रुकुमको मुसिकोट नगर उपप्रमुखद्वारा कर्मचारीमाथि हातपात
वीरेन्द्रनगर : रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनले आफ्नै नगरका शिक्षा शाखाका निमित्त प्रमुखमाथि हातपात गरेका छन्।
मुसिकोट नगरपालिका-१ को त्रिभुवन जनता माध्यमिक विद्यालयमा करार शिक्षक पदपूर्तिको परीक्षा सञ्चालनका क्रममा आफूमाथि हातपात भएको गाउँपालिका शिक्षा शाखाका निमित्त प्रमुख नरेन्द्र ओली बताए।
त्रिभुवन माविले लेखा विषयमा करार शिक्षक माग गरेर शनिबार परीक्षा तोकेको थियो। त्यसैअनुसार परीक्षा सञ्चालनको तयारी गरिरहेका बेला उपप्रमुख पुन कार्यकक्षमा पसेर ओलीमाथि हातपात गरेको त्रिभुवन माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र केसीले बताए। उनले भने, 'पूर्वनिर्धारित कार्यक्रमअनुसार हामी परीक्षा सञ्चालनको तयारीका भएका बेला उपप्रमुख आउनुभयो र बिना जानकारी किन गरेको भनेर हातपात गर्नुभयो।'
घटनापछि हाललाई परीक्षा स्थगित गरिएको जनाउँदै अध्यक्ष केसीले विद्यालयमा शिक्षक भर्ना गर्नका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षतामा नगरपालिकाको शिक्षा शाखा प्रमुख, नगरपालिकाले ताकेको विषय विज्ञ र सम्बन्धित विद्यालयका प्रधानाध्यापक सदस्य रहेको ४ सदस्यीय शिक्षक छनोट समिति हुने प्रावधान अनुरूप अघि बढेको बताए।
'उपप्रमुखलाई जानकारी किन भएन भन्ने कुरा त्यो उहाँको कुरा हो। हामी सबै विधि प्रक्रिया पूरा गरेरै परीक्षा गर्ने तयारीमा थियौं। तर उहाँ त भौतिक आक्रमणमै उत्रिनुभयो', विद्यालय व्यवस्थापन समिति अध्यक्ष केसीले भने।
आफ्नो कुनै गल्ती भएको भए कानुनतः सजाय भोग्न आफू तयार रहेको तर यस प्रकारको आक्रमण भने नसहने निमित्त शिक्षा अधिकृत ओलीले बताए। आफूले कानुनी उपचार खोज्ने पनि उनले बताए। उपप्रमुख विमलकुमार पुनले भने टेलिफोन गर्दा उठाएनन्।
यस विषयमा मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले आफ्नै कार्यकक्षमा कर्मचारीमाथि उपप्रमुखबाट हातपात भएको बताए। परीक्षा निष्पक्ष र मर्यादित बनाउने गरेर तयारी भइरहेको बेला उपप्रमुखबाट दुर्व्यवहार भएको उनको भनाइ छ।
आजै हुने भनिएको शिक्षक पदपूर्तिको परीक्षा स्थगित भएको छ। त्रिभुवन जनता उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले शिक्षक पदपूर्तिको लागि तोकिएको परीक्षा स्थगित गरिएको बताए।
विद्यालयको उच्च माध्यमिक तह कार्यालय सञ्चालन तथा लेखामा पदपूर्तिका लागि लिखित तथा मौखिक परीक्षा सञ्चालनको पूर्वतयारीका क्रममा विवाद भएपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।