विद्यार्थीहरू पढ्नका लागि बेशी झर्न थाले

विद्यार्थीहरू पढ्नका लागि बेशी झर्न थाले

गोरखा : दसैं, तिहार, छठजस्ता ठूला चाडपर्व सकिएलगत्तै हिमाली भेगका विद्यार्थी पढ्न बेशी झर्न थालेका छन्। चुमनुब्री गाउँपालिकाका विभिन्न ठाउँबस्तीबाट बेशी झर्ने बालबालिकाको मूलबाटोमा ताँती लाग्न थालेको छ।

स्थानीय विद्यालयहरूमा विद्यार्थी संख्या न्यून छ। गाउँका बालबालिका भने स्कूल खोज्दै ह्वार्रह्वार्र बाहिरिएका छन्। उनीहरू कोही गोरखा सदरमुकाम, कतिपय राजधानी तथा कतिपय बालबालिका अन्य पालिकाका विद्यालयमा पढ्न जान लागेको बताउने गर्छन्।

नियमित पढाइ हुने ठाउँ र गुणस्तरीय शिक्षा खोज्दै बालबच्चालाई बाहिर लैजान लागेको अभिभावकहरूको भनाइ छ। ‘राम्रोसँग पढ्छन् कि भनेर काठमाडौं लैजान लागेको’, बच्चाको हात समाउँदै झरेकी सिर्जना गुरुङ भन्छिन्, ‘पछि भविष्य राम्रो हुन्छ कि भनेर दुईवटा बच्चा उतै राखेर पढाएको छु।’ आफ्ना सन्तानलाई आफ्नै काखमा राखेर शिक्षादीक्षा दिने रहर हुँदा हुँदै पनि गुणस्तरीय पढाइका लागि सहर लैजानु परेको उनको भनाइ छ।

गाउँमा पढाइ राम्रो नहुने भएकाले बाहिर लगेर पढाएको चुमनुब्री ३ की धार्नी गुरुङ बताउँछिन्। ‘अब जाडो लागेपछि स्यालाको स्कूल कोखेटारमा चलाउँछन्। यो छोरीलाई त्यहीँ लैजान लागेको’, उनी भन्छिन्, ‘हाम्रो गाउँको ३०, ३५ जना बालबच्चा त्यहाँ जान्छन्।’ स्याला माविको होस्टलमा निःशुल्क बसेर पढ्न पाउने हुँदा गाउँका धेरै बालबालिका त्यहाँ गएको उनको भनाइ छ।

चुमनुब्री गाउँपालिकामा हाल २३ वटा विद्यालय सञ्चालनमा छन्, तर ती विद्यालयले बालबालिकालाई गाउँमै रोक्न भने सकेका छैनन्। चुमनुब्री ६ चुम्चेतका तीनवटा टोलमा करिब एकसय घर परिवारको बसोबास छ। यहाँ आजभन्दा ४७ वर्षअघि चुम्लिङ प्राथमिक विद्यालय स्थापना भएको थियो। त्यहाँ विद्यार्थी संख्या अतिन्यून छ। 

भर्ना रजिस्टरमा ११ जना बालबालिकाको नाम भए पनि दैनिक हाजिर हुने विद्यार्थी संख्या भने चारपाँच जना रहेको प्रधानाध्यापक काजिमान आले बताउँछन्। ‘सक्नेले बाहिर पढाउन लैजान्छन्। नसक्नेले आफूसँगै खेतबारीको काममा, गोठमा लैजान्छन्’, आले भन्छन्, ‘अभिभावकमा गरिबी छ, छोराछोरी पढाउनुपर्छ भन्ने चेतनाको पनि अभाव छ।’ 

गाउँका बालबालिकालाई गाउँकै विद्यालयमा पढाउने वातावरण बनाउन गाउँपालिकासँग ठोस योजना छैन। भौगोलिक विकटता तथा गरिबीका कारण विद्यार्थीले जता सुविधा पाउँछन्, आफ्ना बालबच्चा उतै लाने गरेको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख वासुदेव ओलीको भनाइ छ। ‘निःशुल्क खानबस्न र पढ्नका लागि स्पोन्सर खोज्छन्। स्पोन्सरले जता लैजान्छन्, उतै पठाउँछन्’, ओली भन्छन्, ‘छन त गाउँपालिकामा इसिडीसहित २३ वटा विद्यालय छन्। टोलटोलमा इसिडी खोलेका छौँ। बालबालिकालाई आकर्षित गर्न पालिकाले निःशुल्क दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ। कतिपय स्कूलमा शिक्षा विभागले तोकेको हिमाली छात्रावासमा गाउँपालिकाले थप गरेर पनि सेवा सुविधा दिइरहेको छ।’ तर बालबालिकालाई गाउँकै स्कूलमा राख्न नसकिएको उनको भनाइ छ।

कुनै विद्यालयमा शिक्षक नियमित नआउने, कुनै विद्यालयमा खेताला शिक्षक पठाउने, कुनै विद्यालयमा विद्यार्थी नियमित नआउँदा भोटखोलाका विद्यालयमा पठनपाठनको अबस्था कमजोर छ। भौगोलिक विकटताका कारण शिक्षा विभाग तथा स्थानीय तहको शिक्षा शाखाको समेत प्रत्यक्ष निगरानी पुग्न सकेको छैन।

वडा नम्बर २ को स्याला मावि, वडा नम्बर ३ को वुद्ध मावि, वडा नम्बर ४ को नुब्री आधारभूत विद्यालय, वडा नम्बर ६ को सिद्धगणेश आधारभूत र वडा नम्बर ७ को वुद्ध आधारभूत विद्यालयमा निःशुल्क आवासीय सुविधासहित पढ्न पाउने व्यवस्था छ। भोटखोलाका बालबालिकालाई यी सुविधाले समेत आकर्षित गर्न सकेको छैन। पढ्नका लागि बालबालिका बाहिरिने क्रम रोकिएको छैन।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.