भ्रष्टाचार मुद्दामा शम्भुनाथ नगरपालिकाका प्रमुख भ्रष्टाचारी ठहर

भ्रष्टाचार मुद्दामा शम्भुनाथ नगरपालिकाका प्रमुख भ्रष्टाचारी ठहर
दोषी ठहरिएका जितेन्द्र प्रसाद गुप्ता
सुन्नुहोस्

राजविराज : सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन्।

विशेष अदालतको शुक्रबारको इजलासले गुप्ता र शम्भुनाथ नगरपालिकाका इञ्जिनियर रामचन्द्र साहलाई भ्रष्टाचारी ठहर गरेको हो। विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशी प्रसाद थारूको संयूक्त इजलासले उनीहरूलाई दोषी ठहर गर्दै कैदसजायको फैसला गरेको हो। दोषी ठहरिएका गुप्ता र साहलाई जनही ६ महिना कैद र ७० हजार रुपियाँ जरिवाना तोकिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

इञ्जिनियर साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत माघ ३ गते घुस रकमसहित पक्राउ गरेको थियो। विद्यालय सभाकक्ष निर्माण कार्यको अन्तिम बिल भुक्तानी प्रयोजनको लागि सेवाग्राहीबाट १ लाख ४० हजार घुस लिएको अवस्थामा साह कार्यकक्षबाटै पक्राउ परेका थिए।

अनुसन्धानका क्रममा नगर प्रमुख गुप्ताको मिलोमतो समेत देखिएको भन्दै १ लाख ४० हजार रुपियाँ मागदाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफा ३ को उपदफा (१) देहाय खण्ड (घ) बमोजिम कैद र बिगोबमोजिम आरोपितहरुबाट जरिवाना माग गरिएको थियो। उनीहरुविरुद्ध अख्तियारले फागुन १७ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

स्थानीय तह २०७४ को निर्वाचनमा झिनो मतान्तरले पराजित गुप्ता २०७९ को निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट नगर प्रमुखमा निर्वाचित भएका थिए।
यसअघि विशेष अदालतले राजविराज नगरपालिकाका नगर प्रमुख भिमराज यादवलाई भ्रष्टाचारी ठहर गरेको थियो। पदभार ग्रहण गरेको दुई महिना नपुग्दै ०७९ असार २९ गते राजविराज नगरपालिकाका नगर प्रमुख भिमराज माथि आयोगले मुद्दा दायर गरेकोमा गत साउन ३२ गते विशेष अदालतले यादवमाथिको आरोपमा दोषी ठहर गर्दै जरिवाना गरेको थियो। स्थानीय तह २०७४ को निर्वाचनमा झिनो मतान्तरले पराजित  यादव २०७९ मा जनता समाजवादी पार्टीबाट अत्यधिक मतले निर्वाचित भएका थिए।

सप्तरीका दुई नगर प्रमुख गुप्ता र यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् भने दुई प्रमुख निलम्लित छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोदेबरसाइन नगर प्रमुख आतेशकुमार सिंह यादव र बिष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनीहरु निलम्बित भएका हुन्।

विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्र कुमार यादव साउन ३१ गते घुस रकमसहित पक्राउ परेसँगै उनीहरुलाई घुस रकम लिन पठाएको आरोपमा गाउँपालिका अध्यक्ष उमेशविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो। घुस रकम लिन अध्यक्ष यादवले नै कर्मचारीहरुलाई पठाएको प्रमाणका आधारमा मुद्दा चलाइएको अख्तियारका प्रवक्ता भोला दाहालले बताएका छन्।

बोदे बर्साइन नगरपालिकाका प्रमुख आतेश भदौ १४ गतेदेखि निलम्बनमा परेका हुन्। सञ्चालन नै नभएको बाख्रा व्यवसायी कार्यक्रमको स्थलगत अनुगमन गरेर योजनाको स्थिति पनि राम्रो रहेको भन्दै सोहीबमोजिम गलत प्रतिवेदन दिएर भ्रष्टाचार गरेकोले नगर प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा चलेको छ।

विशेष अदालतमा नगर प्रमुख आतेशसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, पशु विकास अधिकृत अर्जुनप्रसाद यादव, लेखापाल सरोजकुमार मण्डल, वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष रामानन्द चौधरी, तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगत, जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्यामकुमार साह र कोषाध्यक्ष नीलमकुमारी शर्माविरुद्ध कैद र बिगो बमोजिम जरिवानासमेतको सजायको मागदाबी लिँदै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रम नै नगरी सम्पन्न भएको भनी १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ भुक्तानी लिएदिएको कसुर गरेको पुष्टि भएकोले आरोपपत्र दायर गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.