हिरासतमै बलात्कार, तर अझै दर्ता भएन उजुरी

फलोअफ...

हिरासतमै बलात्कार, तर अझै दर्ता भएन उजुरी
सांकेतिक तस्बिर।
सुन्नुहोस्

परीक्षणका क्रममा हिरासतमै रहेका बेला प्रहरीले बलात्कार गरेको भनी दिएको बयान गोप्य

राजविराज : ‘इलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहँदा बलात्कार भयो।’ यो विषय राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) को रेकर्डमा उल्लेख छ। रेकर्डमा थप लेखिएको छ, ‘दुई प्रहरीमध्ये एक प्रहरीले राति दुई पटक बोलाई कोठाभित्र लगी करणी गरे।’

करणी गरेपछि प्रहरीले यो कुरा भनिस् भने जेलमा २० वर्ष थुनाइदिन्छु भनेकाले डर मानी महिलाले कसैसित सेयर गरिनन्। उक्त कुरा हिरासतमा बलात्कार भएको बताएकी महिलाले बन्द पर्खालबाट बाहिर आएपछि निकै हिम्मत जुटाएर भनेकी थिइन्। डर, त्रास, आशाका बीच ओसीएमसी केन्द्रमा पीडित महिलाले एकान्तमा साहस जुटाएर वैशाख १२ गते बोलेको कुरा शुक्रबार मात्र सार्वजनिक भयो। 

अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित ‘प्रहरी हिरासतमै बलात्कार’ शीर्षकको समाचारमा महिलाले बताएको उक्त कुरा पहिलो पटक छापिएको थियो। पीडित महिलाको आवाज ओसीएमसीले सम्बन्धित निकायमा नपुर्‍याएपछि बिहीबार मात्र पीडितले परिवारका सदस्य र कानुन व्यवसायीको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएकी छिन्।   

लैंगिक हिंसापीडितलाई आवश्यक सबै सेवाहरू एकद्वार प्रणालीबाट चाँडो उपलब्ध गराउने मुख्य उद्देश्यसहित सरकारले राजविराजसहित देशभरिका ८८ अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) कार्यक्रम सञ्चालन गरेको छ। 

लैंगिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नुको साटो राजविराजको ओसीएमसी भने प्रहरी र प्रशासनको छायाँमात्र बनेको देखिएको छ। पेट दुखेर ओसीएमसी आएकी पीडित महिलाले वैशाख १२ गते स्वास्थ्य परीक्षणका क्रममा हिरासतमै रहेका बेला प्रहरीले बलात्कार गरेको भनी दिएको बयानलाई गोप्य राखेको देखिएको छ। ओसीएमसीकी फोकल पर्सन मनिषा सिम्खडाले प्रहरीकै विरुद्धको घटना हो भनेर ध्यान नपुगेको बताएकी छिन्। 

ओसीएमसीले हिंसा पीडितको स्वास्थ्य उपचार र परीक्षण मात्र नभई मनोसामाजिक परामर्श, कानुनी सेवा, सुरक्षा, आश्रय, कानुनी उपचार र पुनस्र्थापनाजस्ता काम निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ। मानसिक समस्या र हिंसामा परेका हिंसा पीडितहरूलाई विशेष उपचार र कानुनी सेवाको खाँचो पर्ने भएकोले विशेष प्राथमिकता दिनुपर्ने अधिकारकर्मी श्याम साहको भनाइ छ।

बिहीबार जिल्ला प्रहरी कार्यालयमा ३५ वर्षीया महिलाले इलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा कार्यालय प्रमुख डीएसपी दीपक कुमार रायले बलात्कार गरेको भन्दै दिएको उजुरी हालसम्म दर्ता भएको छैन। यस सम्बन्धमा अनुसन्धान गरेर मात्र दर्ता गरिने प्रहरी कार्यालयले जनाएको छ। काठमाडौंमा तालिममा रहेका आरोपित डीएसपी रायले आरोप निराधार रहेको बताएका छन्।

महिलाले भने घटनाका बारे कसैलाई भनेमा थुनामा सडाउने र कसैलाई नभनेमा अभियोगबाट छुटाई नोकरीसमेत लगाइदिने भनेर अनुचित प्रभावमा पारेको बताएकी छिन्।  

 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.