बिमकोट बिम्ब

अछामको साँफेबगरदेखि ७ किलोमिटरको दूरीमा रहेको बिमकोट दरबार दुईतिरबाट बिमकोटीगाड र चोटेखोलाले घेरिएको छ। बीच जंगलमा अवस्थित बिमकोट दरबारनजिक गाउँबस्ती छैन।

बिमकोट बिम्ब

मध्यकालमा वर्तमान अछाम जिल्ला अछाम, दर्ना, बिमकोट र धुँधुरकोट राज्यहरूमा विभाजित थियो। मध्यकालीन अछामलाई नौ खुवा भनिन्थ्यो। ती नौ खुवाहरूमा श्रीकोट, धुँधुरकोट, बिमकोट, नेटाकोट, दर्नाकोट, मलातीकोट, रिडीकोट, बाईकोट र मंगलसेन थिए। अछाम नौ खुवामा विभाजित हुनुअघि त्यहाँ पेख्या राजाको शासन थियो। पेख्या प्रेक्षा शब्दबाट बनेको थियो, जसले प्रेक्षक वा केन्द्रको खटनमा स्थानीय स्तरमा काम गर्ने व्यक्तिलाई बुझाउँथ्यो।

तत्कालीन अछाममा रहेका पेख्याहरूमा विहर (कोटवाटा), सेरु (बारलागाउँ), सिँगारु (डुफागाउँ) र सिजारु (कुइका) थिए। ती पेख्याहरू कर्णाली प्रदेशका मल्ल (खस महाराज) द्वारा खटाइएका व्यक्तिहरूलाई बुझ्न सकिन्छ (राजाराम सुवेदी, बाइसी राज्यको ऐतिहासिक रूपरेखा, २०५५ः३५)। पछि देवचन्द्र समाल (शाह)का पालामा अछाम छुट्टै राज्यका रूपमा अस्तित्वमा आयो। देवचन्द्रका २८ पुस्ताका सन्तान श्रुति ब्रह्मको पालामा अछाम बिमकोट राज्यमा विभाजित भयो। त्यसपछि दर्ना र घुँघुरकोट राज्यहरूसमेत अछाममा देखा परे।

अछाम राज्यका संस्थापक देवचन्द्र समाल को थिए भन्ने सम्बन्धमा इतिहासकारबीच मतभिन्नता छ। तर अछाम राज्यका संस्थापक देवचन्द्र हुन् भन्नेमा सबैको एकमत छ। इतिहासकार राजाराम सुवेदीका अनुसार अछामी, दर्नाली र बिमकोटे राजाहरूका पुर्खा कन्जौजका काशीनाथ थिए। काशीनाथबाट विष्णु, जयदास, देवदास, हरिदास, विशाखर, इमुख र निमुख गरी सात भाइ छोरा भए। कान्छा निमुखबाट भाष्कर, प्रभाकर, लल्ल र विलल्ल चारभाइ छोरा थिए।

पछि निमुखका कान्छा छोरा विलल्ल कन्नौजबाट षोडषादेवीको मूर्ति बोकी पहाडतिर उक्ले। अछाम वैद्यनाथ पुगेपछि उनी त्यहाँबाट सिञ्जा गए। सिञ्जामा खस महाराज समुद्रपालको सम्पर्कमा रहे। पछि उनको सिजापति महाराज समुद्रपालकी जेठी छोरी हारमता (हारावती)सँग बिहे भयो। उनीहरूबाट छोरा देवचन्द्रको जन्म भयो। दौहित्र देवचन्द्रलाई समुद्रपालले पूर्व लालुलोखडा कर्णाली दुल्लु स्युबाग, दक्षिण ५२ गाउँ मलवारा निगालीबोट, पश्चिम सेतीदेखि चौखुटे र उत्तर भगवतीढुंगा भित्रको भूभाग प्रदान गरे (राजाराम सुवेदी, अछामको इतिहास, २०५८ः१८०)। त्यसपछि देवचन्द्रले अछाम राज्यको विधिवत् उद्घाटन गरे। इतिहासकार पूर्णप्रकाश नेपाल यात्रीले भने देवचन्द्र समाल आफ्नी रानी सुखावतीसँग सम्बत 

१११२ मा अछाममा पहिलोपटक प्रवेश गरेको बताएका छन् (पूर्णप्रकाश नेपाल यात्री, सेती अञ्चल दिग्दर्शन, २०३५ः१४०)।

अछामका इतिहासकार तेजबहादुर शाहले अत्रि ऋषिका सन्तान जालन्धर निवासी गोपाल भट्टलाई अछामी राजाका पूर्वज मानेका छन्। जालन्धर, विक्रमपुरबाट गोपाल भट्ट डोटी आइबसे। उनका छोरा जमुना भट्ट भए। जमुनाका १३औं पुस्तामा निमुक भट्ट भए, जो ईशा भट्टका नामले चिनिन्थे। ईशा भट्ट माण्डव्य गोत्रीय जाजा भट्टका बहिनीज्वाइँ थिए। ईशा भट्टबाट भाष, प्रभास, लल्ल र विलल्ल गरी चार छोरा भए। यिनै ईशा भट्टका कान्छा छोरा विलल्ल मामा जाजा भट्टसँगै सिञ्जा पुगे। सोही क्रममा उनको सिजापति महाराजकी छोरी हारमतासँग बिहे भयो। कन्यादानमा सिजापति महाराजले नाति जन्मिए कुनै थर्पुको राज्य दिने वचन दिए। त्यसपछि उनले छोरीज्वाइँलाई जुम्लाको समाचौरमा राखे। पछि छोरीज्वाइँलाई पुत्र लाभ भयो। नवजात शिशुको नाम देवचन्द्र राखियो। शास्त्रीय विधिअनुसार बालकको थर समाल राखियो (तेजबहादुर शाह, सोमवंशी समालको परिचय, २०७४ः१२–१३)।

अछामकै अर्का इतिहासकार सुरतबहादुर शाहले भने अछामी राजाका पूर्वज अत्रि गोत्रीय जालन्धरका गोपाल ऋषि मानेका छन्। वंशानुक्रमअनुसार गोपालपछि जमुना, अविगत, विगत, व्यास, वीरकेशर र काशीनाथ भए। कन्जौजमा बसाइँ सरेका काशीनाथबाट विष्णु, जयदास, देवदास, हरिदास, विशाखर, प्रमखु र निमुख भए। निमुखका भाष्कर, प्रभाकर, लल्ल र विलल्ल चारभाइ छोरा भए। तीमध्ये कान्छा विलल्ल सिजापति महाराजको सम्पर्कमा आए। विलल्लको विद्वताबाट प्रभावित भएपछि सिजापति महाराजकी छोरी हारमाताले उनीसँग बिहे गरिन्। सिजापति महाराजले छोरीज्वाइँलाई पुत्र लाभ भएपश्चात् राज्य दिने वचन दिई समाचौरमा बसोबासको व्यवस्था गरे। पछि विलल्ल र हारमाताबाट छोरा देवचन्द्र जन्मिए। सिजापति महाराजले दिएको वचनबमोजिम दौहित्र देवचन्द्रलाई राज्य दिए (सुरतबहादुर शाह, अछाम दर्पण, २०७४ः२८–२९)।

देवचन्द्रको थर समाल कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती सुन्न पाइन्छन्। किंवदन्तीअनुसार देवचन्द्रको जन्म तत्कालीन खस साम्राज्यअन्तर्गत जुम्लाको सामागाउँमा भएका कारण उनलाई समाल भनिएको थियो। अर्को भनाइअनुसार भने देवचन्द्रको जन्म ब्राह्मण बुवा र खस ठकुरी कुलकी आमाबाट भएकाले उनी समाल कहलिएका हुन्। ठकुरी कुलकी आमा र ब्राह्मण कुलका पिताबाट जन्मेका सन्तानहरूले अहिले पनि आफ्नो थर समाल लेख्ने गरेका छन्।

देवचन्द्रको हत्केलामा चन्द्राकृति भएका कारण उनलाई सोमवंशी खिताब मिलेको थियो। सिजापति महाराजबाट प्राप्त भूगोल समेटेर देवचन्द्र समालले अछाम राज्य खडा गरे। राज्यको राजधानी बुढीथर्पुमा राखेका थिए। त्यही समाल सोमवंशीय देवचन्द्रका सन्तानहरू राय, मल्ल, ब्रह्म, शाही हुँदै शाह कहलिए। सन्तान वृद्धिसँगै मंगलसेन, बिमकोट र दर्ना मुकाम कायम गरी राज्य चलाए। सोमवंशी समालहरूमा बिमकोटे शाखा जेठो भए 
पनि मूल राज्य अछामको बागडोर भने मंगलसेन शाखाले सम्हाल्दै आयो।

बिमकोट राज्य

अछाम राज्यका संस्थापक देवचन्द्र समालका २८औं पुस्ताका श्रुति ब्रह्म थिए। उनका दुई रानीमध्ये जेठी डोटी रैका राजाकी छोरी थिइन् भने कान्छी बझांगी राजाकी छोरी थिइन्। श्रुति ब्रह्मकी जेठी रानीबाट जगिम ब्रह्म र कान्छीबाट सुजानी ब्रह्म गरी दुईभाइ छोरा थिए। भाइहरूमा जगिम ब्रह्म जेठा थिए। जगिम ब्रह्म सात वर्षको हुँदा राजा श्रुति ब्रह्मको निधन भयो। श्रुति ब्रह्मको निधनताका जेठा जगिम ब्रह्म भने मामाघर डोटीमा थिए। गद्दीका उत्तराधिकारी जगिम ब्रह्म अछाममा नहुँदा राजकाजमा समस्या उत्पन्न भयो।

त्यतिबेला अछामको राजधानी जयगढ थियो। डोटीको अजेयमेरुकोटबाट अछामको जयगढ पुग्न हप्ता दिन लाग्थ्यो। त्यतिका दिनसम्म राजाको शव राख्न सक्ने अवस्था थिएन। गद्दी खाली राख्न मिल्दैनथ्यो। त्यसपछि समस्या समाधानका लागि भारदारबीच छलफल चल्यो। छलफलपश्चात् तत्कालको अप्ठेरो फुकाउन कान्छी रानीतिरका छोरा सुजानी ब्रह्मलाई राजगद्दीमा राख्ने निर्णय भयो। जेठोको ठाउँमा कान्छा छोरालाई राजा बनाउँदा पछि राजकाजमा आइलाग्ने अप्ठ्यारो ख्याल गरिएन। श्रुति ब्रह्मको निधनपछि उनका कान्छा छोरा सुजानी ब्रह्मलाई अछामको राजा बनाइएको खबर डोटी रैका राजाले पाए। रैका राजा दौहित्र जगिम ब्रह्मलाई नै अछामको राजा भएको हेर्न चाहन्थे।

तर, परिस्थिति बदलिइसकेको थियो। जगिम ब्रह्मका भाइ सुजानी ब्रह्म अछामको राजगद्दीमा बसिसकेका थिए। सो कुरा रैका राजालाई मन परेको थिएन। शक्तिशाली रैका राजा सुजानी ब्रह्मलाई पदच्युत गरी जगिम ब्रह्मलाई नै अछामको राजा बनाउन सक्थे। तर, उनले त्यसो गर्न चाहेनन्। त्यसपछि डोटेली रैका राजाले आफ्नो राज्यको केही भूभाग कटाई नाति जगिम ब्रह्मका लागि नयाँ राज्य खडा गरे। सेतीनदी पूर्व, बझाङ दक्षिण, चौखुट्टे पश्चिम, दक्षिण उत्तर डोटीको बीचमा नयाँ राज्य स्थापना भयो। राज्यको राजधानी चौकोट तोकियो। जगिम ब्रह्मपछि उनका छोरा अनिम ब्रह्म त्यहाँका राजा बने। अनिमका छोरा चान्द्रिम ब्रह्म थिए।

त्यतिबेला बझांगी राजा मलै बमका छोराहरूमध्ये जेठा शक्ति सिंह बझाङको राजा बनेका थिए। जतिबेला बझाङ डोटी अधीनस्थ थियो। त्यसैले बझांगी राजा डोटेली राजाबाट दसैंको टीका थाप्न अजैमिरकोट पुग्थे। विसं १५०३ को दसैंमा बझांगी राजा शक्ति सिंहका भाइ जक्ति सिंह पहिल्यै डोटी पुगी रैका राजाबाट टीका थापेपछि बझाङको राजकाजमा विवाद सिर्जना भयो। विवाद निरूपणका लागि रैका राजाले डोटी र अछामी राजालाई दिएको केही भू–भागसमेत मिलाई नयाँ थलारा राज्य खडा गरे र जक्ति सिंह थलाराको राजा बनाए। 

डोटेली रैका राजाको उक्त निर्णय उनका दौहित्र अछामी राजा जगिमका नाति चन्द्रिम ब्रह्मलाई मन परेको थिएन। चन्द्रिम ब्रह्मले आफ्नो राज्यको भूभाग कटाएर थलारा राज्य स्थापना गर्ने डोटेली राजाको निर्णयविरुद्ध लड्ने निर्णय गरे। त्यसका लागि अछामी राजा रुद्र ब्रह्मसँग सहयोग मागे। तत्कालीन डोटी बलियो राज्य थियो। त्यसैले अछामी राजा रुद्र ब्रह्म चन्द्रिम ब्रह्मलाई सहयोग गर्ने या नगर्ने भन्नेमा थिए। डोटी–थलारासँग लडाइँ हारे चौकोटमात्र नभई अछाम नै गुम्न सक्ने भय उनीमा थियो। सोही कारण रुद्र ब्रह्मले डोटी–थलारासँग लडाइँ लड्नुको साटो दुई भाइबीच अछाम राज्य भाग लगाउने निधो गरे। 

आपसी सहमतिअनुसार अछाम राज्य विभाजित भयो। राज्यको बन्डापछि चन्द्रिम ब्रह्म अछामको पुरानाकोट आइबसे। चन्द्रिम ब्रह्मका छोरा सुक्तिम ब्रह्म पनि पुरानाकोटमै रहे। सुक्तिम ब्रह्मले त्यहाँ नजिकैको चुलीकोटे राजालाई पनि आफू अधीनस्थ तुल्याए। बिमकोटका अन्तिम राजा लोकेन्द्रबहादुर शाहका छोरा जनकबहादुर शाहका अनुसार बिमकोटे राजा अछाममा शासन गरेका सोमवंशी शाहहरूको जेठो हाँगो थियो। अछामको बान्नीगढीबाट अछामी राजाका भाइ छुट्टिँदा एक भाइ मंगलसेन र अर्को भाइले बिमकोटबाट राज्य सञ्चालन गरेका थिए। यसरी बिमकोट जेठो भाइतिर र मूल राज्य अछाम कान्छा भाइतिर परेको थियो।

तेजबहादुर शाहका अनुसार सुक्तिम ब्रह्मपछि उनका छोरा प्रताप ब्रह्म राजा बनेका थिए। प्रताप ब्रह्मका जेठा छोरा सगुनी ब्रह्म बिमकोट र कान्छा छोरा जितारी ब्रह्म दर्नाका राजा भए। बिमकोटे राजा सगुनी ब्रह्मपछि उनका छोरा शक्ति ब्रह्म (स्वस्तिक ब्रह्म) राजा बने। स्वस्तिकपछि उनका छोरा परानी ब्रह्म बिमकोटको राजा भए। परानीका छोरा हरिदीप ब्रह्म थिए। हरिदीप ब्रह्मपछि बिमकोटे राजाका सन्तानले ब्रह्म थर छोडी शाही लेख्न थाले। अछामी राजा हरिदीपका छोरा भान शाही थिए। भान शाही पछि क्रमशः मन्दिर शाही, मानदत्त शाही, वीरभद्र शाही, श्रीचक्र शाही, पराक्रम शाही बिमकोटको राजा बने। पराक्रम शाही पछि उनका छोरा नगेन्द्रबहादुरले आफ्नो थर शाह चलाए (तेजबहादुर शाह, सोमवंशी समालको परिचय, २०७४)।

नगेन्द्रबहादुर शाहको विवाह बझांगी राजा जयपृथ्वीबहादुर सिंहकी बहिनी प्रेमकुमारीसँग भएको थियो। नगेन्द्रबहादुर पछि उनका छोरा लोकेन्द्रबहादुर शाह बिमकोटका राजा बने। लोकेन्द्रबहादुर शाह बिमकोटका अन्तिम राजा हुन्। लोकेन्द्रबहादुर शाहका छोरा पूर्व सहायकमन्त्री जनकबहादुर शाह हुन्। लोकेन्द्रबहादुर शाहका भाइ देवेन्द्रबहादुर शाह अछामबाट २०३३ सालमा राष्ट्रिय पञ्चायत सदस्य थिए। 

नेपालमा समाहित

नेपाल एकीकरणको पूर्वसन्ध्यामा बडाकाजी अमरसिंह थापाले बिमकोट, अछाम, दर्ना, बझाङ, बाजुरा, अछाम र डोटी राज्यका राजाहरूलाई एकीकरणमा सघाउने कि लडाइँ लड्ने भनेर पत्र पठाएका थिए। बझाङ, बाजुरा, बिमकोट, दर्ना थलारा राज्यहरू अमरसिंह थापाको प्रस्ताव स्वीकार्दै नेपालसँग मिल्न आए। डोटी र अछाम भने प्रतिकारमा उत्रिए। १८४७ सालमा कप्तान गौलिया भण्डारी र रणवीर खत्रीको नेतृत्वको दस कम्पनी नेपाली फौजसँगको लडाइँमा डोटेली र अछामी राजाले हार व्यहोरे। त्यसपछि डोटीका राजा दीप शाही भागेर सिगाही–खैरीगढ गइ बसे।

अछामी राजा देवचन्द्र शाही (शाह)ले १८४८ चैत र १८४९ मा दुई पटक विद्रोह गरे। दुवै विद्रोह असफल भएपछि उनी स–परिवार काशीपुर बसाइँ सरे। काशीपुरमै उनको निधन भयो। देवचन्द्रका छोरा श्रीमोहर शाही (शाह) थिए। पिता देवचन्द्रको निधनपछि श्रीमोहर शाह आमा रानी पेटानी दयानको साथ कैलालीको मलवारनजिक चुरे क्षेत्रको कायाजुवामा आई बसे। अछामका उनका रैती त्यही गएर उनलाई भेट्थे। सो कुरा डोटी गौडाका तैनाथवाला चौतरिया पुष्कर शाहले थाहा पाए। 

त्यसपछि चौतरिया पुष्कर शाहले श्रीमोहर शाहलाई बोलाई कायाजुवाका साथै अछामको ककरसाँत–मोतीपुर र च्युरेनावामा जमिन दिई मानाचामलको व्यवस्था गरे। श्रीमोहरपछि उनका छोरा रणभीम शाही (शाह)ले बुवाकै मानाचामलमा दिन गुजारे। रणभीम शाहका छोरा टीकाभूप शाही (शाह) भने पछि अछामको राजा बन्न पुगे। टीकाभूप शाह अछामको राजा बन्नुमा तत्कालीन बझांगी राजा गजराज सिंहको विशेष भूमिका थियो। बझांगी राजा गजराज सिंहको विवाह राजा गिर्वाणयुद्धविक्रम शाहकी छोरी सरस्वतीकुमारीसँग भएको थियो।

पछि बझांगी राजा गजराज सिंह र रानी सरस्वतीकुमारीकी छोरीको बिहे टीकाभूप शाहसँग भयो। गजराज सिंहका छोरीज्वाइँ टीकाभूप शाह राजा गिर्वाणयुद्धविक्रम शाहका छोरीतिरका नातिनी ज्वाइ बन्नपुगे। सोही कारण टीकाभूप शाहले कान्तिपुर दरबारसँग सम्बन्ध सुधार्ने मौका पाए। बझांगी राजा गजराज सिंहसँगको सम्बन्धका कारण टीकाभूप शाह अछामको राजा बन्न सफल भए। 

राजा बनेपछि टीकाभूप शाहले काठमाडौंबाट मिस्त्री झिकाइ मंगलसेनमा ३० कोठे दरबारको निर्माण कार्य अघि बढाए। तर, दरबार बनिनसक्दै उनको निधन भयो। त्यसपछि उनका छोरा दलबहादुर शाह अछामको राजा भए। दलबहादुर शाहले पछि १९३५ सालमा मंगलसेन दरबारको निर्माण कार्य सम्पन्न गरे। २०२९ सालमा नेपालका सरकारको स्वामित्वमा आएको मंगलसेन दरबार माओवादी द्वन्द्वकालमा २०५८ फागुन ४ गते ध्वस्त भयो। दलबहादुर शाहपछि उनका छोरा गजेन्द्रबहादुर शाह अछामको राजा बने। २०१२ सालमा निधन भएका गजेन्द्रबहादुर शाहपछि उनका छोरा योगेन्द्रबहादुर शाह अछामको राजा बनेको देखिँदैन।

बिमकोटे राजारजौटाहरू बाइसे राज्यअन्तर्गतको सिर्तो, कर, दण्डकुण्ड उठाउँथे। नेपाल एकीकरणपछि बिमकोटलाई सिर्तो राज्य करार गरिएको थियो। नेपाललाई साथ दिएका कारण दर्नालाई पञ्चखतसहितका मुद्दा हेर्ने अधिकार दिइएको थियो। बिमकोटका राजाका लागि भने माना चामलको व्यवस्था गरिएको थियो। बिमकोट पछि अछामजस्तै नेपाल अधीनस्थ ठेका राज्यका रूपमा रह्यो। एकीकरणपछि बिमकोटे राजा वार्षिक रूपमा उठाएको कर सिलगढीस्थित डोटी गौंडामा बुझाउँथे। २०१७ सालमा राजारजौटा खारेज भयो। त्यसरी खारेजीमा पर्ने राज्य र रजौटाहरूको सूचीमा बझाङ, थलारा, दर्नाको नाम उल्लेख भए पनि अछाम, डोटी र बिमकोटको नाम भने उल्लेख छैन। 

बिमकोट दरबार

अछामको साँफेबगरदेखि ७ किलोमिटरको दूरीमा रहेको बिमकोट दरबार दुईतिरबाट बिमकोटीगाड र चोटेखोलाले घेरिएको छ। बीच जंगलमा अवस्थित बिमकोट दरबारनजिक कुनै गाउँबस्ती छैन। दरबार पुग्न मुवासैन र भण्डारीगाउँ भएर जानुपर्छ। भण्डारी गाउँबाट एक घण्टा हिँडेपछि बिमकोट पुगिन्छ। दरबारको सिरानीमा षोड्षादेवीको मन्दिर छ। षोड्षादेवीलाई बिमकोटे राजा तथा उनका सन्तानहरूले कुलदेवीका रूपमा पुज्दै आएका छन्।

किंवदन्तीअनुसार बिमा राउतको सल्लाहअनुसार दरबार बनाएका कारण सो ठाउँको नाम बिमकोट रहन गएको हो। उक्त दरबारको खाका भने महिमा नामका नवाँठानी ओडले कोरेका थिए। दरबार निर्माणका लागि एकदिनको पैदल बाटोको दूरीमा रहेको दर्बागाउँबाट ढुंगा ओसारिएको थियो। १६औं शताब्दीमा निर्मित उक्त दरबार १९९७ सालसम्म अस्तित्वमा थियो। बिमकोट दरबार परिसरमा फारसी भाषाको शिलालेख थियो। फारसी भाषाको शिलालेख भेटिनुले थप कौतुलहता उत्पन्न गर्छ। फारसी भाषाको उक्त शिलालेख हाल षोडषादेवी मन्दिर परिसरमा राखिएको छ।

जनकबहादुर शाहका अनुसार १९९० को भूकम्पमा पुरानो बिमकोट दरबार भत्किएको थियो। त्यसपछि उनका हजुरबुवा नगेन्द्रबहादुर शाहले प्राचीन दरबारभन्दा नयाँ दरबार निर्माण गरेका थिए। नयाँ दरबार निर्माण गर्न १३ वर्ष लागेको थियो। जुन दरबारले बिमकोटे राजाहरूको विरासतका रूपमा अहिले पनि खडा छ।

माओवादी द्वन्द्व सुरु भएपछि भने बिमकोटे राजाका सन्तानहरूले उक्त दरबार छोडे। द्वन्द्वका कारण गाउँबस्तीदेखि टाढाको दरबार कुर्ने मानिस पनि भेटिएनन्। पछि माओवादीहरूले दरबारमा रहेका ऐतिहासिक कागजात, भाँडाकुँडा, ताम्रपत्र जलाए। मानिस बस्न छोेडेका कारण बिमकोट दरबार हाल जीर्ण अवस्थामा छ।

जनकबहादुर शाहका अनुसार ११ रोपनी क्षेत्रफलमा फैलिएको बिमकोट दरबारको लालपुर्जा बिमकोटे राजाका सन्तानसँग छैन। सोही कारण पुर्खाका नासोका रूपमा रहेको बिमकोट दरबार सरकारलाई हस्तान्तरण गर्न खोज्दा पनि प्रक्रिया अघि बढेको छैन। बिमकोट दरबारको संरक्षण र जीर्णोद्धार हुन सके त्यसले स्थानीय पर्यटनमा टेवा पुग्ने देखिन्छ। यसका लागि स्थानीय निकायहरूले पहल गर्नु आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.