

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन थापाले विश्व वातावरण दिवसलाई खुसीका साथ मनाउनुपर्नेमा सचेत भएर मनाउनुपर्ने अवस्था आउनु सकारात्मक विषय नरहेको बताए। ‘जीवनशैली नै परिवर्तन गर्नु नै एउटा उपाय हो। विद्युतीय सवारीको प्रयोग यस्तै सकारात्मक अभ्यास हो’, उनले भने, ‘यो सन्देश समाज, सरकार र सहकार्य गर्ने सबैले बुझ्नुपर्छ र सबैजना समान रूपले सजग रहनुपर्छ। काममा विश्वास गर्छौं भन्ने सोचका साथ वातावरण संरक्षण गर्ने अभियानमा हामी सरिक भएका छौं। म त हिमाललाई नजिकबाट बुझने अवसर पाएको मान्छे, हिउँ पग्लिँदै गएको विडम्बना देख्छु। यो संसारको मानवजातिका लागि जोखिमको कुरा हो।’

पृथ्वीलाई असर पार्ने हानिकारक उत्सर्जन न्यूनीकरण गर्नु सबैको दायित्व भएको अध्यक्ष क्याप्टेन थापाले बताए। ‘कतिपय मुलुकमा जलवायु परिवर्तनले गर्दा हिउँद र बर्खा छुट्याउनै गाह्रो भइसक्यो। नेपालको तराई भेगका विद्यालय गर्मीका कारण बन्द भइरहेका छन्। वातावरण बाँच्नका लागि यति कठिन भइसक्यो कि अब हामी साँच्चिकै सचेत हुनुपर्ने बेला आएको छ’, उनले भने, ‘वातावरणमाथिको असर कम गर्नु हाम्रो पनि परम कर्तव्यका रूपमा रहेको मानेर हामीले कलम चलाउने गरेका छौं।’ 

अन्नपूर्णले ईभी र्‍याली आयोजना गरेर सकारात्मक चेत विकास गर्नु आफ्नो कर्तव्य मानेको उनको भनाइ थियो। ‘हामी भावी पुस्ताको शत्रुका रूपमा परिणत हुँदै छौं। यो रूपान्तरणलाई आजैदेखि रोकौं’, उनले भने, ‘दायित्व सम्झेर वातावरणमैत्री काम मात्र गरौं भन्ने आह्वान गर्न चाहन्छु।’

अन्नपूर्ण मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत सनत न्यौपानेले आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताए। ‘हरित वातावरण प्रवर्द्धनमा हाम्रो भूमिका यथावत रहनेछ। दिगोपन जहिल्यै पनि केन्द्रमा छ। यो सबै वातावरणमैत्री काम गरेर मात्र सम्भव छ। सम्भवतः अन्नपूर्ण यस्तो कार्य गर्ने एक्लो सञ्चार संस्था हो’, उनले भने, ‘ईभी र्‍याली आयोजना गर्नु एउटा गर्वको विषय हो। हिमनदी पग्लिरहेका छन्। हिमाल नांगो बनिरहेका छन्। र, हामी यस्तै गतिविधिमार्फत परिवर्तनको संवाहक बन्न सक्छौं।’

उनका अनुसार ईभी चलाउनेवित्तीकै वातावरणमा उल्लेख्य योगदान गर्छ भन्न सम्भव नहोला। ‘तर, सगरमाथाको काखमा रहेको एउटा नेपालीको असल नियत पक्कै झल्किन्छ, यदि ऊ वातावरण संरक्षणको कुरा गर्छ। कार्बन उत्सर्जन नियन्त्रण गर्न नसकिएला तर आफ्नो ठाउँबाट सानो योगदान पक्कै गर्न सकिन्छ’, प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने। 

कार्बन जोखिमको हिसाबले नेपाल विश्वमै शीर्ष स्थानमा आउने उनको भनाइ थियो। ‘यस्तो परिस्थितिमा हामी बिचरा र बबुरो भएर बस्ने होइन, अझै बढी ईभी, साइकल र हरित उत्पादन प्रयोग गर्नुपर्छ’, उनले भने, ‘किनकी हामीलाई बचाउने हामी आफैंले हो।’ 
 

यो पनि पढ्नुहोस

र्‍यालीमा सहभागीमध्ये ‘लक्की ड्र’मार्फत श्यामकाजी महर्जनले विद्युतीय साइकल जितेका छन्। अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारी र अन्नपूर्ण पोस्ट् डटकमका समाचार संयोजक शम्भु कट्टेलले विद्युतीय साइकल प्रदान गरे। यस्तै फुडमान्डू र टेस्लाले पनि सहभागीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरे। अन्नपूर्ण मिडिया नेटवर्कका उपमहाप्रबन्धक विकास श्रेष्ठ र ब्रान्ड म्यानेजर पृथा पौडेलले फुडमान्डूको गिफ्ट ह्याम्पर प्रदान गरे। ह्याम्पर युनिटी फर सस्टेनाबिलिटीका कम्युनिकेसन म्यानेजर शुभ खनाल, अन्नपूर्ण पोस्ट्का राजनीतिक ब्युरो प्रमुख नरेन्द्र साउद र टेस्लाकी प्रतिनिधि राधिका कौडिक्याले टेस्लाको गिफ्ट प्रदान गरे।

यो कार्यक्रमको नारा ‘वि बिलिभ इन एक्सन’ थियो। सवारीधनी तथा चालकलाई दिगो भविष्यको यात्रातर्फ लम्किन आह्वान गरिएको र्‍याली ‘हरित क्रान्तिको बेला’ आएको सन्देश दिन आयोजना गरिएको हो। र्‍यालीमा दिगो, डब्लूडब्लूएफ, सेभ द चिल्ड्रेन, प्यानसि बाइकले सहकार्य गरेका थिए। र्‍यालीको फुड पार्टनर गार्डेन रेस्टुरेन्ट, बेभरेज पार्टनर फ्रुट एग्रो, अनलाइन फुड डेलिभरि पार्टनर फुडमान्डु तथा सिनर्जी पार्टनर सिम्रिक फाउन्डेसन थिए।nullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.