हतियार चोरी गरेको अभियोगमा दुईजना पक्राउ
काठमाडौं : कागेश्वर मनोहरा नगरपालिका-१ गागलफेदी बस्ने प्रहरी नायव निरीक्षक प्रभाकर खड्काको घरबाट पेस्तोल १ थान,म्याग्जिन १ थान र सोको गोली ७ राउण्ड चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुली गोलन्जार गाउँपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ नारायणटार डेरा गरी बस्ने २४ वर्षीय मेघ बहादुर तामाङ र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-४ घर भई काठमाडौं तारकेश्वर नगरपालिका फुटुङ डेरा गरी बस्ने २४ वर्षीय बासुदेव थामी रहेका छन् ।
प्रहरी नायव निरीक्षक खड्काको घरबाट गत असार ३१ गते राति उक्त हतियार चोरी भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धानको क्रममा तामाङको डेरा कोठाबाट उक्त हतियार,मोबाइल ५ थान र नगद ६० हजार रुपैयाँसहित तामाङलाई पक्राउ गरेको र थप अनुसन्धानको क्रममा उनकै भान्जा पर्ने थामीले उक्त हतियार राख्न दिएको खुल्न आएपछि थामीलाई समेत तारकेश्वर फुटुङबाट पक्राउ गरेको हो ।
उनीहरूविरुद्ध चोरीसम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिइ प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !