इच्छाकामना मन्दिर पुरानै थलोमा, भक्तजनका लागि खुला
मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिरभित्रैबाट पूजा गर्न खुला गरिएको छ।
चितवन : प्रसिद्ध शक्तिपिठ इच्छाकामनाको मूर्तिलाई पुरानै थलोमा प्रतिस्थापन गरिएको छ। बिहीबार क्षमापूजा गरेर मुर्ति प्रतिस्थापन गरिएको हो। दुई करोड ४१ लाख ८८ हजार ८१ रुपैयाँको लागतमा मन्दिरको जिर्णोदार गरिएको हो।
इच्छाकामनालाई मनकामनाको दिदीको रुपमा चिनिन्छ। यहाँ दर्शन गरे सन्तान प्राप्ति हुने विश्वास गरिन्छ। पहिलाको सानो मन्दिर भूकम्पले क्षति पुर्याएको थियो।
मन्दिरकै नामबाट गाउँपालिकाको नामाकरण गरिएको हो। शक्तिपिठका रुपमा पुजिने मन्दिरको पुनर्निर्माण २०७५ सालबाट थालिएको हो। कलात्मक सौन्दर्य झल्किने गरी मन्दिर बनाइएको छ।
मनकामना मन्दिरको दक्षिणतर्फको अग्लो डाँडामा इच्छाकामना मन्दिर अवस्थित छ। गाउँपालिकाले धार्मिक पर्यटनमा प्राथमिकता दिंदै मन्दिरको प्रवर्द्धन गर्न लागेको अध्यक्ष दानबहादुर गुरुङले बताए। गुरुङले नवनिर्मित मन्दिरको उदघाटन गरेका हुन्।
मुख्य गरेर भक्तपुरका नेवार समुदायले पहिल्यैदेखि पुज्दै आएका थिए। भक्तपुरका नेवार समुदायले मात्रै चंदा उठाएर २८ लाखमा मन्दिरको छाना बनाएका थिए। गाउँपालिकाको निवर्तमान अध्यक्ष गीताकुमारी गुरुङले मन्दिरको महिमा र शक्तिपिठ बुझेर २०७४ को गाउँपालिकाको पहिलो बैठकले मन्दिर पुनर्निर्माणको निर्णय गरेको बताइन्।