श्रीमतीको हत्या गरेर दुर्घटनाको नाटक गर्ने मुखिया पक्राउ

श्रीमतीको हत्या गरेर दुर्घटनाको नाटक गर्ने मुखिया पक्राउ

राजविराज : दुर्घटनामा मृत्यु भएकी भनिएको महिलाको सडक दुर्घटनामा नभई टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेको आरोपमा उनकै श्रीमान पक्राउ परेका छन्।

प्रहरीले प्रमाणहरू संकलन गरेपछि घटनाको करिब एक महिनापछि रूपनी गाउँपालिका–३ हर्दियाका हरेराम मुखियालाई हत्या आरोपमा कारबाही थालिएको सप्तरीका डीएसपी ढुण्डीराज नेउपानेले बताए।

गत भदौ २८ गते राति पौने ११ बजे रूपनी गाउँपालिका–१ स्थित विद्युत कार्यालय नजिक राजविराज रूपनी सडक खण्डमा स४प ५७६० नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। 

घटनामा मोटरसाइकल पछाडि सवार रूपनी गाउँपालिका–३ हर्दियाकी ३७ वर्षीया शिलावती मुखिया मृत अवस्थामा फेला परेकी थिइन्। मोटरसाइकल चालक उनका श्रीमान ३८ वर्षीय हरेराम मुखिया भने सडकमा लडेको अवस्थामा भेटिएका थिए। 

मोटरसाइकल र मोटरसाइकलमा बाँधिएका घरायसी सामानहरूमा कुनै क्षति पुगेको थिएन। दुर्घटना भएको खबर सुनेर हेर्न जाने स्थानीयवासीले उतिबेलै घटना शंकास्पद रहेको बताएका थिए। दुर्घटना भनिएको सवारी साधन र मोटरसाइकलमा बाँधिएको सामानमा क्षति नपुगेको, चालकलाई चोट नलागेको, मोटरसाइकल लडेको बलौटे ठाउँमा गम्भीर चोट लाग्ने अवस्था नरहेको, मृतकभन्दा २० फिट टाढा रहेको ढुंगामा रगत लागेको घटनास्थल हेर्नेहरूले हत्या भएको बताए। 

कतिपयले उतिबेलै घटनास्थलबाट फेसबुकमा शंकास्पद दुर्घटना भनेर लेखे। मुखिया दम्पति हर्दियास्थित घर जानका लागि सहज बाटो नगएर घुमाउरो बाटो लागेकोमा पनि गाउँलेहरूको शंका थियो। जिल्ला प्रहरी कार्यालयले तत्काल प्रेस विज्ञप्ति जारी गरेर दुर्घटनामा महिलाको मृत्यु र उनका श्रीमान घाइते भनेर जनाएको थियो। 

महिलाको दुर्घटनामा नभई हत्या भएको आशंका गर्दै मृतकका माइती पक्षले उजुरी दियो। मृतककी आमा सिरहाको लहानकी देबसुनैर मलाहाले हरेरामले पछिल्लो समय घरेलु हिंसा गर्ने गरेको र झगडाका विषयमा पटक–पटक प्रहरी कार्यालयमा छलफल भएको जानकारी दिइन्। श्रीमती काली, नराम्री भई भनेर झगडा गरिरहने हरेरामले आफन्तमै साली नाता पर्ने युवतीसँग विवाह गर्न चाहेको रहस्य पनि उनले खोलिन्।

चोटपटक नलागे पनि अस्पताल भर्ना भएका हरेराम घाइते नरहेको भन्दै चिकित्सकहरूले पनि आशंका गरे। त्यसदिन बिहान मुखिया दम्पति घरायसी सामान किनमेल गर्न सीमावर्ती भारतको भीमनगर गएका थिए। भिमनगरबाट रूपनी पुग्न मुखियाले ५ घण्टा लगाएका थिए। जानकारहरूका अनुसार मोटरसाइकलमा भिमनगरदेखि रूपनी पुग्न एक घण्टा समय मात्र लाग्छ। 

सप्तरीभन्दा बाहिरै बाटोमा मार्न धेरै ठाउँमा मोटरसाइकल रोकेको तर प्रयास सफल नभएपछि रूपनी नजिक आएर सुनसान रातको समयमा घटना गरेको प्रहरी अनुसन्धानले देखाएको छ। पोलिग्राफ परीक्षणमा ८० प्रतिशत नेगेटिभ बयान दिएका मुखियाले सिम्राहास्थित होटलमा श्रीमतीलाई समेत मादक पदार्थ खुवाएको रहस्यबारे प्रहरी खोजीमा जुटेको छ। 

अभद्र व्यवहारमा मुद्दा चलाएर अनुसन्धान गरिरहेको प्रहरीले हत्या गरी नाटक मञ्चन गरेर हत्या दबाउने प्रपञ्च भएको आरोपमा उजुरी दर्ता गरी अनुसन्धान थालेको अनुसन्धान अधिकृत प्रमोद खडकाले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.