शोकमा देश

शोकमा देश
संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्बाङको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली ।

काठमाडौं : संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको निधनले मुलुक नै शोकमा परेको छ। सालिन, भद्र, इमान्दार र निष्ठावान नेताको परिचय बनाएका नेम्बाङको मंगलबार बिहान निधन भएको हो।

उनकै समन्वयकारी भूमिकाकै कारण मुलुकमा संविधान जारी भएको थियो। कसैका आँखामा पनि नबिझाउने छवि बनाएका नेम्बाङ विभिन्न राजनीतिक दल र पक्षसँग समन्वय गर्न विशिष्ट क्षमता राख्थे। अत्यन्त जटिल परिस्थितिलाई पनि सहज तुल्याउँदै समस्याको निकास निकाल्ने उनको अद्भूत क्षमता थियो। 

उनका यिनै भूमिका र योगदानको उच्च कदर गर्दै नेपाल सरकारले राजकीय सम्मान दिने भएको छ। उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान निर्माणका क्रममा नेम्बाङले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिइन्। मन्त्री शर्माका अनुसार अन्त्येष्टि हुने दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णयसमेत गरेको छ। 

शीर्ष नेता एमाले मुख्यालयमा 

नेम्बाङप्रति श्रद्धाञ्जलि अर्पण गर्न शीर्ष नेताहरू मंगलबार एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका थिए।  त्रिवि शिक्षण अस्पतालबाट उनको पार्थिव शरीर पार्टी मुख्यालय ल्याइएको थियो।

पार्टी मुख्यालयमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायतका नेताहरूले नेम्बाङप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्बाङको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए। 

पूर्वराष्ट्रपति भावविह्वल 

श्रद्धाञ्जलि अर्पण गर्न एमाले मुख्यालय पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भावविह्वल बनेकी थिइन्। नेम्बाङको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउने क्रमा उनी भावविह्वल बनेकी हुन्। एमाले अध्यक्ष ओलीलगायत नेताहरूसँगै पुगेकी भण्डारीको आँखाबाट आँसु बगेको थियो। नयाँ संविधानमा महिलालाई राज्यका हरेक निकायमा ३३ प्रतिशत प्रतिनिधित्व गराउने भण्डारीको प्रस्ताव नेम्बाङमै पहलमा पारित भएको थियो।  

कांग्रेस महामन्त्री गगन थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरूसँगै पार्टी कार्यकर्ता, शुभेच्छुक र व्यवसायीहरू नेम्बाङप्रति श्रद्धाञ्जलि अर्पण गर्न एमाले केन्द्रीय कार्यालय पुगेका थिए।

सोमबार राति बालुवाटारस्थित निवासमा बेहोस भएका नेम्बाङलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो। चिकित्सकले जीवनसम्बन्धी कुनै चाल नदेखिएपछि मृत घोषणा गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. सन्तकुमार दासले जानकारी दिए। मंगलबार बिहान ११ बजेसम्म नेम्बाङको पार्थिव शरीर अस्पतालमै राखिएको थियो। 

मन्त्रिपरिषद्को निर्णयपछि शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको थियो। त्यसपछि श्रद्धाञ्जलिका लागि एमाले केन्द्रीय कार्यालय लगिएको थियो। बुधबार ११ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तय गरिएको एमाले केन्द्रीय प्रचार तथा प्रशारण विभागका सचिव गगन विष्टले जानकारी दिए। उनका अनुसार  बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा नेम्बाङको अन्त्येष्टि गरिने छ। 

कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति  : एमाले

नेकपा एमालेले पार्टी उपाध्यक्ष नेम्बाङको निधनबाट नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको जनाएको छ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय सचिवालयको आकस्मिक बैठकले नेम्बाङले पार्टी, कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दैै विशेष शोक प्रस्ताव पारित गरेको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ज्ञवालीका अनुसार उपाध्यक्ष नेम्बाङको निधनमा तीन दिन शोक मनाउने निर्णय पार्टीले गरेको छ। ज्ञवालीका अनुसार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालय तथा इलाम–२ मा शोक पुस्तिका राखिने छ। उनले पार्टी र पार्टी सम्बद्ध जनसंगठनका औपचारिक कार्यक्रम तीन दिनसम्म स्थगित गरिएको  बताए। 

  •     नेम्बाङकै समन्वयकारी भूमिकाका कारण संविधान बनेको थियो। 
  •     राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने 
  •     अन्त्येष्टिका दिन सार्वजनिक बिदा

राष्ट्रपति पौडेल मर्माहत

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको अप्रत्यासित निधनबाट आफू मर्माहत भएको बताएका छन्। पौडेलले नेम्बाङप्रति श्रद्धाञ्जलि प्रकट गर्दै परिवार र गणतन्त्र पक्षधरप्रति समवेदना प्रकट गरेका हुन्।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्बाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएको छ’, राष्ट्रपति कार्यालयको ट्वीटमा लेखिएको छ, ‘दु : खको यस घडीमा नेम्बाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै परिवार, गणतन्त्र पक्षधर र पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ।’ राष्ट्रपतिको निर्वाचनमा नेम्बाङ र पौडेलबीच प्रतिस्पर्धा भएको थियो। 

प्रधानमन्त्री दुखी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि एमाले उपाध्यक्ष सुवास नेम्बाङको निधनप्रति दु : ख व्यक्त गरेका छन्। उनले संविधानसभा अध्यक्ष नेम्बाङको निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका हुन्। ‘संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख कमरेड सुवास नेम्बाङको असामयिक निधनको खबरले मर्माहत भएको छु। दिवंगत कमरेड नेम्बाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु’, प्रधानमन्त्री दाहालले भनेका छन्। 

कांग्रेसका सभापति स्तब्ध

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेम्बाङको निधनबाट स्तब्ध भएको बताएका छन्। देउवाले ट्वीट गर्दै संविधानसभा अध्यक्ष नेम्बाङको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्बाङजीको निधनले स्तब्ध भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, उनले भनेका छन्।

संविधान निर्माणमा पुर्‍याएको योगदान सम्झिरहने छौं  :  केपी ओली 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्बाङले पुर्‍याएको योगदान सधैं सम्झिरहने बताएका छन्। ओलीले नेम्बाङ पार्टीको उपाध्यक्ष मात्रै नभएर हितैषी मित्र र सुख–दु : खको साथीसमेत भएको  बताए। ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख–दु : खको साथी पनि हुनुहुन्थ्यो।

लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनु भएको योगदान सधैं सम्झिरहने छौं’, पूर्वप्रधानमन्त्री ओलीले फेसबुक स्टाटसमा भनेका छन्, ‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्बाङप्रति भावपूर्ण श्रद्धाञ्जलि ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जलि सुवासजी !’

पूर्वराष्ट्रपति स्तब्ध

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताएकी छन्। पूर्वराष्ट्रपति भण्डारीले नेम्बाङलाई मृदुभाषी, शालीन, समन्वकारी व्यक्तित्वका रूपमा स्मरण गरेकी छन्। एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्बाङको निधनले सिंगो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन्। ‘म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु। यस दु : खद् घडीमा शोकाकुल परिवारजन र पार्टीप्रति गहिरो समवेदना व्यक्त गर्दछु’, उनले भनेकी छन्।

संसद्ले अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो : सभामुख 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधनले संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका छन्। उनले प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको बताएका हुन्।

‘संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको अप्रत्यासित निधनले मर्माहित भएको छु’, सभामुख घिमिरेले भनेका छन्, ‘उहाँको निधनले नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ। प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको छ। दु : खको यस घडीमा नेम्बाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’

राष्ट्रले सिद्धान्तनिष्ठ नेता गुमायो  :  राष्ट्रियसभाका अध्यक्ष 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेम्बाङको निधनले आफू मर्माहत भएको बताएका छन्। उनले नेम्बाङको निधनप्रति दु : ख व्यक्त गर्दै संसद्ले एक अनुभवी, असल र राष्ट्रले एक सिद्धान्तनिष्ठ, देशभक्त र इमान्दार नेता गुमाएको बताएका हुन्। ‘२०६२–६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसद्मा सभामुख र  पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षका रूपमा उहाँले खेलेको नेतृत्वदायी भूमिकाको मुलुकले सधैं स्मरण गरिरहने छ’, उनले जारी गरेको शोक वक्तव्यमा भनिएको छ, ‘नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उहाँको महत्वपूर्ण भूमिका छ।’

अध्यक्ष तिमिल्सिनाले नेता नेम्बाङको सुझबुझपूर्ण ढंगले सबै पक्षसँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर विवाद निरुपण गर्ने शैली सबैका लागि अनुशरणयोग्य रहेको बताए। 

सहमति र समझदारीका हिमायती  :  माधवकुमार नेपाल 

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेम्बाङलाई नेपाली राजनीतिका सहमति र समझदारीको हिमायतीका रूपमा चित्रण गरेका छन्। अध्यक्ष नेपालले उनले संविधान निर्माणमा मात्रै नभई सबै राजनीतिक दलहरूबीच सहमति र सहकार्यको माध्यमबाट मुलुकमा राजनीतिक परिवर्तनको हरेक मोडमा नेतृत्वदायी भूमिका निर्वाह गरेकोसमेत उल्लेख गरेका छन्।

अध्यक्ष नेपालले उनको निधनबाट नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र परिवर्तनले आन्दोलनले अपूरणीय क्षति बेहोर्नुपरेको बताएका छन्।

आँखामा राखे पनि नबिझाउने नेता  :  डा. बाबुराम भट्टराई 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुवास नेम्बाङको निधनबाट स्तब्ध र मर्माहत भएको बताएका छन्। भट्टराईले ट्वीटमार्फत संविधानसभा अध्यक्ष नेम्बाङको निधनले देशले ठूलो क्षति बेहोरेको बताएका हुन्।  उनले भने, ‘आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्बाङको निधनमा देशले ठूलो क्षति बेहोरेको छ। मैले आत्मीयमित्र गुमाएको छु।’ उनले नेम्बाङको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन र पार्टी पंक्तिमा समवेदना व्यक्त गरेका छन्। 

नेम्बाङको भूमिका इतिहासमा अमर रहने  : रास्वपा 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  नेम्बाङको निधनमा शोक व्यक्त गरेको छ। उसले  लोकतान्त्रिक आन्दोलनमा नेम्बाङले निभाएको भूमिका नेपाली इतिहासमा सदैव अमर रहने जनाएको छ।

रास्वपाद्वारा विज्ञप्तिमा भनिएको छ, ‘पूर्वसभामुखसमेत रहनुभएका नेम्बाङले नेपालमा भएका लोकतान्त्रिक आन्दोलनमा निभाउनुभएको भूमिका नेपाली इतिहासमा सदैव अमर रहने छ।’ पार्टी महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ति जारी गर्दै नेम्बाङप्रति शोक व्यक्त गरेको हो।  

देशले सच्चा नेता गुमायो  :  डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समन्वयकारी भूमिकामा नेम्बाङजस्तो अर्को नेता नभेटेको बताएका छन्। संविधान जारी गर्दा नेम्बाङले खेलेको भूमिका अत्यन्तै सराहनीय रहेको बताउँदै उनले नेम्बाङको प्रशंसा गरे।  डा. कोइरालाले देशले एउटा असल नेता गुमाउनुपर्दा निकै ठूलो क्षति भएको बताए।

नेम्बाङको दृढताले संविधान बन्यो  :  गगन थापा 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानसभा अध्यक्ष नेम्बाङको दृढताका कारण संविधान बनेको  बताएका छन्। नेम्बाङले त्यसबेलाको बाह्य दबाबलाई थेग्दै संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थापाले स्मरण गरे। ‘०६२/०६३ को आन्दोलनपछि नेम्बाङले राजनीतिक दलका नेताहरूसँग सम्वाद गरेर काम  गर्नुभयो र  उहाँ साझा व्यक्तिका रुपमा स्थापित हुनुभयो’, थापाले भने। 

सिद्धान्त निष्ठ नेता  :  चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सुवास नेम्बाङ सिद्धान्तनिष्ठ नेता भएको बताएका छन्। ‘जो सिद्धान्तनिष्ठ हुन्छ। उसको मृत्यु एकैपटक हुन्छ। धेरै मान्छेको धेरै पटक मृत्यु किन हुन्छ भने राजनीतिक र सैद्धान्तिक रूपमा धेरैपटक चुक्छन्’, उनले भनेका छन्। नेम्बाङमा वास्तवमै सभामुख हुने क्षमता भएको बताउँदै  कानुनी, राजनीतिक र सैद्धान्तिक रूपमा पनि क्षमतावान भएको स्मरण केसीले गरेका छन्।

बहुआयमिक प्रतिभा 

नेम्बाङ बहुआयमिक प्रतिभाका धनी थिए। फुटबललगायतका खेलका सौखिन थिए। कलेज जीवनमा फुटबल टोलीका कप्तानसमेत रहेका उनी बहुआयामिक व्यक्तित्वका धनी थिए।

२००९ फागुन २८ गते रामबहादुर नेम्बाङ र अपिन्द्रकुमारी नेम्बाङको कोखबाट इलाम नगरपालिका–७ मा जन्मिएका नेम्बाङले नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा असाधारण योगदान पुर्‍याएका छन्। नेपालको संविधान निर्माण गर्ने ऐतिहासिक संविधानसभाको दुईपटक नेतृत्व गर्दै संविधान निर्माण गर्न अग्रणी भूमिका खेलेका उनको योगदान नेपालको इतिहासमा अमिट रूपमा स्थापित छ।

पुनस्र्थापित प्रतिनिधिसभा (२०६३)बाट अन्तरिम संविधान जारी भएपछि गठित व्यवस्थापिका संसद् (२०६३), संविधानसभाको निर्वाचनपछिको व्यवस्थापिका संसद् (२०६५) तथा २०७० गरेर चारपटक सभामुखको जिम्मेवारी अत्यन्त कुशलतापूर्वक बहन गरेका थिए। २०४८ र २०५२ सालमा दुई पटकसम्म राष्ट्रियसभा सदस्य भएका उनी २०५१ सालमा मनमोहन अधिकारी सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री भएका थिए। पछि सामान्य प्रशासनमन्त्रीसमेत भएका थिए। 

पाँचपटक सांसद 

२०५६ सालदेखि लगातार इलामबाट निर्वाचन जित्दै आएका नेम्बाङ २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा सांसद निर्वाचित भएका थिए। २०५६ सालमा प्रतिनिधिसभा सदस्यका रूपमा इलामबाट पहिलोपटक निर्वाचित भई सार्वजनिक लेखासमितिको सभापति भएका थिए। आदर्श स्कुल इलाममा पढ्दैदेखि वामपन्थी आन्दोलनको प्रभावमा परेका उनले त्रिचन्द्र कलेजबाट आईएस्सी उत्तीर्ण गरेका थिए।

महेन्द्ररत्न क्याम्पस, इलाममा स्नातक पढ्दै गर्दा स्ववियु सभापतिमा निर्वाचित भएका थिए। नेपाल ल क्याम्पसमा बीएल अध्ययन गर्दा सरकारविरुद्ध पर्चा छरेको आरोपमा राजकाज मुद्दामा सात महिनासम्म जेलजीवन बिताएका थिए। २०४६ सालको जनआन्दोलन, २०६२/६३ मा आन्दोलनलगायत विभिन्न आन्दोलनमा पटक–पटक हिरासतमा गरेका थिए ।

पार्टी राजनीतिमा सक्रिय 

२०३३ साल असार ३ गते जेलमै रहँदा उनले तत्कालीन अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन केन्द्रको पार्टी सदस्यता प्राप्त गरेका थिए। २०४९ सालमा पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय न्यायिक समितिको सदस्यमा निर्वाचित भए।

छैटौं महाधिवेशन (२०५४) र सातौं महाधिवेशन (२०५९) बाट केन्द्रीय सदस्य, २०७२ सालमा पार्टी स्थायी कमिटी सदस्य र दसौं राष्ट्रिय महाधिवेशन (२०७८) बाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित  भएका थिए। संविधानसभाको अध्यक्ष र सभामुख रहेका नौ वर्षसम्म पार्टी जीवनबाट बाहिर रहे। पार्टी निर्माण तथा विस्तारमा उनका योगदान उच्च मानिन्छ। 

२०३६ सालबाट नेपाल ल क्याम्पसमा प्राध्यापन सुरु गरेका उनले नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्य (२०४१) तथा महासचिव (२०४३) का रुपमा महत्वपूर्ण भूमिका खेलेका थिए। महासचिव रहेकै कार्यकालमा सम्पन्न नेपाल बार एशोसियसनको राष्ट्रिय सम्मेलनले देशमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्था स्थापनाको प्रस्ताव पारित गरेको थियो। उनका दुई छोरा र दुई छोरी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.