झापामा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु
झापा : झापामा डेंगु रोगको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ। यस वर्ष पहिलो पटक जिल्लामा डेंगु संक्रमणबाट मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–५ निवासी ४४ वर्षीया मदिना खातुन रहेका छन्। डेंगु संक्रमण पुष्टि भएको भोलिपल्ट उनको मृत्यु भएको हो।
ज्वरो आउने, हातखुट्टा दुख्नेजस्ता समस्या भएपछि उनले बुधबार बालाजी फर्मामा परीक्षण गराएका थिए। चिकित्सकले डेंगु भएको र औषधि खाँदै आराम गर्नु भन्ने सल्लाह दिएपछि घरमा ल्याएर राखिएकोमा बिहीबार बिहान साढे ६ बजे मृत्यु भएको मृतकका छोरा मिराज आलमले जानकारी दिएका छन्।
बिर्तामोडमा डेंगु संक्रमणबाट महिलाको मृत्यु भएपनि बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखालाई यसबारे थाहा नै छैन। पछिल्लो समयमा जिल्लामा डेंगु रोगको संक्रमण बढ्दै गएको हो। जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार विगत पाँच दिनमा १२ जनामा डेंगु रोगको संक्रमण देखिएको छ।
साउन १ देखि ५ गतेसम्म ४ महिला र ८ पुरुषमा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका वरिष्ठ तथ्यांक अधिकृत चूडामणि लुइँटेलले बताए। सङ्क्रमितमध्ये ६ जना अस्पताल भर्ना भएको उनले जानकारी दिए।