चिनेको स्वर, नचिनेको मान्छे

चिनेको स्वर, नचिनेको मान्छे

घरमा शास्त्रीय संगीत, बाहिर भजन मण्डली र हिन्दी गीत सुनेका नारायणगोपाल एउटा सम्मिलन बने। र, प्रकट भए २०१८ सालमा २२ वर्षमा आफैंले संगीत भरेर गाएका गीतहरूबाट।

२०४० साल। जाडो महिनाको एउटा बिहानी। सधैं झैं त्यो नक्सालको घरमा ठेलमठेल भीडभाड। मूलकारण करिब ६ महिनादेखि त्यो मन्त्रीको घर बनेको थियो। अर्थ तथा सञ्चारमन्त्री थिए मेरा दाजु। पूज्य पिता, जो नेपालमा सिमेन्ट ढलान प्रविधि सुरु गर्ने पहिलो नेपाली, उहाँले नै बनाएको घरमा हामी सबैसँगै बस्थ्यौं। पूर्व—पश्चिम फैलिएको ‘ड्राइभ–वे’ र चउरमा पूर्वको न्यानो घाम टम्मै लागेको थियो। मन्त्रीलाई भेट्न उभिएका मानिसले भरिभराउ। घरभित्रको कोरिडोरमा ठेलमठेल।

साढे चार वर्षको छोराको कलिलो हात च्याप्प समातेर कलिलो घामको न्यानो लिन बाहिर निस्कँदै थिएँ, घर पछाडिको अर्ध चन्द्राकार ओपन टेरेसमा जान। त्यसको वरिपरि जाईको फूलले पहेंलाम्मै थियो। त्यसपछि तरकारीले बारी परैसम्म हरियो। त्यो टेरेसमा छोराको ट्राइसाइकल थियो। ऊ चढ्न चाहन्थ्यो। बेरेको सुकुल फुकाएर बस्न चाहन्थें, घाम ताप्न। भीडभाड छिचोलेर बाहिर निस्किँदा जम्काभेट भयो एउटा हट्टाकट्टा मान्छेसँग। त्यसरी भेट होला भनेर कल्पनामा पनि सोचेको थिइनँ।

​​​​​​​झ्याम्मै आमने–सामने हुन पुगें म। न मैले चिनेको उनलाई, न उनले मलाई। मैले त फोटोमा देखेको मान्छे। आवाज भने कहिले नअघाउने गरी सुनेको उनको। अक्क न बक्क भएर हेरें। हेरेको हे¥यै भएर हेरें। सम्मान र कौतूहल मिश्रित भावले हेरें। उनको चेहरामा कुनै प्रतिक्रिया थिएन। आँखामा कुनै चमक थिएन। ‘आई कन्ट्याक्ट’ गरेर कुरा गर्ने स्वभाव नै लागेन। अनुहार ब्लांक (कुनै भाव नदेखिएको)। सायद म पूरै नचिनिएको मान्छे भएर होला।

उनी ढुक्क देखिन्थे– मैले उनलाई चिनिसकेको छु भनेर। कारण प्रस्ट नै थियो। उनको सेलेब्रेटी हैसियत। टक्क एकले अर्काेलाई नजिकबाट यसरी सँगसँगै हेरिरहेको अवस्थामा मेरो आवाज अनायास निस्कियो– ‘एउटा कुरा भनूँ कि ?’

यति भनेर उनी र म त्यो भीडबाट अलि अलग भएर छुट्टै उभिन पुग्यौं। उनले टाउको हल्लाउँदै भने– ‘हुन्छ।’ मैले सुरु गरें– कविता म सानैदेखि लेख्ने मान्छे केवल आफ्नो खुसीका लागि। २०२८ सालको आखिरीतिर बुटवलमा काम गर्थें। गुनगुनाउँदै जाँदा अनायास केही कथियो। कागतमा उतारें त्यसलाई। कविता त गीत पो बन्यो। त्यति बेलादेखि एउटा चाहत मभित्र सीमित भएर बाँचेको छ। कस्तो होला यो अनायास बनेको गीत यदि यसले नारायणगोपाल गुरुवाचार्यको स्वर पाउन सक्यो भने !

उनले भने– ‘हेरुँ न’

मैले भनें– ‘मलाई कण्ठै आउँछ। सुनाऊँ।’

उनले भने– ‘सुनूँ न।’

एक सासमा सुनाएँ– मुखडा र दुई अन्तरा।

​​​​​​​‘हाँस्नलाई म हाँसेकै हुन्छु
ध्वनि पहिल्याउन नखोज
मेरो मञ्जिल केवल तिमी हौ
तर जीवनसँग नसोध।

हाँसोको प्रत्येक लहरभित्र
कति पीडा लुकेको हुन्छ
मुटुको हर ढुकढुकीसँगै
कति रहर मरेको हुन्छ
रम्नलाई म रमेकै हुन्छु
रमिता नियाली नहेर
मेरो मञ्जिल केवल तिमी हौ
तर जीवनसँग नसोध।

तिम्रै चाहनाका यी आँखाहरूमा
अरू आभास तिमी नखोज
बत्तीको चहकिलो प्रकाशमुनि
कहीँ घना अँध्यारो हुन्छ
भरिएका रमाइला रातभित्र
कति आर्तनाद लुकेको हुन्छ।

त्यसपछि उनले स्फूर्त भने– म गाउँछु यो गीत। यत्तिकैमा छोराको ‘ट्राइसाइकल’ चढ्ने हतारोले ऊ मेरो हात तानिरहेको थियो। त्यति नै बेला मन्त्रीको पीए आए नारायणगोपाललाई भित्र लैजान। हामी यसरी चटक्कै छुट्टियौं। त्यसपछि कहिले भेट भएन। त्यो गीतका लागि उनले कहिल्यै सम्पर्क गरेनन्। आफ्नै सानो दुनियाँमा आफैंसँग रमाएको मान्छे म। अझ बढी आफैंसँग लहडिएर रमाउने मान्छे भएकाले होला, मैले पनि कहिल्यै सम्पर्क गरिनँ। यसरी त्यो ‘अनायास भेट’ नै पहिलो र अन्तिम भेट बन्यो। ५१ वर्षको उमेरमा २०४७ मंसिर १९ गते बुधबारको दिन उनी बिते। अपुग भयो। छोटो जिन्दगी, छोटो वसन्त, मिठो गीत।

४० वर्षअगाडि झुल्के घाम सरहको देखादेख र केही बात मारेको मान्छेलाई करिब तीन महिनाअगाडि अचानक तर गहिरोसँग सम्झें। यसको कारणसँग म पूर्ण अनभिज्ञ छु। अचेतन मनमा होला। कविता स्वस्फूर्तः आएजस्तो गरेर बलियो भाव आयो उनका बारेमा केही लेख्ने। कविताको भाव भएको भए पोखिइसकेको हुन्थ्यो। तर व्यक्तिगत रूपमा नचिनेको मान्छेको बारेमा लेख्ने उकुसमुकुसले अभिव्यक्त हुने निकास नै फेला परेन।

किलागल, जुद्धोदय स्कुल, त्रिचन्द्र कलेज, बडौदाको सयाजिराव विश्वविद्यालय, पोखराको भूपि शेरचनको घर, नर्सिङ क्याम्प र अन्ततः महाराजगन्जको आफ्नै घरमा सरेको र करिब दुई सयको हाराहारीमा गीत गाएको (नारायणगोपाल आफैंले भनेबमोजिम)। यी दोहरिइरहेका विवरणले मात्र नारायणगोपालको सांगीतिक उचाइको समग्रता दर्साउन सक्तैन भन्ने मेरो विश्वासले झन् उकुसमुकुस मात्र बढायो। यो उकुसमुकुस भएको बेला फ्याट्ट भनें अन्नपूर्ण पोस्ट् दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारीलाई– यसपालि नारायणगोपालको ८४औं जयन्तीमा लेख्छु है।

उनले भने– ए, १८ गते। तर शनिबार २० गते पर्ने हुँदा त्यस दिनमा छापौं न।

मैले भनें– ल पक्का मैले लेख्ने भएँ। स्लट राखिदिनु भए हुन्छ। दुई दिनअगाडि म पठाउने छु। तर के लेख्न सकिन्छ भन्ने सोचले पिरोल्यो। त्यो व्यक्ति जसका बारेमा यति धेरै लेखिई सकिएको छ। बारम्बार दोहरिँदै आएको छ।

त्यसपछि किलागल सम्झें। पछिमात्र थाहा पाएको हो– नारायणगोपाल जन्मेहुर्केको ठाउँ भनेर। तर सहरमा सबैभन्दा थाहा पाएको ठाउँ भने किलागल नै हो मेरो। यस अर्थमा कि मैले जानेदेखि नै परिवारसँग सधैं जाने गरेको ठाउँ। त्यतिबेला सहर जाने भनिन्थ्यो। टुँडिखेल कटेर पश्चिम लागेपछि सुरु हुने सहर। किलागल त सहरको मुख्य भाग। नुवाकोटको थानसिङ गाउँमा बस्ने मेरो बाजेको पनि बाजे पशुपति लोहनीले आफ्नो दुई छोरा पढाउन करिब १ सय ८० वर्षअगाडि त्यहाँ घर किनेका थिए। एक भाइ ज्ञानेश्वरतर्फ बसाइँ सरे भने अर्काे भाइ त्यहीँ बसे। उनको सन्तानसँग दसैंमा टीका लगाउन र चाडबाडमा सधैं किलागल गएको छु। पछिसम्म पनि त्यही पुरानो घरमा।

त्यसैले झ्वाट्ट सम्झें किलागलको भाइ ज्योतिलाई। उनी अमेरिकामा छोराकहाँ रहेछन्। त्यहाँ फोन गरेर सोधें– भाइ, तिम्रो घरभन्दा कता पर्छ नारायणगोपालको घर ?

उनले भने– भेडासिङबाट किलागल लागेपछि जुन मेरो घर छ, त्यसबाट पाँच घर वर एउटा गल्ली छ उत्तरतर्फ। त्यो गल्लीभित्र छिरेपछि त्यस्तै चार या पाँचौं घर हो नारायणगोपालको दाहिनेतिर।

​​​​​​​मैले सोधें– उनीसँग चिनजान थियो ?

ज्योतिले भने– मैले त नाम सुनेकै २०१८ सालपछि मात्र हो। उनको गीत बज्न थालेपछि मात्र।

त्यसपछि म र श्रीमती त्यो घर हेर्न गयौं। १९९६ सालमा जन्मेका नारायणगोपाल दार्जिलिङकी पामेला लामासँग २०२७ सालमा विवाह नहुन्जेल ३१ वर्ष यही घरमा संयुक्त परिवारमै बसेका थिए। घर र त्यसको सेरोफेरोले केही धारणा त दिन्छ नि ! गल्लीसँग जोडिएको घर र भित्रबाट जाने साझा चोक। त्यहाँ निकै समय बितायौं। घर पूरा भाडामा रहेछ।

हामीले चार पाँचपटक भित्र–बाहिर ग¥यौं। भुइँचालोले गर्दा चोकबाट टेको लगाएको र सबैभन्दा माथिल्लो तलामा मान्छे नजाने गरिएको। त्यो गल्ली नारायणगोपालको घरबाट केही पर पुगेर अन्त्य हुँदो रहेछ। कहिले बनेको हो त्यो थाहा नभए पनि सहरभित्र रहेको त्यो घरको साइज, साझा चोक र कलात्मक झ्यालहरू देख्दा पक्कै भन्न सकिन्छ– नारायणगोपालको पिता सितारवादक उस्ताद आशागोपाल गुरुवाचार्य तुलनात्मक रूपमा सम्पन्न थिए।

फर्केर किलागल मूल सडकमा आउँदा हामीले गल्लीको मुखैमा देख्यौं– नारायणगोपालको सालिक १८ नम्बर वडाले बनाएको। गत वर्ष मंसिर २३ गते मेयर बालेन्द्र साहले अनावरण गरेको। सानैदेखि कैयौंपटक गएको किलागलको त्यो सडकमा हिँड्दै गर्दा म त्यो सडक, त्यो गल्लीमा आफ्नै सुरमा फटाफट आवतजावत गर्ने, हम्मेसी कसैसँग नबोल्ने, नेवारीमा छोटो बोल्ने नारायणगोपाल र त्यतिबेलाको परिवेशको कल्पना गरिरहेको थिएँ। त्यतिबेला सहरमा सबै जातिले प्रायः नेवारीमै बोल्थे। यो धुनमा घर फर्कंदा एउटा संयोग जोडिन पुग्यो। हुन त नारायणगोपालबारे जति पढेको छु, त्योभन्दा बढी साथीभाइ र चिनजानका मान्छेबाट प्रशस्त सुनेको छु। तर यो संयोग भरपर्दो र विशेष लाग्यो।

अमेरिका बस्ने मेरो नातेदार, जो नारायणगोपालको सहपाठी थिइन्, बडौदाको सयाजिरावमा पढ्दा, उनी काठमाडौं आएको खबर सुनें। नाम संगीता शर्मा। भेटें। लामो कुराकानी भयो नारायणगोपालबारे। केही कुराकानी श्रीमतीले मोबाइलमा रेकर्ड पनि गरिदिइन्। लगत्तै सम्झें मित्र प्रदीप उपाध्यायलाई। रेडियो नेपाल नजाने भएका नारायणगोपालको गीतहरू भर्खरको म्युजिक नेपालमा ट्र्याक सिस्टममा उनले नै रेकर्ड गरेका थिए। उनीसँग पनि भेटें। केही कुराकानी रेकर्ड पनि गरियो।

मधु क्षेत्रीले झुमेको अवस्थामा नारायणगोपाललाई ल्याएदेखि गीत रेकर्ड गर्दा हार्माेनियम नबजाई उनी गाउन नसक्ने हुँदा हार्माेनियमको आवाजलाई सिरकले छोप्नु परेको सम्मको कथा सुनें। तर, त्यसपछिको समयको अन्तरालमा मैले लेख्छु भनेको आफ्नो कबुल नै बिर्सेछु। आजको दिन असोज १० गते। म र श्रीमती उषा पोखरा घुम्न आएको केही दिन अगाडिमात्र। यहाँ पो झल्याँस्स सम्झें। र, यो सुन्दर नगरीमा लेख्ने क्रम सुरु भयो। पोखराले देवकोटालाई सम्झाउँछ मलाई। देवकोटाले नारायणगोपाललाई।

‘पोखरा’ कवितामा देवकोटाले अन्नपूर्ण, माछापुच्छ्रे र फेवातालको कान्ति र शान्तिको अतुलनीय वर्णन गरेका छन्। एउटा हरफ सम्झें त्यसको– सम्झें ताराजडित जलमा शान्तिको कान्ति हेर।’ देवकोटाले नारायणगोपाललाई सम्झाउने कारण चाहिँ देवकोटा जत्तिकै यशस्वी ठान्छु म नारायणगोपाललाई पनि, आधुनिक संगीतको फाँटमा। मेरो मुलुकले दिएको यी दुबैलाई। के देवकोटाको जत्तिकै फराकिलो थियो हृदयको फाँट पनि ? यो अर्को पाटो हो। त्यता जान चाहन्नँ यतिखेर। तर यति चाहिँ निर्धक्क भएर भन्छु– नारायणगोपाल मुलुकको हृदयमा समाहित भएका मान्छे हुन्। यहाँनिर फेरि देवकोटाले भानुभक्तलाई भनेको कुरा पैंचो लिएर नारायणगोपालबारे भन्छु– साहित्यमा सर्वश्रेष्ठ पुरुष त्यही हो, जो राष्ट्रको हृदयमा सबभन्दा तीव्र भएर बस्तछ।’ नेपाली आधुनिक संगीतमा नारायणगोपाल करिब त्यसरी नै बाँचेका छन् भन्ने ठान्छु।

नारायणगोपाल कसरी यशस्वी भए ? यसलाई हेर्न मान्छे कसरी यशस्वी बन्छ भन्ने कुरा बुझ्नु पर्ने हुन्छ। अलिकति जमर्को गरौं। यसमा अमरत्वको कुरा आउँछ र यसभित्र अरू धेरै कुरा पर्छन्। र, पारिन्छन् पनि कतिपयलाई (देश, परिवेश) अनि शासनभित्र र बाहिरबाट। यहाँनिर मिथकको कुरा पनि आउँछ, त्यसको निर्माणको कुरो पनि। धेरै परसम्मको पनि नगरौं अमरत्वको कुरा पनि। त्यतापट्टि लाग्दै नलागौं। यो बिन्दुमा मेरो धारणा प्रस्ट छ र यसमा विमति जनाउने निकै ठाउँ हुन सक्छ।

हाम्रो वैदिक वाङ्मयमा उल्लेख गरिएका शुकदेव स्वामीको कुराबाट यसलाई प्रस्ट्याउन चाहन्छु। पहिले यो पनि भनिहालौं कि संगीत वैदिक कालदेखि नै सुरु भएको हो, माता सरस्वतीको मधुरनादबाट। यी हरफहरू–

पुस्तक, घडा, माला र वीणा लिएको
वाग्देवीको
झंकृत भयो वीणाको मधुरनाद
वाणीको उद्गम भयो।

शुकदेव वेद व्यासको पत्नीको गर्भमा रहँदा नै सबै ज्ञानको ज्ञाता थिए। अतिशयोक्तिपूर्ण छ यो कुरा अहिले सुन्दा पनि। तर यसले दिएको आशयात्मक सन्देश हो– आमाको गर्भमा रहँदा नै बच्चाको बुद्धि बनिसकेको हुन्छ। त्यसैले मेरो पुस्ताको बेलासम्म पनि आमाको गर्भमा बच्चा रहँदा हरिवंश र यस्तै धार्मिक ग्रन्थ आमालाई सुनाइन्थ्यो। असल कुराहरू आमाले सुन्दा त्यो बच्चामा पुग्छ भनेर। र, अहिलेको विज्ञानले पनि भन्छ– बच्चाको दिमाग आमाको गर्भमा रहँदा नै बनिसकेको हुन्छ र जन्मेको पाँच वर्षभित्र ९९ प्रतिशत पूरा भइसक्छ। अर्थात् त्यो अवधिमा दिमागमा जे जति ‘रेकर्ड’ या ‘स्टोर’ हुनुपर्ने हो सो भइसकेको हुन्छ।

अध्ययन, मनन् र चिन्तनबाट सिक्ने भनेको त बाँकी एक प्रतिशतमात्र हो। जोड दिन खोजिएको कुरा यतिमात्र हो– मूलतः जन्मिँदा नै कुनै बच्चा अद्वितीय हुने प्रारब्ध, भाग्य, नियति जे भनौं, त्यो लिएर नै जन्मिएको हुन्छ। नत्र कसरी वर्णन गर्ने विश्वको महान् संगीतज्ञ मोजार्टले पाँच वर्षको उमेरमा नै संगीत सिर्जना गरिसकेको कुरालाई ? उनको सिम्फोनीहरू नै हुन् जसले विश्व संगीतलाई निर्णायक प्रभाव पारेका छन्।

नारायणगोपालले त्यो जादुगरी स्वर त जन्मँदा नै लिएर आएको हो नि ! त्यसो त कोही सितारमा त कोही गिटारमा पीएचडी गरेका छन्। नारायणगोपालभन्दा अगाडि, पछाडि र सँगै बडौदामा म्युजिक सिक्न गएकाहरू स्नातक र स्नातकोत्तर गरेर फर्के। खै कहाँ छन् ती ? 

उनी त त्यहाँ झन् एक वर्षमात्र पढेका।

शास्त्रीय संगीतको उस्तादको छोरो। आफ्नै घरमा सातवटा स्वरहरूको संयोजनबाट बनेका विभिन्न राग खेलाएको स्वरध्वनि सुनेर नारायणगोपाल हुर्किए। बोल्न खोजिरहेको बालकले आफैं भाषा सिकेजस्तै संगीतका सुरहरूको भाषा उनले सहज ढंगबाट सिके। त्यसैगरी तबला बजाउन भजन मण्डलीमा। उनको घरबाहिर सहरमा पाइला पाइलामा टोल र हरेक टोलको आफ्नै भजन मण्डली। रम्ने–रमाउने चलन। भजन मण्डलीबीच किचलो र झगडा। एकले अर्काेलाई निषेध गर्ने परम्परा पनि।

त्यत्रा भजन मण्डलीहरू छोडेर सहर काटेर उनी नारायणहिटीमा तबला बजाउन किन पुगे ? त्यो चाहिँ अचम्म छ। टोलदेखिकै मित्र नीर शाहले एकपटक मलाई तबला प्रसंग सुनाएका थिए। सानोमा आमासँगै जान्थे उनी नारायणहिटीसँगैको नारायणस्थानमा। पहिलोपटक नारायणगोपाललाई त्यहीको भजन मण्डलीमा देखेका थिए तबल बजाइरहेको। २०१६ सालमा एसएलसी गरेका नारायणगोपाल करिब २० वर्षको उमेरमा पहिलो सार्वजनिक कार्यक्रममा देखा परे, त्रि–चन्द्र कलेजको ४०औं जयन्तीमा। गायक भएर होइन, गायकलाई तबलामा साथ दिएर।

घरमा शास्त्रीय संगीत, बाहिर भजन मण्डली र हिन्दी गीत प्रशस्त सुनेका नारायणगोपाल एउटा सम्मिलन बने। र, प्रकट भए २०१८ सालमा २२ वर्षको उमेरमा, रत्नशमशेर थापाका रचनामा आफैंले संगीत भरेर गाएका गीतहरूबाट। यति धेरै बजे ती गीतहरू रेडियोमा मात्र होइन, त्यतिबेला, अहिलेको दशरथ रंगशालामा आयोजना हुने मेलाहरूमा पनि। नचिनिएको मान्छेको त्यो स्वरले नै झंकृत ग¥यो नेपालको आधुनिक संगीत। तर यसको जग चाहिँ भजनमण्डली नै हो भन्ने म ठान्दछु। यसबारे अलिकति हेरौं।

​​​​​​​नेपाली संगीतको परम्परा मन्दिरमा घण्टा बजेजस्तै भजन संगीतबाट बनेको हो। दोस्रो शताब्दीमा चाँगुनारायण बनिसकेको थियो लिच्छविकालमै। भजन संगीत त्यतिबेलादेखि नै सुरु भइसकेको हुनुपर्छ। भजनसंगीत प्रस्टसँग विकास भएको भने मल्लकालमा हो। अर्थात्, १२औं शताब्दीदेखि। नेवार समुदायमा चाडबाड रीतिथितिसँग आबद्ध भयो संगीत। र, जीवन्तता बचाइराख्यो।

दरबारीया मनोरञ्जनका लागि १८आंै शताब्दीतिर भारतीय संगीत घरानाबाट नेपालमा आएको शास्त्रीय संगीतका केही अंश यसमा मिसिए। मुलुकको विविधता जस्तै नेपाली संगीत, साज र भाखा भनेको फराकिलो विविधताको पुञ्ज हो। तर पनि मूलतः भजन मण्डलीबाट नै नेपालमा आधुनिक संगीत आएको हो। र, भजन मण्डलीबाटै आएका संगीतज्ञहरूले संस्थागत रूपमा रेडियो नेपालमार्फत अतुलनीय योगदान पु¥याएका हुन्। मूर्धन्य संगीतकार नातिकाजी भजन मण्डलीकै उपज हुन्। फत्तेमान यसरी नै सफल गायक बनेका हुन्।

यस्तो भजन मण्डलीमा मूलतः रात परेपछिको भजन गायनको बीचबीचमा गाँजा मलिएको चिलिम खुब उडाउँथे। झुम्म भएर गाउँथे, झुमेर तबल बजाउँथे। त्यो गाँजाको मजाले पनि तान्थ्यो त्यहाँ जान गाउने र बजाउनेलाई। नारायणगोपालले गाँजा खान त्यो मण्डलीमा सामेल भएर नै सिके। उनको सुरुआती समागम तबल बजाईबाट भयो। रक्सी जहाँबाट सुरु गरे पनि नामुद पियक्कड चाहिँ भए।

पेयपदार्थ प्रदत्त अभिव्यक्ति, जुन उनले आफैंले गाएको गीत हो, त्यो दृश्य पूर्वउपकुलपति महेशकुमार उपाध्यायको हालै निस्केको आत्मकथामा रमाइलोसँग उल्लेख छ। रामपुर क्याम्पसको ‘गेस्ट रुम’मा एउटै बाथरुम दुइटा अलगअलग कोठामा जोडिएको। राति बाथरुम जाँदा उपाध्यायले देखे अर्को कोठामा पेयपदार्थ थपेको । उनी उभिएर आफैंसँग भनिरहेका थिए– यसैगरी बिताइदिन्छु दुई दिनको जिन्दगी यो।

पेयपदार्थ र गाँजाबारे दार्जिलिङबाट आएका र नारायणगोपालसँग घनिष्ठता भएको प्रजापति परिवारको छोरी रञ्जनासँग विवाह गरेका स्वर्गीय पिटर कार्थकको सन् २००३ मा ‘दि काठमाडौं पोस्ट’मा छापिएको वर्णन रोचक छ। यो मिस भएन किनकि त्यतिबेला म पनि लामो समयदेखि ‘डाइनामिक्स अफ चेन्ज’ भन्ने स्तम्भ पेजमा लेख्थे त्यहाँ। कार्थकले मासङ गल्लीको नारायण साहूको ठर्रा पसलबाट टिल्ल भएर आएका नारायणगोपालले ‘त्यो चाँदनी रात’ मच्छिन्द्रबहाल भजन मण्डलीमा सामेल भएर तबला बजाएको र गाँजा तानेको दृश्य शृंखला सुन्दर ढंगबाट खिचेका छन्।

२०२२ सालमा भारतको बडौदास्थित महाराज सयाजिराव गायकवाड विश्वविद्यालयको एमएस म्युजिक कलेजमा शास्त्रीय संगीत सिक्न जाँदा त उनी सबैले चिन्ने भइसकेका थिए। त्यतिबेला शिक्षा मन्त्रालयबाट छात्रवृत्ति पाएर विभिन्न विषयमा त्यस विश्वविद्यालयमा पढ्न जाने नेपालीको लर्को नै थियो। एमएस म्युजिक कलेज पण्डित विष्णुनारायण भातखण्डेले विकास गरेको, जसलाई भातखण्डे पद्धति भनिन्छ, त्यसमा आधारित थियो। यो कलेज विश्वविद्यालयभित्र नभएर बाहिर ‘न्याय मन्दिर’ टोलमा थियो।

नारायणगोपालको सहपाठी संगीता शर्मा भन्छिन्– हाम्रो त ठूलो ग्रुप हुन्थ्यो काठमाडौंबाट जाँदा आउँदा। रञ्जनसिंह शाह आर्किटेक्चरमा, बेटी बज्राचार्य कत्थक नृत्य, बिना राजभण्डारी भारत नाट्यम। पटनासम्म उडेर जान्थ्यौं। त्यहाँबाट मथुरासम्म एउटा ट्रेनमा, त्यसपछि अर्कोमा बडौदा। म्युजिक कलेजमा एउटै क्लासमा थियौं हामी नेपाली तीनजना मात्र (नारायणगोपाल दाइ, मीरा पाण्डे र म। हामीभन्दा अगाडि डा. डिल्लीरमण रेग्मीको छोरी सोफिया रेग्मी। र, महाकवि लक्ष्मीप्रसाद देवकोटाका छोरीहरू (अम्बिका रिमाल र मीरा देवकोटा)। हामीभन्दा पछाडि शकुन्तला मास्के र वीना केसी।

लामो कुराकानी सबै यसमा अटाउन सक्दैन। पछि कुनै बेला लहड चले लेखिएला। मुख्य कुरा उनको– ‘नारायण दाइले त्यहाँ गजबको जादु गरिदिनु भएको थियो। म्युजिक कलेजमा कार्यक्रमहरू भइरहने। स्टेजमा पुगेर गाउन थालेपछि उहाँलाई स्टेजबाट तल झर्नै नदिने। क्लापिङ भएको भयै। ‘वान्स मोर, वान्स मोर’को आवाज गुञ्जिरहन्थ्यो। मोहम्मद रफीका गीतहरू यस्तो राम्रो गाउने आफ्नैपनबाट, मुग्ध हुन्थे सबै। हामी आफूआफू हुँदा चाहिँ फर्माइस गथ्र्यौं उहाँकै गीतहरू। गाएर सुनाइदिनु हुन्थ्यो। असाध्यै मजाको मान्छे।’ यहाँनेर भनिहालौं– सार्वजनिक बाहेक कसैको निजीघरमा उनले बिरलै गीत गाए। कवि भूपि शेरचनकहाँ भने बेग्लै कुरा। भूपि दाइ उनको। र, उनी भूमिको सानोबाबु। त्यसैले भूपिको घरमा गाए, चाहे पोखराको मोहरिया टोलको होस् या काठमाडौंको नारायण चौरको भूपिको छोरी कविताको हालै प्रकाशित किताब भूपिमा यसको जिकिर छ।

त्यहाँ एक वर्ष पढेर निस्किएका नारायणगोपालले अर्को प्रतिभावान् व्यक्तित्व गोपाल योञ्जन भेटे दार्जिलिङमा। जो गीत लेख्न, संगीत भर्न र गाउन निपुण थिए। उनीलाई मितको रूपमा पाएपछि र करिब एक दशकको यो सहयात्रामा आधुनिक नेपाली संगीतले अर्को फड्को मा¥यो। त्यो सहयात्रा टुटे पनि नारायणगोपालले त्यो उचाइलाई अझ अगाडि नै लगे विभिन्न प्रयोग र संयोजनमा। नेपाली भाषा, साहित्य संस्कृतिलगायतमा उल्लेखनीय योगदान पु¥याउनेलाई दिने जगदम्बाश्री पुरस्कार पाउने पहिलो व्यक्ति बने नारायणगोपाल २०४५ सालमा। त्यसपछि उनले जसरी बोले त्यो राम्रो लागेको छ मलाई। उनले भने जस्तै– पुरस्कार पाउनु ठूलो कुरा होइन, ठूलो कुरा हो एउटा गायकले पनि साहित्यको सेवा गरिरहेको रहेछ। संगीत जीवन दर्शाउने कला हो। योबिना जीवन व्यर्थ हुन्छ। गीतका लागि कविता राम्रो हुनु पर्दछ।

​​​​​​​मिथकसँग खेल्न सक्नु र मिथक बन्नु अलगअलग कुरा हुन्। देवकोटा महान् बने मिथकसँग खेल्न सकेर। म त भन्छु उनको कृतिहरूबाट उनले प्रयोग गरेका मिथकहरू हटाइदिने हो भने देवकोटा नै कति बाँकी रहन्छन् र ? तर उनी मिथक बन्न भने कहिले चाहेनन्। र, लेखे आग्रहपूर्वक मिथक बनाउनेहरूलाई अंग्रेजीमा ‘अन् हेयरिङ लिजेन्ड एबाउट वानसेल्फ’मा आफूलाई मिथक नबनाइदिन। उनी अगाडि लेख्छन्– संस्कृत र अंग्रेजीका महापण्डित ठान्छन् जबकि आफूले कालीदासको शकुन्तला पढेको छैन। न अंग्रेजीमा वाल्ट विटम्यान। म ठान्छु नारायणगोपाललाई मिथक बनाउने क्रम रोकिनु पर्छ। मिथकले कोही महान् हुने होइन। केबल मिथक बनाउनेहरू अगाडि देखिन पाउँछन्।

राति बाथरुम जाँदा पूर्वउपकुलपति महेशकुमार उपाध्यायले देखे अर्को कोठामा पेयपदार्थ थपेको। स्वरसम्राट् नारायणगोपाल उभिएर आफैंसँग भनिरहेका थिए– यसैगरी बिताइदिन्छु दुई दिनको जिन्दगी यो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.