बाढी आयो खेत खण्डहर बनायो

‘३० मूरी धान फल्ने थियो, असार २ गतेको बाढीले सबै सखाप पारिदियो’

बाढी आयो खेत खण्डहर बनायो
बाढीमा परिणत भएको खेतमा बसेर पीडा सुनाउँदै फालेलुङ–५ का दीपेन्द्र केरुङ।

पाँचथर : धान दिवसको दिन फालेलुङ गाँउपालिका ३ सास्टार पुग्दा उराठलाग्दो दृश्य देखियो। यहाँको फाँटिलो खेतमा अघिल्लो साल जस्तो रोपाईको उमंग थिएन। गत साल गाउँपालिकाले धुमधामका साथ धान दिवस मनाएको यो खेत खण्डहर बनेको छ। खेतको कुनै निसोपत्तो छैन। बगरले आफ्नो आकार बढाएर खेत खर्लप्प निलेको छ। 

खेतको नाममा बगरभन्दा अलि माथि दुई÷चार फोक्टा मात्र बाँकी छन्। फोक्टाको आलीमा तीन जना किसान झोक्राएर बसेका थिए। उनीहरू गडगडाइरहेको हेंवा खोलालाई धारे हात लगाएर गाली गरिरहेका थिए। ‘अलच्छिनी बाढीले गर्नुग¥यो,’ उनीहरूको आक्रोश दैवप्रति थियो ‘किसानको मर्म दैवले बुझेन।’ 

बगरको बीचमा फालेलुङ–५ लुम्मादिनका दीपेन्द्र केरुङ झोक्राएर ढुंगामा बसेका थिए। ‘३० मूरी धान फल्ने खेत बाढीले एकै छाक बनायो,’ बगर देखाउँदै केरुङले कहानी सुनाए, ‘सारै राम्रो धान फल्ने खेत थियो। असार २ गते रातिको बाढीले सबै सखाप पारिदियो।’ बाढीले खेत बगाएपछि जिउने आधार नै हराएको उनले सुनाए।

फालेलुङमा अन्नभण्डारको रूपमा चिनिएको घुमाउनेटार ढुंगाभण्डार जस्तो थियो। यहाँको फाँटिलो खेत र गोरु बाँध्ने ग्वालीहरू केही पनि देखिएनन्। धान उत्पादन हुने मलिलो फाँटमा ढुंगा, बालुवा र रोडा थुप्रिएको थियो। 

‘हिलो आलि सकेर रोप्न ठिक्क पारेको खेत बाढीले बगायो,’ मच्छेबुङकी देवकुमारी गिरीले भनिन्, ‘१० रोपनी खेत बगरमा परिणत भयो। एक गाबो धान रोप्ने ठाँउ रहेन। यो साल धानको नुवागी गर्न पनि नपाइने भो।’ 

गिरीको परिवारले असार ५ गते धान रोप्ने तयारी गरेको थियो। बाउसे, रोपार, बियाडे, हली र गोरुको बन्दोबस्त भइसकेको थियो। असार २ गते रातिको बाढीले खेतमा बितण्डा मच्चाएपछि गिरी परिवार बिछिप्त छ। 

बाढी आएपछि हेंवा खोला आसपासका मलिला खेतहरू बगरमा परिणत भएका छन्। सिँचाइका लागि निर्माण गरिएका कुलोहरू भत्किएपछि बाँकी खेतहरूमा धान रोप्न सकिएको छैन। खेत खोलाले बगाएपछि किसानले असारे भाकामा धान रोप्न पाएका छैनन्। 

‘खोला आसपासका सबै खेतहरू बगरमा परिणत भएका छन्,’ थोकपनका प्रकाश केरुङले भने, ‘बाढीले कुलोहरू भत्काएपछि बाँकी रहेका खेतहरूमा पनि धान रोप्न सकिएको छैन।’ आधा असार बितिसक्दा पनि धान रोप्न नपाएपछि फालेलुङका किसानहरू झोक्राएर बस्न बाध्य छन्। 

बाढी–पहिरोका कारण फालेलुङमा मात्रै कृषि क्षेत्रमा ४ करोड ९७ लाख ७५ हजार मूल्य बराबरको क्षति पुगेको गाउँपालिका अध्यक्ष बिरबिक्रम थाम्सुहाङले जानकारी दिए। गाउँपालिकाले तयार गरेको तथ्यांकअनुसार बाढीले ३ करोड २० लाख बराबरको आठवटा कुलो भत्किएका छन्। १ करोड ६० लाख बारबरको ८ सय रोपनी खेत र अलैँचीबारीमा क्षति पुगेको छ। १७ लाख ७६ हजार मूल्य बराबरका पशु चौपायहरू बाढी–पहिरोमा परी मरेका छन्।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.