हेंवा खोलामा श्रमदानबाट बन्यो डाइभर्सन

हेंवा खोलामा श्रमदानबाट बन्यो डाइभर्सन

फिदिम : पाँचथरको फालेलुङ गाउँपालिकाको घुमाउनेटारस्थित हेंवा खोलामा श्रमदानबाट डाइभर्सन गरिएको छ। असार २ गतेको बाढीले पुल भत्काएपछि ठप्प रहेको यातायातलाई सुरु गर्न डाइभर्सन निर्माण गरिएको हो।  

केन्द्र र प्रदेश सरकारले पुल बनाउन चासो नदिएपछि स्थानीयहरू जुटेर डाइभर्सन निर्माण गरेका हुन्। गाउँपालिकासँग प्रर्याप्त स्रोत नभएपछि पालिकाले श्रमदानका लागि जनतालाई आह्वान गरेको थियो। 

आह्वानपछि सयौँको संख्यामा सर्वसाधारणहरू जुटेर डाइभर्सन निर्माणमा खटेका गाउँपालिका अध्यक्ष बिरबिक्रम थाम्सुहाङले बताए। 

श्रमदानका लागि फालेलुङसहित सदरमुकाम फिदिम लगायत क्षेत्रका युवाहरू जुटेका हुन्। डाइभर्सन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पालिकाको आह्वानलाई सर्वसाधारणले साथ दिएकाले डाइभर्सन निर्माण गर्न सहज भएको पालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगुले बताए। 

बिकटको बस्तीलाई उपल्लो सरकारले चासो नदिएपछि आफूहरू श्रमदानमा जुटेको युवाहरूको भनाइ छ। बाढी पहिरोले फालेलुङको जनजीवन अस्तव्यस्त बनेपछि आफूहरू श्रमदानका लागि जुटेको श्रमकर्ता धनुकमार लावतीले बताए। 

बाढी पहिरोले पुल भत्काएपछि फालेलुङ र अन्य स्थानीय तहको सम्पर्क विच्छेद भएको छ। फालेलुङका विद्यार्थीहरू विद्यालय जान सकेका छैनन्। मेमेङ, मच्छेबुङ, सेपी, च्याम्फुवा लगायतका क्षेत्रमा खाद्य संकट सुरु भएको छ। फालेलुङको दर्दनाक अवस्थालाई सहज बनाउन फिदिमदेखि श्रमदान गर्न घुमाउनेटार आएको सुमना लामाले बताए। 

आफ्नो सानो सहयोगमा सर्वसाधारणलाई ठूलो राहत पुग्ने भएपछि साथीहरूसँग श्रमदान गर्न पुगेको फिदिमका युवक सुवास बाँस्कोटाको तर्क छ। 

श्रमदानबाटै हेंवा खोलामा पाँच वटा ह्युम पाइप राखिएको छ। ह्युम पाइप राखेर ढलान गर्ने काम सकिएकाले अबको तीन दिनभित्रमा यातायात सुचारु गर्न सकिने पालिकाले जनाएको छ। असार २ गतेको बाढीले फालेलुङस्थित हेंवा खोलाका दुई वटा पक्की पुल भत्काएको थियो। जसका कारण यातायात ठप्प बनेको छ। 

बाढी पहिरोका कारण पालिकामा २२ करोड बराबरको भौतिक संरचनामा क्षति पुगेको छ। पालिकाले आर्थिक सहयोग गर्न इच्छुकहरूलाई सहयोगको आह्वान समेत गरेको छ। हालसम्म आठ लाखभन्दा धेरै रकम संकलन भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.