बाँदर धपाउन प्रहरी परिचालन

बाँदर धपाउन प्रहरी परिचालन
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-११ मा बाँदर लगायतका वन्यजन्तु धपाउन प्रहरी परिचालन गरिएको छ।

वडा कार्यालयले गाउँमा पसेको बाँदरलगायतका वन्यजन्तु धपाउन प्रहरीलाई अनुरोध गरेपछि प्रहरीले चासो दिएको हो। प्रहरीले वडामा स्थानीयसँग मिलेर गस्ती सुरु गरेको छ। 

चारैतिरबाट वनजंगलले घेरिएको वडा नम्बर ११ का तल्लो भेगका बस्ती तथा जंगलमा इलाका प्रहरी कार्यालय बन्देउबाट सशस्त्र प्रहरी र प्रहरी चौकी साँगाचोकका जनपथ गरी ३५ जना प्रहरीको टोली वन्यजन्तु लुकेको सम्भावित स्थलको खोजीमा जुटेका छन्। 

वडाका तल्लो भेगका महादेवटार, एक्ले, जामुने, कटुञ्जेपानी, देउराली, फँलाटे, पानीचौर, काभ्रेलगायतका जंगल तथा झाडीक्षेत्रमा गस्ती गरेको प्रहरीले जनाएका छ। बाँदरले खेतबारीमा काम गर्ने महिला तथा विद्यालय जाने बालबालिकालाई आक्रमण गरी घाइते बनाउनुको साथै खेतबारीमा लगाएको अन्नबाली, फलफूल र घरभित्र पकाएर राखेको खानासमेत बाँदरले खाने गरेको छ। ‘बाँदरको उपद्रो बढ्दो छ। एक घण्टा मात्र बालीमा पस्न पायो भने वर्षभरि खाने अन्न खाइदिन्छ’, स्थानीय कृषक श्रीकृष्ण माझीले भने– ‘बाँदरकै कारण खेतबारी बाँझो छाडेर किनेर खानुपर्ने अवस्था छ।’ 

बाँदरका कारण किसानले भोग्नुपरेको क्षतिबारे सरकारले ध्यान दिनुपर्ने उनले बताए। ‘बाँदरलाई निर्मूल पार्नुपर्छ भन्ने होइन तर यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ त्यसतर्फ सरकारले ध्यान दिई किसानलाई मर्कामा पर्न दिनु हुँदैन।’

बाँदरले खेतबारीका अन्न, फलफूल मात्रै होइन, घरभित्रको सामानसमेत उठाएपछि बसिनसक्नु भएको स्थानीयको भनाइ छ। बाँदरकै कारण धेरैले गाउँ छाडेका छन्। गाउँमै बसिरहेकाहरू गरिखानु न मरिजानुको अवस्थामा रहेको अर्का स्थानीय दीपक अर्यालले बताए। ‘पहिले खेतबारीको बाली नचलाउने बाँदरले अहिले घरभित्रको पनि बाँकी राख्दैन,’ उनले भने– ‘पाकेको खाना लुटिदिने, पानीको भाँडो घोप्ट्याइदिने गर्न थालेपछि बसिसक्नु छैन। खेतबारीमा छरेको बीउसमेत बाँकी राख्दैन, मान्छे नहुँदा घरको ढोकै फोरेर विध्वंस मच्चाउन थालेका छन्।’ 

बाँदरले खेतबालीमा दुःख दिइरहेको र बाघले दिनहुँ बस्ती पसेर घरपालुवा जनावर मार्न थालेको जनगुनासो बढ्न थालेपछि सो वडामा प्रहरीले स्थानीयसँग मिलेर वडामा गस्ती गरेको हो। 

वडाका गाउँ बस्तीहरूमा बाँदर, बाघ लगायतका वन्यजन्तुले ज्यादै दुःख दिन थालेपछि प्रहरीको सहयोग मागिएको वडा अध्यक्ष रोशनराज गिरीले बताए। ‘बाँदर, बँदेल, मृग लगायतका वन्यजन्तुले पहिलेदेखि वडाका किसानको बालीनाली सखाप पारेर सास्ती भोगिरहेका थिए, पछिल्लो समयमा बाघनै गाउँमा बस्न थालेपछि प्रहरीसँग सहयोगका मागिएको हो’, वडा अध्यक्ष गिरीले भने। 

वन्यजन्तु लुक्ने सम्भावित क्षेत्रमा खोजी गर्दा बाँदर, दुम्सी, कालिज, मृगजस्ता वन्यजन्तु भेटिएपनि बाघ भने नभेटिएको प्रहरीको भनाइ छ। वडाअध्यक्ष गिरीका अनुसार बाघले खाएर छोडेका बाख्राहरूका शरीरका केही भाग भने ठाउँ ठाउँमा भेटिएको थियो। घरपालुवा जनावर खाने बाघले दिउँसै मान्छेलाई समेत झम्टिन थालेपछि प्रहरीको सहयोगमा वडाअध्यक्ष र स्थानीयले बाघ खोज्दै गाउँ बस्ती घुम्ने गरेका छन्। 

‘प्रहरी, स्थानीय र जनप्रतिनिधिको टोलीले किसानहरूलाई दुःख दिने वन्यजन्तुहरूको खोजी गरिरहेका छौं। केही वन्यजन्तुहरू भेटिए पनि बाघ भने फेला पार्न सकेका छैनौं’, अध्यक्ष गिरीले भने। गाउँमा बालबालिका र वृद्धवृद्धाको संख्या बढी रहेको र हिंस्रक वन्यजन्तुको बिगबिगी बढ्न थालेपछि प्रहरीको साहारा लिनुपरेको उनको भनाइ छ। 

पछिल्लो समय बाघले किसानका २० वटा भन्दा बढी खसी, बाख्रा खाएको स्थानीय कृष्ण पराजुलीले बताए। ‘बाँदर, दुम्सीले त दुःख दिइरहेकै थियो, तर अहिले बाघले पनि दुःख दिँदा झन् समस्या थपिएको छ’, उनले भने- ‘वडाभर एकै दिनमा ५/६ वटा बाख्रा बाघले मारिरहेको छ।’ 

यसलाई रोक्न स्थानीय सरकारले थप उपाय अपनाउनुपर्ने उनले बताए। बाँदरको आतंक कम गर्न भने वडाले आगामी हिउँदमा रुख काट्ने योजना बनाएको अध्यक्ष गिरीले सुनाए। वडाबासीले बाँदरबाट निकै सास्ती खेप्नु परेको बताउँदै उनले हिउँदमा झाडी फाँड्ने तथा बाँदर एक रुखबाट अर्को रुखमा जान नमिल्ने हिसाबले रुखहरू काट्ने योजना रहेको उनले बताए। 

गाउँमा युवा कम भएको र वृद्धवृद्धा, महिला, बालबालिकाले सबै फँडानीको काम गर्न नसक्ने गुनासो वडा कार्यालयमा आएपछि वडाले नै रुख काट्ने र झाडी फाँड्ने निधो गरेको उनको भनाइ छ। यसअघि पनि वडाले बाँदरबाट बालीनाली जोगाउन ठाउँ ठाउँमा जाल राख्ने काम गरेको थियो। बँदेलबाट मकैलगायतका बाली जोगाउन विद्युतीय तारबारको काम समेत गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.