छोरीलाई सित्तैमा लगाइदिनुस् एचपीभी खोप

छोरीलाई सित्तैमा लगाइदिनुस् एचपीभी खोप
सुन्नुहोस्

काठमाडौं : छोरीहरू १४ वर्ष पुगिसकेका छन् र १५ वर्ष नाघिसकेका छैनन् भने ख्याल गर्नुहोस्, पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने बेला भयो। पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरसको छोटकरी रूप नै एचपीभी हो।

एचपीभी खोप लगाउन जाँदा उमेर खुल्ने  प्रमाणपत्र लैजानु पर्नेछ। यो खोप मुलुकको सातै प्रदेशका विभिन्न अस्पतालबाट दिन लागिएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री  मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीबाट खोप कार्यक्रमको शुभारम्भ गर्दै छन्। स्त्री क्यान्सर रोग विशेषज्ञहरूका अनुसार नेपाली महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी पाइएको छ। विभिन्न क्यान्सरमध्ये यो विश्वमै चौथो प्रमुख क्यान्सर हो। ९५ प्रतिशतभन्दा बढी पाठेघरको मुखको क्यान्सर एचपीभी भाइरसले हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ। 

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार योपटक लक्षित समूहभित्र पर्ने १० हजार किशोरीलाई खोप लगाइँदै छ। लक्षित समूहका किशोरीका रूपमा २०६५ साल भदौ २६ गतेदेखि २०६६ साल भदौ २७ गतेसम्म जन्मिएका बालिकाहरूलाई मात्र समेटिएको छ। सातवटै प्रदेशका एक÷एकवटा अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो। कोसी प्रदेशमा विराटनगरको कोसी अस्पताल र मधेस प्रदेशमा वीरगन्जको नारायणी अस्पतालमा खोप सेवा सञ्चालन हुनेछ। यस्तै बागमती प्रदेशमा थापाथलीको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनी प्रदेशमा नेपालगन्जको भेरी अस्पतालमा यो खोप सेवा उपलब्ध हुनेछ। यस्तै कर्णाली प्रदेशमा वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल र सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा अस्पतालबाट खोप सेवा प्रदान गरिने जनाइएको छ। 

हाल यो खोप सीमित परिमाणमा मात्र उपलब्ध भएकाले तोकिएका सातवटा अस्पतालबाट मात्रै  किशोरीलाई दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ६ महिनाको फरकमा दुई मात्रा  खोप लगाउनुपर्नेछ। परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार सरकारले गत असारमा चीनबाट २० हजार मात्रा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप खरिद गरेको थियो। झन्डै ९ करोड मूल्य बराबरको खोप ल्याइएको हो। २० हजार भाइलमध्ये दुई मात्रा एउटै व्यक्तिलाई दिनुपर्ने डा. गौतमले जानकारी दिए। 

घोषणा छ, पहुँच छैन 

सरकारले आर्थिक वर्ष २०७९-०८० को वार्षिक बजेटमै पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप कार्यक्रम सुरुवात गर्ने घोषणा गरेको थियो। तर, बजेट घोषणामै सीमित भयो। आर्थिक वर्ष २०८०-०८१ को बजेटमा पनि पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिका लक्षित एचपीभी खोप कार्यक्रमलाई विस्तार गरिने प्रतिबद्धता व्यक्त गरिएको  छ। क्यान्सर रोग विशेषज्ञहरू बजेटमा गरिएको घोषणा कार्यान्वयन हुनुपर्नेमा जोड दिन्छन्। 
 
सरकारले सन् २०१६-२०१७ मा चितवन र कास्कीमा ११ देखि १३ वर्षसम्मका किशोरीमा एचपीभी खोप परीक्षण गरेको थियो। त्यसको ६ वर्षपछि पुनः केही लक्षित किशोरीहरूलाई खोप दिन लागिएको हो। वरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरे सरकारले बेला–बेलामा केही सीमित किशोरीहरूलाई खोप उपलब्ध गराएको भए पनि खोप अभियानले निरन्तरता पाउनुपर्नेमा जोड दिन्छिन्। ‘एचपीभी खोपमा सबै किशोरी र महिलाको स्क्रिनिङमा पहुँच भए मात्र पाठेघरको मुखको क्यान्सर उन्मुलननजिक पुग्न सकिन्छ’, डा. घिमिरेले भन्छिन्। 

नेपाल क्यान्सर केयर फाउन्डेसनकी महासचिवसमेत रहेकी डा. घिमिरे सबै किशोरीहरूमा खोपको पहुँच नभएसम्म नेपालबाट पाठेघरको मुखको क्यान्सर उन्मूलन हुन नसक्ने बताउँछिन्। ‘पटक–पटक सीमित किशोरीलाई एचपीभी खोप दिएर मात्रै पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्न सकिँदैन’, उनले भनिन्। 

सबै किशोरीलाई पुग्ने गरी आगामी वर्षको अन्तिमसम्म अन्तर्राष्ट्रिय खोप अभियान संस्था गाभीमार्फत खोप आउने निश्चित भएको डा. गौतमले जानकारी दिए। ‘आगामी वर्ष सबै किशोरीहरूलाई पुग्ने गरी खोप आइपुग्ने छ’, उनले भने। यो खोप १० देखि १४ वर्षभित्रका किशोरीहरूले लिन सक्ने स्वास्थ्य सेवा विभागले जनाइएको छ। 

भक्तपुर क्यान्सर अस्पतालकी वरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ डा. एलिजा श्रेष्ठका अनुसार विशेषगरी सानो उमेरमा यौनसम्पर्क तथा भाइरसको संक्रमण नै पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण मानिएको छ। ‘कलिलो उमेरमा विवाह भएका, बढी पुरुषसँग यौन सम्बन्ध राख्ने र बढी सन्तान जन्माएका महिलामा पाठेघरको मुखको क्यान्सर बढी देखिएको छ’, डा. श्रेष्ठले भनिन्, ‘अहिलेका किशोरीहरूलाई समयमै एचपीभी खोप लगाइदिँदा पछि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना रहँदैन।’ पाठेघरको मुखको क्यान्सरबाट ९० प्रतिशत मृत्यु न्यून तथा मध्यम आय भएका मुलुकमा हुने गरेको छ।यस्ता मुलुकका बिरामीको  पाठेघरको मुखको क्यान्सरको पहिचान निकै ढिलो हुने गरेको छ। अहिले नेपाललगायत विश्वका एक सयभन्दा बढी मुलुकमा एचपीभी खोप उपलब्ध छ। डब्लूएचओले सन् २०३० सम्म ९० प्रतिशतलाई खोप दिलाएर आगामी शताब्दीसम्ममा पाठेघरको मुखको क्यान्सरलाई   उन्मूलन गर्ने घोषणा गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.