अन्धकारमा लुलाङ
बेनी : पहिरोले लघुजलविद्युत् परियोजना बगाएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा अन्धकार भएको छ। मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बिहीबार बिहान १० बजे पहिरोले बगाएपछि लुलाङमा विद्युत् आपूर्ति रोकिएको छ।
परियोजना बगाउँदा लुलाङ, खोरिया, लमसुङ र मरेनीका ३ सय ७० घरधुरी अन्धकार बनेका धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद बिकले बताए। ‘नहरबाट आएको पानी संकलन हुने ट्यांकी भरिएर बग्दा खसेको पहिरोले विद्युत्गृह र पेनस्टक पाइप बगाएको छ,’ उनले भने ‘पेनस्टक पाइप, विद्युत्गृह र उपकरणहरू पहिरोले खोलामा पुर्याएको छ।’ २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर ६ महिनापछि पुनः सञ्चालन गरिएको थियो। लमसुङमा रहेको परियोजना २०७२ मा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो। दरखोला दोस्रो लघुजलविद्युत् योसहित तेस्रो पटक पहिरोको चपेटामा परेको हो।
केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा विद्युत् सुविधाका लागि लघुजलविद्युत् परियोजनामा निर्भर छन्। परियोजना बन्द हुँदा लुलाङका बासिन्दाको जनजीवन प्रभावित भएको छ। उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोबाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन समस्या भएको छ।
विद्यार्थीलाई पढ्न र स्थानीयवासीलाई घरायसी काम गर्न समस्या भएको छ। पछिल्लो पटक परियोजना मर्मत गर्न गाउँपालिकाले १२ लाख रुपैयाँ र स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत १० लाख रुपैयाँ खर्च भएको थियो।
प्रतिक्रिया दिनुहोस !