स्याङ्जामा पानीको शुद्धता परीक्षण

९४ नमूना परीक्षणमा ४० नमूनामा दिसामा देखिने जिवाणु 'कोलीफर्म' भेटियो

९४ नमूना परीक्षणमा ४० नमूनामा दिसामा देखिने जिवाणु 'कोलीफर्म' भेटियो
पुतलीबजारस्थित एक निजी धारा । तस्बिर : भवानी अधिकारी

स्याङ्जा : स्याङ्जामा पिउने पानीमा दिसामा देखिने जिवाणु 'कोलीफर्म'भेटिएको छ। ९४ नमूना परीक्षण गरिएकामध्ये झण्डै ४२ प्रतिशत खानेपानीमा ‘कोलीफर्म’को किटाणु देखिएको हो। जुन मानव स्वास्थ्यका लागि हानिकारक हो।

जिल्ला स्वास्थ्य कार्यालयले स्याङ्जाका ११ वटै पालिकाका केही मुलमुहान,ट्यांकी, धारा र घरबाट पानीको नमूना संकलन गरी परीक्षण गर्दा पानीमा दिसामा हुने कोलीफर्मको किटाणु भेटिएको प्रमुख बसुन्धरा शर्माले जानकारी दिइन्। 

सार्वजनिक, व्यक्तिगत र संस्थागत धाराहरूबाट समेत पानीका नमूना परीक्षण गरिएको उनले बताइन्। 

उनका अनुसार,आर्थिक वर्ष २०७९/०८० मा एघार पालिका अन्तर्गत रहेका विभिन्न पानीका स्रोत (मुहान,धारा,घर) बाट ९४ वटाको नमूना परीक्षण गर्दा ४१ दशमल ४८ प्रतिशत कोलीफर्म देखिएको छ। यसैगरी, गतवर्ष ०७८/०८९ पनि एघार पालिकाका ५६ वटामा गरिएको नमूना परीक्षणमा ५२ प्रतिशतमा कोलीफर्मका किटाणु भेटिएको थियो।'

एघार पालिकामध्ये सबैभन्दा बढी बिरुवा गाउँपालिकामा ६६ दशमलब ६ प्रतिशत र सबैभन्दा कम पुतलीबजार नगरपालिकामा ३१ दशमलब २५ प्रतिशत कोलीफर्मका मात्रा देखिएको हो।

यसैगरी, क्रमश  चापाकोट नगरपालिकामा ६२ दशमलब ६ प्रतिशत, फेदिखोला र हरिनास गाउँपालिकामा ५० दशमलब ५० प्रतिशत, भीरकोट नगरपालिकामा ४६ दशमलब १ प्रतिशत, अर्जुनचौपारी गाउँपालिकामा ४० प्रतिशतमा कोलीफर्म देखिएको हो।

गल्याङ् नगरपालिकामा ३८ प्रतिशत र वालिङ् नगरपालिका, आँधीखोला र कालीगण्डकी गाउँपालिकामा पनि सबैमा क्रमश  ३७ दशमलब ५ प्रतिशत नै कोलीफर्मका किटाणु भएको स्वास्थ्य प्रमुख शर्माले जानकारी दिइन्। 

कार्यालयले पुतलीबजार र कालीगण्डकीमा १६/१६, भीरकोटमा १३, चापाकोट, वालिङ, आधीखोलामा ८/८, विरुवा र गल्याङ्मा ६/६, अर्जुनचौपारीमा ५, फेदिखोला र हरिनासमा ४/४  गरी ९४ वटा खानेपानीका नमूना संकलन गरी ल्याब परीक्षण गरेको हो।

गत वर्षको तुलनामा पानीको शुद्धता प्रतिशत केही बढे पनि यो सुखद नतिजा भने नभएको प्रमुखको भनाइ छ। उनले भनिन्,‘यो पिउनयोग्य पानी होइन्। पानीलाई छान्ने,उमाल्ने, औषधिकफ प्रयोग वा अन्य विधिबाट शुद्धिकरण गरेर मात्र पिउनुपर्छ।’ 

कोलीफर्मयुक्त पानी सेवनले झाडापखाला, टाइफाइड जस्ता सरुवा रोग लाग्नुका साथै मृगौलालाई पनि नकरात्मक प्रभाव पारेको हुन्छ। जसका कारण मृगौला बिग्रने संभावना रहन्छ भने हैजाको पनि बढी जोखिम रहने स्वास्थ्यकर्मीका भनाइ छ।

वर्षासँगै पानीजन्य संक्रामक रोगहरु बढ्न थालेकाले  पिउनेपानी कति शुद्धता छ पहिचानसहित उपभोग गर्न पाउनुपर्ने उपभोक्ता सुनिता पौडेलको भनाइ छ। 

कार्यालयले लगातार दुई वर्षसम्म यहाँका खानेपानीको नमूना संकलन गरी परीक्षण गर्दै  आएको छ। अघिल्लो वर्षको तुलनामा यसवर्ष केही सुधारोन्मुख देखिएको छ। मानव स्वास्थ्यका लागि पहिलो आवश्यकता शुद्ध पानी भएकाले स्थानीय पालिका नै बढी संवेदनशील हुनुपर्ने प्रमुख शर्माको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.