नागरिक उड्डयन प्राधिकरणले गरेको निर्णयको असरका विषयमा प्रकाशित समाचार

नागरिक उड्डयन प्राधिकरणले गरेको निर्णयको असरका विषयमा प्रकाशित समाचार

प्राधिकरणले दुर्गम जिल्लामा १२ बजेपछि हवाई सेवामा रोक लगाउने निर्णय गरेपछि त्यसको असरका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरू


बीबीसीले प्रकाशन गरेको समाचार

‘बचाउने आशा थियो, जहाज नआउँदा मुटुको टुक्रा गुमाएँ’

प्रकाश पन्त (बीबीसी) । सुर्खेत
झाडापखाला चलेपछि हुम्ला सिमकोटका सुरज चुनारले ६ महिनाका छोरा इमरानलाई उपचारका लागि जिल्ला अस्पताल ल्याए। उपचारपछि झाडापखाला त रोकियो, तर बच्चालाई निमोनियाले समात्यो।

चार दिन अस्पतालमा भर्ना गरेर उपचार गर्दासमेत निमोनिया ठीक नभएपछि जिल्ला अस्पतालका डाक्टरले साउन १८ गते थप उपचारका लागि बच्चालाई नेपालगन्ज ‘रेफर’ गरे। तर, रेफर गरेको साता दिनसम्म जहाज कुर्दाकुर्दै साउन २६ गते इमरानको ज्यान गयो।

निर्विकल्प हवाई मार्ग

बिरामी छोरालाई सुविधायुक्त अस्पताल लैजान सुरजसँग हवाई मार्गबाहेक अरू केही विकल्प थिएन। छोरालाई बचाउन धेरै प्रयास गरेका उनी ‘नेपाल नागरिक उड्डयन प्राधिकरणको गलत निर्णयका कारण आफूले छोरा गुमाउनु परेको’ भन्दै पीडा पोख्छन्। ‘सुविधासम्पन्न ठाउँमा लग्न पाएको भए बचाउन सकिन्थ्यो कि भन्ने आशा थियो, तर साता दिनसम्म पनि जहाज नआउँदा मुटुको टुक्रा (छोरा) गुमाएँ’, उनले बीबीसीसँग भने, ‘यस्तो नियम लागू गर्नु भनेको दुर्गमका बिरामीलाई मर्न बाध्य पार्नु हो।’

जिल्ला अस्पताल हुम्लाकी निमित्त प्रमुख सरिता बोहराले ‘आफ्नो अस्पतालले रेफर गरेको तर समयमै बिरामीलाई उपचार हुन सक्ने सुविधासम्पन्न अस्पताल लैजान नसक्दा साता दिनभित्रै २ जना बच्चाको मृत्यु भएको’ बताइन्। ‘समयमै सुविधायुक्त अस्पतालमा लगेको भए बच्चाहरूलाई बचाउन सकिन्थ्यो’, उनले भनिन्, ‘१२ बजेसम्म मौसम खुल्दैन, दिउँसो खुल्छ जहाज आउँदैन।’

साउन १५ गते रेफर गरिएका ७ महिनाका रोहित शाहीको पनि साउन २२ गते मृत्यु भएको थियो। बोहराका अनुसार दुवै बच्चालाई ‘एनआईसीयू’ मा राखेर उपचार गर्नुपर्ने अवस्था थियो। तर, यो सुविधा जिल्ला अस्पताल हुम्लामा छैन। अहिले पनि थप उपचारका लागि साता दिनअघि रेफर भएर नेपालगन्ज जान नसकेका ३ जना सिकिस्त बिरामी अस्पतालमै छन्। 

दुर्गमवासीको जीवनमाथि ‘प्राधिकरणको खेलबाड’

यस्तै मुगुको खत्याड गाउँपालिकाका ६० वर्षीय बिर्खबहादुर कार्कीको पनि ‘जहाज कुर्दाकुर्दै ज्यान गएको’ उनका आफन्तजनले बताएका छन्। उपचारका लागि सुविधायुक्त ठाउँमा लैजान छिमेकको बाजुरास्थित कोल्टी विमानस्थल पुर्याइए पनि तीन दिनसम्म जहाज नआउँदा उपचार अभावमा उनले ज्यान गुमाउनु परेको उनका परिवारजनले बताए।

नागरिक उड्डयन प्राधिकरणले मनसुनी वर्षा धेरै हुने समयलाई ध्यानमा राखेर हवाई सुरक्षाका लागि भन्दै गत साउन १५ गतेबाट पहाडी तथा हिमाली जिल्लाका साना जहाज चल्ने २९ वटा (स्टल एयरपोर्ट) विमानस्थलमा दिउँसो १२ बजेपछि उडानमा रोक लगाइएको जनाएको छ। 

ती क्षेत्रका लागि भरपर्दो यातायात सेवाका रूपमा रहेका हवाई जहाज र हेलिकप्टरको सेवा दिनको १२ बजेपछि बन्द हुँदा आफूहरूले ठूलो सास्ती भोग्नु परेको त्यहाँका नागरिकहरूले गुनासो गरेका छन्।
अहिलेसम्म पनि सडक सुविधा नपुगेका र सडक भए पनि भरपर्दो यातायात सेवा नभएका ठाउँमा प्राधिकरणले दिउँसो १२ बजेपछिका उडानमा रोक लगाएपछि आपत्कालीन उद्धार, दैनिक उपभोग्य वस्तु, खाद्यान्न, औषधि, निर्माण सामग्रीको ढुवानीमा समेत असर परेको स्थानीयवासीले बताएका छन्।
 
प्राय : जसो दिउँसोतिर मात्रै मौसम सफा कर्णाली र सुदूरपश्चिमलगायत देशका अरू पहाडी तथा हिमाली क्षेत्रमा मनसुनको समयमा प्राय : जसो दिउँसोतिर मात्रै मौसम सफा हुने गरेको स्थानीय बासिन्दा भन्छन्। यसअघि भने ती क्षेत्रका विमानस्थलमा दिउँसो पाँच बजेसम्म हवाई जहाज र हेलिकप्टर उडान हुने गर्थे। प्राधिकरणले निर्माण सामग्री ढुवानी, कार्गो, चार्टर फ्लाइट र माउन्टेन फ्लाइटमा समेत १२ बजेपछि रोक लगाएको छ। प्राधिकरणको निर्णयले नागरिकलाई सास्ती हुनुको साथै पर्यटन व्यवसायसमेत धराशायी बन्ने अवस्था आएको पर्यटन व्यवसायी गुनासो गर्छन्।
‘हतोत्साहित’सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया दुर्गमको जनजीवनलाई प्रतिकूल प्रभाव पार्ने निर्णय तत्काल फिर्ता लिन माग गर्छिन्। उनी भन्छिन्, ‘कर्णालीवासीलाई हेपेर गरिएको जनता मार्ने निर्णय हामीलाई मान्य छैन।’

१२ बजेपछि उडानमा रोक लगाएपछि चामल ढुवानीको कामसमेत प्रभावित भएको छ। सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकाका बासिन्दाका लागि सतिसल्लाबाट हेलिकप्टरले चामल ओसारी रहेको छ। उक्त निर्णयअघि दैनिक ९–१० वटा उडान हुँदै आएकोमा अहिले भने १२ बजेसम्म मुस्किलले २–३ खेप मात्र चामल ढुवानी हुने गरेको छ।

समयमै चामल ढुवानी गर्न नसकिए यी गाउँपालिकामा साता दिनभित्रै खाद्यान्न संकट हुने उपाध्यक्ष रोकायाले चिन्ता व्यक्त गरेकी छन्। सेफ्टी प्रोटोकललाई कडाइ गरिएको प्राधिकरणको दाबी नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनको समयमा हुने हवाई दुर्घटना न्यूनीकरण गर्न तीन महिनाका लागि ‘सेफ्टी प्रोटोकल’ लाई कडाइका साथ लागू गरेको बताएको छ।

प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले ‘कसैलाई दु : ख दिने नियतले नभई जनताको जीवन सुरक्षाका लागि सेफ्टी प्रोटोकललाई कडाइ गरिएको’ बताए। उनले भने, ‘मौसम अनुकूल भएको बेला खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, आकस्मिक उद्धारको उडानमा भने रोक छैन।’


नागरिकले प्रकाशन गरेको समाचार

कर्णालीको काल बन्दै ‘अप्रेसन आवर’

नगेन्द्र उपाध्याय। सुर्खेत (नागरिक)

न चामल छ न नुन छ न छ पानी बत्ती
चिलगाडी नि आउन छोड्यो हाम्मा दु : ख कति ?
नेता गया काठमाडौंमा, जनता कठै काँ जान
उब्जनी हुँदैन भौती, भोकमरीमा क्या खान ?

मुगुका पत्रकार कविराज कार्कीले जिल्लाको अहिलेको अवस्था समेटिएको देउडा गीत फेसबुकमार्फत सार्वजनिक गरे। कार्कीले लेखेजस्तै अहिले कर्णालीमा खाद्य संस्थानका गोदाम रित्तिएका छन्। काठमाडौंमा सुनका कुरा भइरहँदा कर्णालीमा नुन नपाएर आन्दोलन गरिरहनुपरेको यथार्थता छ। राज्यले कर्णालीलाई अनुदानका नाममा मागिखाने बनाएको छ। त्यसकारण भएका पाखाबारीमा पनि उब्जनी गरिन्न। 

यहीबेला सरकारले कर्णालीमा हवाई उडान ‘बन्द’ गरिदियो। कर्णालीको भौगोलिक विकटता र अवस्था नबुझेर काठमाडौंले नियम लादिदिँदा कर्णाली अहिले छटपटाएको छ। साउन १५ गतेदेखि लागू भएको ‘अप्रेसन आवर’ले कर्णालीले कति दु : ख र क्षति बेहोरिरहेको छ भन्ने जान्न हुम्लाका यी दुई घटना काफी छन्। 

nullमुगुको ताल्चा विमानस्थलमा जहाज नपाएपछि अलपत्र बिरामी । फाइल तस्बिर: नागरिक

हुम्लाको सिमकोट गाउँपालिका–७ का कालीबहादुर शाहीले झाडापखालाले थलिएका सात महिने छोरा रोहितलाई जिल्ला अस्पतालमा भर्ना गरे। त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूले आईसीयूमा राखेर उपचार गर्नुपर्ने भन्दै सुुविधासम्पन्न अस्पताल पुर्‍याउन सुझाए। राष्ट्रिय सडक सञ्जालसँग हुम्ला जोडिएको छैन। यहाँको एक मात्र विकल्प हवाई सेवा हो। सरकारको नयाँ नियमले अहिले १२ बजेपछि सिमकोट विमानस्थलमा हवाई जहाज र हेलिकप्टर उड्न पाउँदैनन्। थप उपचारका लागि नेपालगन्ज वा सुर्खेत ल्याउने विकल्प सकिएपछि कालीबहादुरले बिरामी छोरालाई घर पुर्‍याए। बुधबार उनको मृत्यु भयो।

सिमकोटकै सुरज सुनारका ६ महिने छोरा इमरानको पनि जहाज नचल्दा साउन १८ गते मृत्यु भयो। उनी पनि झाडापखालाले थलिएका थिए। ६ महिने बालकको उपचार आईसीयूमा राखेर गर्नुपर्ने थियो। त्यो सुविधा जिल्ला अस्पताल हुम्लामा छैन। त्यहाँका डाक्टर कैलाश लामाका अनुसार सुविधासम्पन्न ठाउँमा समयमै दुवै बालकलाई लगिएको भए बाँच्ने सम्भावना धेरै थियो। ‘अभिभावकले अस्पताल पुर्‍याउनेबित्तिकै हामीले चेकजाँच गरेर सुविधासम्पन्न अस्पतालमा उपचार गराउनू भनेर रेफर गरिसकेका थियौं,’ उनले भने, ‘जहाज नचल्दा दुई बालकले ज्यान गुमाउनुपर्‍यो।’

डा. लामाले जहाज नचलेर उपचार अभावमा बालकहरूको मृत्यु हुँदा अत्यन्तै दु : ख लागेको बताए। ‘जहाज नपाएर एक बालकको अस्पतालको बेडमै मृत्यु भयो, अर्का बालकको घरमा लगेपछि मृत्यु भयो,’ उनले भने, ‘आफ्ना सन्तानलाई उपचार गराउन नपाउँदाको पीडा बाबुआमालाई कति होला ?’ उनले जहाज कुर्दाकुर्दै मृत्यु हुने अवस्थाको अन्त्य हुनुपर्ने बताए। 

विमान नचल्दा र समयमै विमानको टिकट नपाउँदा आफूले छोरो गुमाएको सुनारले बताए। छोरालाई नेपालगन्ज लान विभिन्न एयरलाइन्सका कार्यालयमा धाए पनि टिकट नपाएको उनले बताए। ‘पहिलेजस्तो दिउँसो जहाज आउँदैनन्, १२ बजेअघि कहिलेकाहीँ आउने जहाजको टिकट पाइँदैन,’ उनले भने, ‘छोरालाई समयमै अस्पताल पुर्‍याइदिएको भए बचाउन सकिन्थ्यो कि ?’ सिमकोट विमानस्थल १० बजेअघिसम्म कुहिरोले ढाकिएको हुन्छ।

१२ बजेपछि सरकारले विमान चलाउन दिँदैन। साबिकको कर्णालीका पाँच जिल्लामध्ये चार जिल्लामा नियमित हवाई उडान हुन्थे। कालीकोटको सुनथराली विमानस्थल तयार भए पनि सञ्चालनमा आएको छैन। हुम्लाको सिमकोट विमानस्थल, मुगुको गमगढी विमानस्थल, डोल्पाको दुनै विमानस्थल र जुम्लाको जुम्ला विमानस्थलमा बेलुका ५ बजेसम्म जहाज चल्थे। हेलिकप्टर त अझै ढिलो समयसम्म सञ्चालन हुन्थे।

सरकारले नयाँ नियम लागू गरेसँगै दुनै र गमगढी विमानस्थलमा विमान देखिएका छैनन्। मुगुको छायानाथ रारा नगरपालिकाकी दुर्गा लावट ६ महिनादेखि थलिएकी छन्। जिल्ला अस्पताल मुगुले उनलाई थप उपचारका लागि काठमाडौं जान भनेको छ। दुर्गाका बुवा रामलालले चिलगाडी (जहाज) नआउँदा छोरीलाई ‘ठूलो अस्पताल’ लान नपाएको बताए। ‘यहाँका डाक्टरले तल (काठमाडौं) लैजाऊ भनेका छन्,’ उनले भने, ‘चिलगाडी आउँदैन, बर्खा लागेकाले गाडी पनि आउँदैन, मेरी छोरी अकालमै मर्ने हो कि भन्ने चिन्ता छ।’ उनले चिलगाडी आइदिए एक घण्टामै छोरीलाई नेपालगन्ज पुर्‍याउन सकिने बताए।

नागरिक उड्डयन प्राधिकरणले साउन १५ गतेदेखि लागू हुने गरेर हिमाली तथा पहाडी क्षेत्रका २९ विमानस्थलमा बिहान ६ बजेदेखि १२ बजेसम्म मात्रै उडान अनुमति दिएको छ। यसको प्रत्यक्ष मार अहिले कर्णालीका नागरिकहरूमा परिरहेका छन्। नागरिक उड्डयन प्राधिकरणका कर्णालीका जिल्लामा कार्यरत कर्मचारी मात्रै होइन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूले पनि विमान उडानको तालिका परिवर्तन गर्न लिखित पत्र नागरिक उड्डयन प्राधिकरण र सरोकारवाला मन्त्रालयलाई पठाएका छन्। ‘कर्णालीका सन्दर्भमा यो अव्यावहारिक निर्णय भयो, सच्याइनुपर्छ भनेका छौं,’ हुम्लाका प्रजिअ श्रीनाथ पौडेलले भने, ‘सडक नै नभएको जिल्लामा ६–१२ बजेसम्म मात्रै विमान चला भन्नु व्यावहारिक मानिँदैन।’ उनले विमान नचल्दा बिरामी, विद्यार्थीलगायत मर्कामा परेको बताए।

बर्खाको समय भएकाले मुगु विमानस्थल बिहान १० बजेसम्म खुल्दैन। कुहिरोले ढाकिएको बेला विमान आउने कुरा भएन। दिउँसो मौसम सफा हुन्छ तर विमान आउँदैन। ‘अप्रेसन आवरमा यहाँको मौसम खुलेको हुँदैन,’ ताल्चा विमानस्थल प्रमुख रोमन भट्टराईले भने, ‘दिउँसो मौसम सफा हुन्छ, अप्रेसन आवरका कारण विमान आउँदैनन्।’ उनले कर्णालीका सन्दर्भमा यो व्यावहारिक नभएको बताए। ‘हामीले कर्णालीको अवस्था, यहाँका जनताका गुनासा केन्द्रीय कार्यालयमा टिपाएका छौं,’ उनले भने, ‘अहिलेसम्म त्यसको जवाफ आएको छैन।’

महानिर्देशकले मानेनन् मन्त्री भेट्न

१२ बजेपछि जहाज र हेलिकप्टर नचल्दा कर्णालीका नागरिकहरूले सास्ती भोग्न थालेपछि यसबारे कुरा गर्न कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी काठमाडौं गए। कर्णालीमा हवाई उडानमा लागेको नयाँ नियमले पारेको असर, नागरिकले खेप्नुपरेको सास्ती र कर्णालीको भूगोल र मौसमबारे जानकारी दिन नागरिक उड्डयन कार्यालय पुगेका उनलाई महानिर्देशक प्रदीप अधिकारीले भेट्न मानेनन्।

‘सुरुमा फोनबाटै कुरा गर्न खोजेको थिएँ, फोन उठेन,’ मन्त्री बिसीले भने, ‘भेट्न जाँदा पनि भेट पाइनँ।’उनले अप्रेसन आवर अव्यावहारिक भएको बताए। बिसीका अनुसार घाँसे मैदान हुँदा लागू भएको निर्णयलाई अहिले आएर फेरि लागू गर्नु जनतालाई दु : ख दिने नियत मात्रै भएको हो। 

‘उतिबेला विमानस्थलहरू साना थिए, घाँसे मैदान थिए, थोरै हावा चल्दा, पानी पर्दा दुर्घटनाको डर हुन्थ्यो,’ उनले भने, ‘त्यतिबेलाको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउनु भनेको जनतालाई सरासर दु : ख दिने काम मात्रै हो।’ हिमाली तथा पहाडी क्षेत्रका सबै विमानस्थलहरू कालोपत्र भइसकेका छन्। रन–वे पनि पहिलेको तुलनामा विस्तार गरिएका छन्। मुगुका कार्कीले जहाज नआउँदाको पीडा र यसले भोलिका दिनमा ल्याउन सक्ने समस्याको संकेत गरेको गीतको तल हुम्लाका भक्त शाहीले कमेन्ट गरेका छन्,
राज्य सत्ता उनैको हो कर्णालीको हैन
दु : ख पीडा सिरानी छन्, कहिल्यै मनको भैन

हुन पनि हवाई सुरक्षाका नाममा गरिएको निर्णय कार्यान्वयनअघि कर्णालीलाई एकपटक सोधेको भए, यहाँको भौगोलिक र मौसमको अवस्थाको राम्रोसँग अध्ययन गरेको भए कर्णालीले अहिले पाउँदै आएको दु : ख पाउने थिएन।


कान्तिपुरले प्रकाशन गरेको समाचार

जहाज कुर्दाकुर्दै हुम्लामा ४ शिशुको ज्यान गयो

जनकबहादुर शाही/  हुम्ला (कान्तिपुर)
खराब मौसम र नागरिक उड्डयन प्राधिकरणको नियमका कारण जहाज नआउँदा जिल्ला अस्पताल हुम्लाबाट रिफर गरिएका ४ शिशुले उपचार अभावमा ज्यान गुमाएका छन्। दुर्गम जिल्ला हुम्लाको सिमकोटमा रहेको सिमकोट विमानस्थलमा लामो समयसम्म उडान नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन्।

विमानस्थल पुग्दै फर्किँदै गर्नु सेवाग्राहीको दिनचर्या बनेको छ। यही चपेटामा परेर हुम्लाका ४ बालकले ज्यानसमेत गुमाउनु परेको छ। हुम्लाको सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिने बालक इमरान सुनार, सिमकोट गाउँपालिका–७ डाडाफयाका ७ महिने बालक रोहित शाही, खार्पुनाथ–१ लालिका डेढ वर्षे बालक आर्यन परियार र चंखेली–४ का ५ महिने बालक सन्देश लुवारको जहाज नआउँदा उपचार अभावमा ज्यान गएको हो।

झाडापखालाले थलिएर अन्तिम अवस्थामा अस्पतालमा ल्याएका शाहीलाई अनियन्त्रित झाडापखालाका कारण आईसीयूमा उपचार गर्नुपर्ने भएकाले अस्पतालमा आईसीयू नभएकाले सुविधासम्पन्न अस्पतालमा लिनुपर्नेमा मौसमका कारण जहाज नआउँदा मरे पनि मेरै घरमा मरला भनेर बाबु कालीबहादुरले मंगलबार घर लगेपछि बुधबार बच्चाको मृत्यु भएको र सुनारको झाडापखालाले थल्लिएर रगतमा संक्रमण भएकाले अवस्था गम्भीर देखिएपछि साउन १८ गते जिल्ला बाहिरका सुविधासम्पन्न अस्पतालमा जान सुझाव दिइएको भए पनि खराब मौसमका कारण जहाज नआउँदा बच्चालाई बचाउन नसकिएको जिल्ला अस्पताल हुम्लाका डाक्टर कैलाश लामाले बताए।

अस्पतालका चिकित्सक डाक्टर लामाका अनुसार निमोनियाले थलिएका परियारले साउन ७ गते र कुपोषणले थलिएका लुवारले साउन ८ जहाज कुर्दाकुर्दै अस्पलालको शय्यामै ज्यान गुमाउनुपरेको छ। चारै जना बालकको जिल्लामा उपचार नहुने भन्दै जिल्ला बाहिर रिफर गरेको भए पनि जहाज नआउँदा समयमा सुविधा सम्पन्न अस्पतालमा लिन नसक्दा ५, ६ र १८ महिनाका बालकको अस्पतालको बेडमै र ७ महिनाका बालकको उनकै घरमा मृत्यु भएको बताए।

हुम्लामा बिहान मौसम सफा नहुनु र दिउँसो साढे बाह्र बजेपछि नागरिक उड्ययान प्राधिकरणले लागू गरेको उडान भर्न नपाउने नियमका कारण बालकको मृत्यु भएकाले यसको जिम्मा सरकारले लिनु पर्ने अधिकारकर्मीहरूले जनाएका छन्। बालकको घरको आर्थिक अवस्था कमजोर भए पनि आर्थिक सहयोग जुटाएर जिल्ला बाहिर उपचार गर्न सकिने अवस्था रहेकोमा हवाई सेवा अवरुद्ध भएका कारण उपचार गर्न नपाएपछि चारै बालकको मृत्यु भएको हो। 


रातोपाटीले प्रकाशन गरेको समाचार

१२ बजेपछि जहाज सञ्चालनमा रोक : क्यानको निर्णयपछि जहाज कुर्दाकुर्दै ४ जनाको मृत्यु

पंखबहादुर शाही/सुर्खेत (रातोपाटी)

१५ साउनदेखि नागरिक उड्डयन प्राधिकरण (क्यान)ले लागू गरेको ‘अपरेसन आवर’ले कर्णालीका हिमाली जिल्लाका नागरिकलाई निकै समस्या भएको छ। प्राधिकरणको नयाँ नियमअनुसार दिउँसो १२ बजेपछि जहाज सञ्चालन गर्न नमिल्ने निर्णयले हुम्ला, डोल्पा र मुगुका नागरिकले सास्ती खेपेका छन्। 

हिमाली जिल्लामा बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि मात्र उडानका लागि अनुमति दिइएको छ। जबकि बर्खाको समयमा हिमाली जिल्लामा बिहानदेखि मौसम खुल्न गाह्रो हुन्छ। जसका कारण जहाज आउन सक्दैन। त्यसको असर दुर्गमका नागरिकमाथि पर्ने नै भयो। दुर्गमका नागरिकको अवस्थालाई नबुझेर प्राधिकरणले गरेको नियमले नागरिक ज्यान गुमाउन बाध्य छन्। क्यानको निर्णयपछि जहाज कुर्दाकुर्दै हुम्लाका चार जनाको मृत्यू भइसकेको छ। 

मृत्यु हुनेमा हुम्लाको सिमिकोट गाउँपालिका–६ का ६ महिने बालक इमरान सुनार, सिमिकोट गाउँपालिका–७, का ७ महिने बालक रोहित शाही, खार्पुनाथ गाउँपालिका–१, का साढे १ वर्षका बालक आर्यन परियार र चंखेली गाउँपालिका–४, का ५ महिने बालक सन्देश लुवार छन्। चारै जना बालकको जहाज नआउँदा उपचार अभावमा मृत्यु भएको हो। 

शाही झाडापखालाका बिरामी थिए। जिल्ला अस्पताल हुम्लामा ल्याइएका उनलाई ठूलो अस्पतालमा लैजानुपर्ने डाक्टरको सल्लाह थियो भने इमरानको समस्या पनि उस्तै थियो। रगतमा समस्या देखिएका उनीहरूलाई १८ साउनमा सुविधासम्पन्न अस्पतालमा लैजान जिल्लाका चिकित्सकहरूको सुझाव थियो। यद्यपि मौसमका कारण बिहान जहाज आएन। बिरामीका आफन्तहरूले सिमिकोट विमानस्थलमा जहाज कुर्दाकुर्दै उनीहरूको ज्यान गयो। 
यस्तै परियारलाई निमोनिया र लुवारलाई कुपोषणको समस्या रहेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ। जिल्ला अस्पतालमा उपचार सम्भव नहुने भएपछि बाहिर लैजान भनिएका उनीहरूको पनि जहाज कुर्दाकुर्दै उपचार अभावमा मृत्यु भएको हो। लुवारको ८ साउन र परियारको ७ साउनमा मृत्यू भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. प्रेम सिंहले जानकारी दिए। 

हुम्ला अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको जिल्ला हो। एक त सडक सुविधा नै नभएका र भएका ठाउँमा पनि भरपर्दो सुविधा नभएका हिमाली जिल्लाका नागरिकका लागि प्राधिकरणको नियम कालजस्तै बनेको नागरिकको गुनासो छ। हिमाली जिल्लाका बिरामीहरूका लागि एम्बुलेन्स भनेकै हवाईजहाज हो। ‘बिरामी बालकहरू घरबाट नै सिरियस अवस्थामा अस्पतालमा ल्याइएको हो। उनीहरूलाई थप आईसीयूमा राख्न रेफर गरियो,’ डा.सिंहले रातोपाटीसँग भने, ‘समयमा हवाईजहाज नआएर उद्दार हुन सकेन। जसका कारण मृत्यु भएको हो।’ 

हिमाली जिल्लामा हवाईजहाजबाहेक अर्को विकल्प नभए पनि प्राधिकरणले अन्याय गरिरहेको उनको भनाइ छ। ‘महिनौं दिनदेखि अन्य बिरामीहरू पनि जहाजको पर्खाइमा छन्,’ उनले भने, ‘जहाज नआउँदा खाद्यान्नदेखि सबैजसो कुरामा नागरिक मर्कामा छन्।’

विरोधमा सदन अवरुद्ध

क्यानले दुर्गम कर्णालीका नागरिकमाथि खेलवाड गरेको भन्दै अहिले चर्काे विरोध हुन थालेको छ। तर, पनि क्यानले उक्त निर्णयमा पुनर्विचार गरेको छैन। मंगलबार उक्त विषयलाई लिएर कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन अवरुद्ध गरेको छ। प्राधिकरणको ज्यानमारा निर्णयबारे सरकारले कुनै ध्यान नदिएको भन्दै एमालेले संसद अवरुद्ध गरेको हो। प्राधिकरणको उक्त निर्णय सच्याउन प्रदेश सरकारको क्याविनेटले नै निर्णय गरी संघीय सरकारलाई दबाब दिनुपर्ने एमाले संसदीय दलका नेता यामलाल कँडेलले बताए। 

अहिले संघीय सरकारमै कर्णाली प्रदेशका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का छन् भने भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला छन्। सोमबार मन्त्री ज्वाला, कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित कर्णालीबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूले भने हवाई उडानमा लगाइएको प्रतिबन्ध तत्काल खारेज गर्न भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएका छन्। 

प्रधानमन्त्री दाहालले नागरिकलाई सास्ती हुने निर्णयको सम्बन्धमा सरकारले आवश्यक निर्णय लिने बताएको पूर्वमुख्यमन्त्री शाहीले बताए। क्यानको निर्णयले कर्णालीका हुम्ला, डोल्पा, मुगु, जुम्ला, रुकुम पश्चिममा रहेका विमानस्थलमा दिउँसो हवाई उडान हुन सकिरहेको छैन। 

मध्याह्नपछि किन रोकियो हवाई उडान ? 

कर्णालीमा अहिले पाँच वटा विमानस्थल सञ्चालनमा छन्। तीमध्ये सिमिकोट, रारा र डोल्पा विमानस्थलको मध्याह्नपछि उडान तालिका छैन। यसअघि यहाँ मौसम अनुकूल हुँदा उडान हुने गरेका थियो। यद्यपि क्यानले उडान जोखिमपूर्ण भएको भन्दै मध्याह्नपछि उडान नगर्ने निर्णय गर्‍यो । 

सुर्खेत विमानस्थलका कार्यालय प्रमुख राजनराज ढुङ्गेलका अनुसार विमानस्थलमा तालिका निर्धारण गर्न सुरक्षा व्यवस्थापन प्रणाली लागु छ। जसमा हुन सक्ने सम्भावित जोखिम, बेलाबखत भइरहने जोखिम र सुरक्षाका उपायलगायतका विषयको पहिचान गरी त्यसको समाधानका उपाय निर्धारण गरिन्छ। उक्त प्रणालीमा विमानस्थल तालिका बमोजिम उडान हुने निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्नुपरेको उनले बताए। 

कर्णालीमा हुने उडानमा हावाको गति बढ्नु, बादल बाक्लिनु, मौसम खराबी, बढी हल्लिनुका कारण उडान जोखिम मानिएको छ। मनसुन समयमा जोखिम बढी हुने भएकाले निर्णयमा कडाई गर्न बाध्य भएको उनको भनाइ छ। 

‘पत्र पठाइसकेका छौँ’

क्यानको निर्णयले नागरिकले सास्ती भोगेको भन्दै प्रदेश सरकारको तर्फबाट संघीय सरकारलाई पत्र पठाइसकिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार विसीले जानकारी दिए। उनले रातोपाटीसँग भने, ‘अहिले आपतकालीन उडानका लागि भनेर सहमति दिइएको छ। तर, नियमित उडानका लागि दिइएको छैन।’ पुन :  सोमबार अर्को पत्र पठाइएको उनले बताए। 


रेडियो नेपालले प्रकाशन गरेको समाचार

प्राधिकरणको निर्देशनले मुगुवासीलाई सास्ती

विनोदकुमार मल्ल / मुगु (रेडियो नेपाल)
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत साउन महिनाको दोस्रो साताबाट देशका ३० वटै विमान स्थलहरूमा दिउँसो १२ बजेपछि उडान भर्न रोक लगाउने निर्णय गरेपछि त्यस निर्णयले सबैभन्दा बढी दुर्गम जिल्लामा रहेका यात्रुहरू मर्कामा परेका छन्।

बर्षातको समयमा हवाई दुर्घटना हुन सक्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले साउन १४ गतेबाट दिउँसो १२ बजेदेखि लागू हुने गरी तिन महिनासम्म रोक लगाउने निर्णयले नेपालगञ्जबाट  दैनिक उडान  हुने रारालगायत कर्णालीका अन्य जिल्लाका यात्रुहरू मर्कामा परेका हुन्। 

हवाई यात्राबाट नेपालगन्ज पुग्ने यात्रुहरू रारा विमान स्थलमा हवाई जहाजको पर्खाइमा बसेको ८ दिन भएको छ। बिहान मौसम नखुले पनि दिउँसो १२ बजेपछि आकाश खुला  हुन्छ। तर, नागरिक उड्डयन प्राधिकरणको निर्णयले १२ बजेपछि उडान गर्न मिल्दैन। आफ्नो  ट्राभल्सबाट  तारा एयरलाइन्स नेपालगन्ज जाने ४३ जना यात्रुहरू टिकट लिएर  विमान स्थलमा जहाजको पर्खाइमा बसेको ८ दिन भएको छ। प्रत्येक दिन १२ बजेपछि रारा विमान स्थल आसपासको मौसम सफा हुने भए  पनि तीन महिनासम्मका लागि १२ बजेपछि उडान भर्न रोक लगाए पछि सबैभन्दा बढी  बिरामी र यात्रुहरू मर्कामा परेको हेभन रारा ट्राभल्सका  बजार व्यवस्थापक सोभबहादुर भाम बताउनुहुन्छ।

मुगु कार्मारोङ गाउँपालिका पुलु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढाको सात महिनाको गर्भ छ।  उनको नाक भित्र मासु पलाएर सास फेर्न गारो भएपछि उपचारका लागि नेपालगञ्ज जान रारा विमान स्थल आएको ८ दिन भयो। गाउँपालिकाले २० दिनलाई मात्र बिदा दिएको छ। पाँच दिन रारा विमान स्थलमा सकिसकेको छ। जहाजको पर्खाइमा बस्दा बस्दै उपचार गर्न नपाई सबै बिदा यतै सकिने चिन्ता लागेको बुढाले दुखेसो व्यक्त गर्नुभयो। 

दिउँसो १२ बजे भन्दा पछि .उडान भर्न रोक गर्ने नागरिक उड्डयनको निर्णय हुनुभन्दा पहिला रारा विमान स्थलमा नेपालगंजबाट सिता, समिट, तारा एयरलाइन्सले दैनिक दुईदेखि ३ तीन उडान भर्दै आएका थिए।  नेपाल एयरलाइन्सले हप्तामा दुई दिन उडान गर्ने गरेको थियो  ८ दिनदेखि रारा विमान स्थलमा कुनै जहाजले उडान भर्न सकेका छैनन्।  रारा विमान स्थलको मौसम १२ बजे पछि खुल्ला हुने गर्छ।  प्राधिकरणको निर्णयले १२ : ३० भित्र  जहाज उडिसक्नु पर्ने हुन्छ।  तर रारा विमान स्थलको लागी यो निर्णय उपयुक्त नभएको  रारा नागरिक उड्डयन कार्यालय ताल्चाका प्रमुख रोमान भट्टराईले भन्नुभयो।

लामो समय जहाज उडान नहुँदा  सडक यातायात मार्फत आफ्नो गन्तव्यमा पुग्ने भए पनि  बर्सातको समय पहिरोले ठाउँ–ठाउँमा सडक अवरुद्ध हुने भएका कारणले सबै जना जहाजको पर्खाइमा हुन्छन्। कुनै बिरामीलाई तत्कालै उद्धार गरेर हेलिकोप्टर वा जहाजबाट  सुविधा सम्पन्न स्थान लैजानु पर्ने हुन्छ। यो निर्णयले सर्वसाधरण मर्कामा परेको छाँयानाथ रारा—१० का दिर्ग बुढाले बताउनु भयो। रारा विमान स्थल लगायत अन्य विमान स्थलका लागि गरिएको  यो निर्णयलाई संशोधन गर्न माग गदै संघीय पर्यटन मन्त्रिलाई ज्ञापन पत्रसहित सुझाव दिएको र प्रधानमन्त्री समेत यो विषयमा छलफल गर्नका लागि प्रयास गरिरहेको पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्णा रोकायाले जानकारी गराउनु भयो।

कर्णाली राजमार्ग नाम मात्रको राजमार्ग छ, यो सडकमा सडक मापदण्डका कुनै संरचनाहरू छैनन्। वर्षाको समयमा कर्णाली राजमार्ग कति जोखिम छ भनेर साध्य छैन। यो राजमार्गमा हत्केलामा ज्यानको बाजी राखेर यात्रा गर्नु पर्छ। विश्वमा ९९ प्रतिशत यात्रा सुरक्षाको ग्यारेन्टी रहेको हवाई उडानमा यात्रा गर्न सबै यात्रु चाहन्छन् तर रारा विमान स्थलसहित ३० विमान स्थलमा मौसमको कारण देखाउँदै सम्भावित दुर्घटनाबाट जोगाउन भन्दै प्राधिकरणले गरेको निर्णयले दुर्गमका जनता झन् पीडामा परेका छन्।

एयरपोर्टमा दिउँसो उडान हुँदा बिहानै घरबाट हिँडेर विमानस्थलसम्म पुग्ने गरेका ग्रामीण क्षेत्रका मानिसहरूलाई प्राधिकरणको निर्णयले खर्चसमेत बढाएको छ। बिहानै उडान हुने भएपछि अघिल्लो दिन मै बजारमा आएर बस्नुपर्ने बाध्यता छ, नेपाल पत्रकार महासङ्घका अध्यक्ष नृपेन्द्रबहादुर मल्ल बताउनुभयो। हवाई जहाजलाई मात्र होइन प्राधिकरणको निर्णय हेलिकप्टरलाई समेत लागू हुने भएकाले दिउसो १२ बजेपछि हुने घटना,दुर्घटना र विपद्मा परेका नागरिकलाई समेत हेलिकप्टरबाट उद्धार गर्न पाईने छैन।  

- साभार 


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.