शिक्षक हत्यामा बुबा-छोरी दोषी, वडाअध्यक्षसहितलाई सफाई

शिक्षक हत्यामा बुबा-छोरी दोषी, वडाअध्यक्षसहितलाई सफाई
सुन्नुहोस्

राजविराज : केटी साथी भेट्न गएका बेला हत्या गरिएको घटनामा बुबा-छोरी दोषी ठहर भएका छन्। सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशले राजविराज नगरपालिका-७ की २५ वर्षीया सन्तोषीकुमारी यादव र उनका बुबा ५० वर्षीय बिन्दु भनिने वीन्देश्वर यादवलाई जनही ३ वर्ष कैद सजाय गरेको छ। 

आरोपितहरूले पीडित पक्षलाई एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला पनि भएको अदालतले जनाएको छ। उनीहरूले जनही ३० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने र एक हजार दुई सय रूपैयाँ फौजदारी कसूर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने भएको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले बताए।

राजविराज नगरपालिका-२ स्थित पिस जोन मोडेल स्कुलका शिक्षक सप्तरीको तिरहुत गाउँपालिका-२ पिपराही गोइठीका २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको ०७६ असार ११ गते हत्या भएको थियो। राजविराज-७ खर्साल टोलमा २०७६ असार ९ गते राति आठ जनाको समूहले गरेको कुटपिटबाट मृत्यु भएको भन्दै पीडितका बुबा उपेन्द्रप्रसाद यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। कुटपिटबाट गम्भीर घाइते बिराजीको राजविराजमा उपचार हुने नसकेपछि नोबेल अस्पताल विराटनगरमा उपचार गराउने क्रममा मृत्यु भएको थियो। आरोपितहरूविरुद्धको उजुरी ०७६ असार १२ गते दर्ता भएपछि सबै आरोपित फरार भएका थिए। 

विद्यालयको शिक्षकका साथै होस्टलका बार्डेनसमेत रहेका बिराजीलाई केटी साथी भेटन पुगेका बेला स्थानीय युवाहरुको समूहले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्। गाउँटोलकी युवतीसँग प्रेम गर्ने गरेको र राति भेट्न आएको मौकामा फेला पारी युवाहरूले कुटपिट गरेको आरोप लागेको थियो। मध्यरातमा केटीको घर अगाडि आएर फोन गर्न थालेपछि स्थानीय युवाहरूले पिछा गरेका थिए। लगातार फोन गरेको देखेपछि फोन खोस्न खोज्दा विवाद भएर कुटपिट हुँदा बिराजीको मृत्यु हुन पुगेको आरोपपत्रमा छ।

आरोपपत्रमा विराजी राति करिब १२ बजे होस्टलबाट निक्लिएर पैदल हिंडेर तीन किलोमिटरको दूरीमा रहेको खर्साल टोल पुगेका थिए। राति ओहोरदोहोर गरेको देखेपछि केही युवाले सोधपुछ गर्दै मोबाइल खोस्न थालेपछि विवाद भएको थियो। विवादपछि भागेका विराजीलाई चोर भनेर हल्ला गर्दै लखेटेर कुटपिट गरिएको स्थानीयबासीले बताए। बेहोस अवस्थामा फेला परेका बिराजीबारे गाउँमै भएको भोज खाएर घर फर्किरहेका स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले उद्धार गरेर राजविराजस्थित अस्पताल ल्याएको थियो।

उक्त घटनामा राजविराज-७ खर्साल टोलका ३५ वर्षीय श्रवणकुमार महतो ०७७ चैत ५ गते सुनसरीको धरान उपमहानगरपालिका-८ स्थित तीनकुनेबाट पक्राउ परेका थिए। सप्तरी जिल्ला अदालतमा ०७७ चैत २९ गते अभियोगपत्र दायर भएकोमा उनी चैत ३० गते दुई लाख रुपियाँ धरौटी राखी पुर्पक्षका लागि रिहा भएका थिए। 

त्यस्तै सोही ठाउँका ४० वर्षीय टुनटुन भनिने सुभाषचन्द्र यादव ०७८ जेठ ४ गते पक्राउ परेकोमा जेठ १० गतेको आदेशले तीन लाख रुपियाँ धरौटी राखी रिहा भएका थिए। सुभाष २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा राजविराज नगरपालिका ६ बाट वडा अध्यक्ष छन्।

अन्य आरोपितहरु ०७८ माघ १२ गते, ०७८ फागुन ४ गते र ०७९ मंसिर १५ गते अदालतमा हाजिर भई धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए। कर्तव्य ज्यान मुद्दाका आरोपितहरु वडा अध्यक्ष सुभाष, श्रवणसहित सोही टोलका ३१ वर्षीय प्रेम भनिने योगेशकुमार देव, ३० वर्षीय कमलु भनिने कमलदेब यादव, २७ वर्षीय शशी आनन्द देव र २३ वर्षीय प्रमोदकुमार यादवले अभियोग दावीबाट सफाइ पाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.