कालिकोटको लुसाको भीरमा खसेका धनिरामको हत्या भएको खुलासा
वीरेन्द्रनगर : कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका-१ लुसाका ५५ वर्षीय धनिराम जैसीको २०७७ भदौ २८ गते निधन भयो। उनी गाउँ नजिकैको भीरबाट लडेर मृत्यु भएको भन्दै परिवारले उनको दाहसंस्कार गरे।
घरबाट जिते बजार जान्छु भनेका धनिराम घर फर्किन पाएनन्। स्थानीय जिते बजारतर्फ गइरहेका बेला भीरबाट लडेर मृत्यु भएको भनिएका जैसीको तीन वर्षपछि धनिराम लडेर नभई उनकै ज्वाइँ दानबहादुर शाहीले मान्छे लगाएर मारेको खुलासा भएको हो।
ज्वाइँ शाहीले श्रीमतिसँगको विवादमा आफै ससुरा मारेको स्वीकार गरेपछि घटनाको तथ्य बाहिरिएको हो। मृतक जैसीका छोरी गीतासँग सम्बन्ध राखेकै कारणले शाही र जैसी परिवारबीच विवाद हुँदै आएको थियो। दैलेख जिल्ला भगवतीमाई गाउँपालिका-५ कट्टीका स्थानीय दानबहादुर शाहीले गीतासँग अवैध सम्बन्ध राखेर एक छोरासमेत जन्माएका थिए।
उनी कालीकोट सदरमुकाम मान्म इलेक्ट्रोनिक व्यापार गरेर बस्दै आएका छन्। ३ वर्ष अगाडि माइती पक्षले आफ्नो छोरीको जिम्मा लिन दबाब दिएका थिए। शाहीले गर्भ बसिसकेकाले कान्छी श्रीमतीका रूपमा स्वीकार पनि गरेका थिए। छोरा जन्मेसँगै शाहीले कान्छी श्रीमतीलाई हिंसा गर्दै आए।
छोरीलाई हिंसा गरेको माइती पक्षलाई मन परेन। गीताका माइती पक्षले हिंसा नगर्न र अति गरे कानुनी निकायमा पुग्ने चेतावनी दिए। तर उनले हिंसा गर्न नछोडेपछि गीताका माइती पक्षले दानबहादुर शाही (गीताका श्रीमान) विरुद्ध गीतालाई नै प्रहरीमा उजुरी गर्न लगाए। आफूलाई प्रहरीमा उजुरी गरेको र गीताले पनि अदालतमा अंशवण्डाको मुद्दा दर्ता गराएपछि उनका बुवाको मृत्युको कारण खुलेको हो।
एमाले कालीकोट पार्टी कार्यालय सचिवसमेत रहेका शाहीले आफ्नो कान्छी श्रीमतीलाई म्यासेन्जरमार्फत सन्देश पठाउँदै अदालतबाट मुद्दा फिर्ता नलिए हत्या गर्ने धम्की समेत दिएका छन्। शाहीले गीता जैसीलाई लेखेको म्यासेजमा तेरो बुवाको हत्या पनि आफूले गाउँकै केटा लगाएर भीरबाट धकेलेर गरेको र तेरो हालत पनि त्यस्तै बनाइदिने भनेर धम्की दिएका छन्।
उनले धेरै पटक लेखेको म्यासेजमा वकिल, न्यायाधीशलाई किनेको, पैसा भएमा सबै थोक हुने भन्दै तेरो अर्थात् आफ्नै कान्छी श्रीमती र उसबाट जन्मेको छोराको हालत पनि त्यही बनाइदिने भनेका छन्। उनले आफैले जन्माएको छोरालाई पनि मारिदिने धम्की दिएका छन्।
म्यासेन्जरमा लेखेको चेतावनीमा कान्छी श्रीमतीलाई तेरो छोरालाई पनि मान्छे लगाएर मार्छु, ठकुरीको छोरा हो पछि हट्दैन। तेरो छोरा मारेपछि कसरी अंशवण्डा लिन्छेस् भन्दै गाली गरेको देखिन्छ। गीतालाई मुद्दा फिर्ता गर्न चेतावनी दिएको प्रमाणसहित शाहीविरुद्ध प्रहरीमा उजुरी दिएकी छन्।
आरोपित शाही विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी जयस्वर रिमालले आरोपित दानबहादुर शाहीका विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा आएको र आरोपित शाहीलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान थालिएको जानकारी दिए।