एक सय रुपैयाँ भन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने निर्णयको विरोधमा प्रदर्शन

एक सय रुपैयाँ भन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने निर्णयको विरोधमा प्रदर्शन
सुन्नुहोस्

झापा : झापाको काँकडभिट्टा–पानीटंकी नाकामा कडाइ गरेपछि स्थानीय साना व्यापारी आन्दोलनमा उत्रिएका छन्। 

भारतबाट एक सय रुपैयाँभन्दा बढीको सरसामान नेपाल भित्राए अनिवार्य भन्सार तिर्नुपर्ने नियम कडाइका साथ काँकडभिट्टा नाकामा लागू गरिएपछि त्यसको विरोधमा स्थानीय साना व्यापारी आन्दोलित बनेका हुन्। 

भन्सार शुल्क नियमनका कारण गरिब तथा विपन्न परिवारको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै स्थानीय व्यापारीहरूले मंगलबार दिउँसो मेची भन्सार कार्यालय काँकडभिट्टा र मेचीनगर नगरपालिका कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन्। 

भन्सारमा लागू गरिएको उक्त नियम खारेज हुनुपर्छ भन्दै होटल व्यवसायी संघ मेचीनगरले विरोध र्‍यालीसमेत प्रदर्शन गरेका थिए।  हातमा ब्यानर र प्ले कार्डसहित विरोध प्रदर्शनमा उत्रिएका व्यवसायीहरूले भन्सार अगाडि एक घण्टा प्रदर्शन गरे। 

जसकारण सीमा नाकामा ठप्प जस्तै बनेको थियो। सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधनहरूलाई सुरक्षाकर्मीले समन्वय गरी गन्तव्यतर्फ पठाएका थिए। भन्सार अगाडि विरोध प्रदर्शन गरेपछि उनीहरू त्यसपछि नगरपालिकातर्फ लागेका थिए। 

आर्थिक मन्दीले मुलुक जर्जर अवस्थामा पुगेको बेला साना व्यवसायीलाई यस्ता अव्यावहारिक नियम नलगाउन उनीहरू स्थानीय सरकारका प्रमुखसँग आग्रह गरेका थिए। 

मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीले यस बारेमा भन्सार कार्यालयसँगै सम्बन्धित निकायसँग छलफल गरी समस्या समाधानको प्रयास गरिने उनीहरूलाई आश्वासन दिएको जनाइएको छ। 

सीमा नाकाबाट भन्सार छलेर सरसामान आयात हुँदा राजश्व असुलीमा गिरावट भएको पाएपछि सरकारले साउन १ गतेदेखि लागू हुने गरी सबै भन्सार कार्यालयहरूले जाँचपास गराएर मात्रै यात्रुलाई छाड्ने निर्देशन  गरेको थियो। 

सोही निर्देशन बमोजिम मेची नगरपालिकाको समन्वयमा मेची उद्योग वाणिज्य संघ, मेची भन्सार कार्यालय, भन्सार एजेन्ट, स्थानीय राजनीति दलका प्रतिनिधि लगायत बसेको बैठकले एक सय रुपैयाँभन्दा बढीको सरसामानलाई अनिवार्य भन्सार तिर्नुपर्ने नियमलाई कडाइका साथ पालना गर्ने निर्णय गरेको थियो। 

सोही निर्णय अनुसार मेची भन्सार कार्यालयले भारतबाट स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरूलाई एक सय भन्दा बढी मूल्यको सरसामानको भन्सार तिराउन सुरु गरेको थियो। त्यसैगरी सरकारको निर्देशन बमोजिम भद्रपुर सीमा नाकामा पनि कडाइ गरिएको छ। 

भारतीय गलगलिया बजारबाट खरिद गरी ल्याउने एक सय रुपैयाँभन्दा बढीको सरसमानलाई अनिवार्य भन्सार तिराउन थालिएको छ। भद्रपुर नाकामा पनि कडाई गरेपछि मङ्गलबार केही स्थानीय भन्सार प्रमुख अमित तिवारीलाई भेट्न गएका थिए। भन्सार प्रमुख तिवारी बिदामा रहेकोले उनीहरू फर्किएका थिए। 

यता झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सरकारले जारीको निर्देशनको सबैले पालना गर्नुपर्ने बताए। मेचीनगरमा सर्वपक्षीय छलफलबाटै सो नियम लागू गरिएको बताउँदै प्रजिअ पोखरेलले भने, ‘यात्रुहरूले भारतबाट एक सय भन्दा बढीको सरसामान ल्याए भन्सार तिर्नुपर्छ, यसले राज्यलाई फाइदा पुग्ने हो। वर्षौँदेखि घरायसी सरसामान भन्सार नाकाबाट सहज रुपमा ल्याउनेलाई अहिले भन्सार तिराउँदा विवाद त आउँछ नै,’ उनले भने, ‘नाकामा उत्पन्न हुने विवादलाई सबैको सहयोगमा सहजीकरण गर्दै कार्यान्वयनमा ल्याउनुपर्छ।’  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.