दोलखामा पोखरीमा डुबेर एकजनाको मृत्यु
दोलखा : दोलखाको वैतेश्वर गाँउपालिका ६ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। वैतेश्वर गाउँपालिका ३ मिर्गे पाइलेका ४५ वर्षीय गोपाल खड्काको तामाकोशी बहुउद्देश्यीय कृषि फार्म नजिकै निर्माण गरिएको पोखरीमा डुबेर मृत्यु भएको हो।
मृतक खड्का विगत २२ दिनदेखि सो फार्ममा काम गर्दै आएका कामदार हुन्।
तामाकोशी बहुउद्देश्यीय कृषि फार्म नजिकै बुस्तीको सिम्लेमा पानी संकलनको लागि पोखरी निर्माण गरिएको थियो। निर्माण गरिएको पोखरीमा नुहाउनका लागि गोपाल खड्काका गएको बताइएको छ।
पोखरीमा नुहाउन गएको केही समयपछि स्थानीय बालबालिकाले उनलाई पोखरीमा डुबिरहेको अवस्थामा देखेका थिए। त्यस लगत्तै फार्म सञ्चालक पूर्ण तामाङ लागायतले उद्धार गरी खडकालाई उपचारका लागि लालिगुरास सामुदायिक अस्पताल लगिएकोमा अस्पतालले मृत्त घोषणा गरेको थियो।
मृतक खड्काको शव पोस्टमार्टमका लागि चरिकोट ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश सिग्देलले घटनाको बारेमा अनुसन्धान भइरहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस !