नाती पुस्ताले जीर्णोद्धार गरे तेल दल्ने पुल

नाती पुस्ताले जीर्णोद्धार गरे तेल दल्ने पुल
सुन्नुहोस्

दोलखा : दोलखाको उत्तरी भेगमा आफ्ना पुर्खाले बनाएको झोलुंगे पुल नाती पुस्ताले जीर्णोद्धार गरेका छन्। 

विगु गाउँपालिका-३ बुलुङ र गौरीशंकर गाउँपालिका-८ खारे जोड्ने जामुनेको झोलुंगे पुल जीर्ण भएर आवतजावतमा समस्या भएपछि नाती पुस्ताले जीर्णोद्धार गरेका हुन्। 

उतीबेला चल्तीको बाटो भएपनि पुलको अभावमा मानिसलाई आवतजावतमा समस्या भएपछि स्थानीय छविलाल आचार्यले १९७० सालमा निर्माण सुरु गरी तीन वर्षमा दुई लठ्ठे पुल निर्माण सम्पन्न गरेका थिए। 

२००४ सालमा स्थानीय षडानन्द आचार्यको पाँच भाइ छोराहरू कमल प्रसाद आचार्य, कलाधर आचार्य, देवदत्त आचार्य, प्रयागराज आचार्य र गौरीकान्त आचार्यले जामुनेमा निजी लगानीमा लठ्ठा थप गरी उक्त झोलुंगे पुल नयाँ ढङ्गले निर्माण गरेका थिए। 

उनीहरूले पुलको संरक्षणका लागि गुठीको समेत व्यवस्था गरी दैनिक तेल दल्ने काम समेत गर्दै आएका थिए। 

रामेछापको ठोसे मेक्चनबाट ल्याइएको काचो फलामबाट बनाइएको जामुनेको झोलुंगे पुलमा हरेक वर्ष तेल दल्ने काम हुन्थ्यो कारण पुलको लठ्ठाका रूपमा रहेका फलामको साङ्रलामा खिया नलागोस्, वर्षभरि भार थाम्न दह्रो होस् भन्ने हो। 

खानीबाट निकालिएको काँचो फलामलाई कुटेर पुलका लागि साङ्रलो तयार पारिएकाले यसलाई दह्रो बनाउन तेल दल्ने इतिहास सुरु भएको हो। २५ वर्षसम्म तेल दल्ने गरिएको भए पनि पछि त्यो काम बन्द भएको स्थानीय बलबहादुर खड्काले बताए। सिंगटीबाट लामाबगरसम्म सडक निर्माण भएपछि पुलको चल्ती कम भएको र यो क्रमशः जीर्ण बन्दै गएको खड्काले बताए।

अन्नपूर्ण पोष्ट दैनिकले २०७९ पुष ६ गते मर्मतको पर्खाइमा तेल दल्ने पुल भन्ने शीर्षकमा समाचार प्रकाशित गरेपछि आचार्य दाजु भाइका नाती पुस्ताले पुलको जीर्णद्वार गरेका हुन्। 

पुलको जीर्णोद्वारमा कमल प्रसादको सन्तती कबन आचार्य (बिगु-३ बुलुङ) कलाधरका सन्तती दीपक आचार्य (गौरीशंकर-८ खारे) देवदत्तका सन्तती ओमकृष्ण आचार्य (बिगु-३ बुलुङ) प्रयागराजका सन्तती सुदर्शन आचार्य (गौरीशंकर-८ खारे) गौरीकान्तका सन्तती दीपक र बिष्णु राज आचार्य (बिगु-३ बुलुङ) तथा छविलालका सन्तती अमृत कुमार आचार्य (बिगु-२ ओराङ) सहभागि भएको स्थानीय शिक्षक जनक कुमार आचार्यले बताए। 

पुर्खाले निर्माण गरेका उक्त झोलुंगे पुल नाती पुस्ताले जीर्णोद्धार  गरेर पूर्खाको चिनो जोगाउने काम गरेको शिक्षक आचार्यको भनाइ छ।

भूकम्पपछि पुल झनै नास भएर गएको थियो। पुल खस्नै लागिसकेकाले आचार्य दाजु भाइका नाती पुस्ताले २०७९ फागुन अन्त्यतिरबाट सुरु गरिएको पुल जीर्णोद्वार कार्य सम्पन्न हुन लागेको पुल जीर्णोद्धार समितिका कोषाध्यक्ष तथा कमलप्रसादका नाती कोमलराज आचार्यले बताए। 

'पुलको फलाम फेर्ने काम सकिसकिएको र जाली राख्ने काम बाँकी रहेकोले सम्पन्नको नजिक पुगेको छ यही असारभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ', उनले भने। जीर्णोद्वारका लागि आर्चाय खलकका नाती पुस्ताले ६ लाख रुपैयाँ लगानी गरेका हुन्।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.