एमालेले मिसन ग्रास रूटबाट सुरु गरेको जनता भेट्ने कार्यक्रम पछि नेकपा माओवादी केन्द्रले पनि ‘जनतासँग माओवादी, रूपान्तरण अभियान’ सञ्चालन गरेको छ।
काठमाडौं : नयाँ दलहरूप्रतिको आकर्षण देखिएपछि पुराना दलहरू पनि जनतामा जान होडबाजी गर्न थालेका छन्। एमालेले मंसिरको १४ गते बैतडीको झुलाघाटबाट संकल्प यात्रा सुरु गरेपछि सुदूरपश्चिममा अरू दल पनि सल्बलाउन थालेका छन्।
भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लासँग जोडिएको बैतडीको झुलाघाटमा झन्डोत्तोलन गरेर एमाले अध्यक्ष ओलीले यात्राको शुभारम्भ गरेका थिए।
राजनीतिक शास्त्रका उपप्राध्यापक देवराज अवस्थी भन्छन्, ‘पुराना दलहरूमा बल्ल जनतामाझ जानुपर्छ भन्ने भावना आएको छ। चुनावका बेलाबाहेक दलहरू गाउँमा जाने परम्परा थिएन। तर, एमालेले ‘मिसन ग्रास रुट र समृद्धिका लागि संकल्प यात्रा गरेर जनता भेट्ने काम गरेको छ। यो मिसन ८४ कै लागि हो।’
दलहरूमा अहिले जनताले जे पनि गर्न सक्छन्, उनीहरू अब भने कुनै एक दलको पेवा बनेर बस्दैनन् भन्ने भान हुन थालेको विश्लेषकहरू बताउँछन्। सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्टार डाक्टर हेमराज पन्तको विचारमा पनि पुराना दलहरूमा नयाँ आइरहेका दलहरूले उछिन्ने डर पैदा भएको छ। डाक्टर पन्त भन्छन्, ‘२०७९ सालको स्थानीय निर्वाचनमा देखिएका केही स्वतन्त्र तथा युवा मेयरहरूको सक्रियता, आमचुनावमा आएको नयाँ शक्तिहरूको जनमत देखेर ठूला र पुराना दलहरूमा अर्को चुनावको चिन्ता लाग्न थालेको छ।’
एमालेले मिसन ग्रास रूटबाट सुरु गरेको जनता भेट्ने कार्यक्रम पछि नेकपा माओवादी केन्द्रले पनि ‘जनतासँग माओवादी, रूपान्तरण अभियान’ सञ्चालन गरेको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले मंसिर २२ गते कैलालीको धनगढी उपमहानगरपालिकालको वडा नम्बर १६ घसिटा भन्ने स्थानमा कार्यकर्ता भेलालाई सम्बोधन गरे।
चुनाव जितेपछि सत्ताकै दाउमा लागि रहने र जनतामाझ नेताहरू नआउने जनताको व्यापक गुनासोपछि दलहरूले अहिले जनतामाझ जाने कार्यक्रमहरू सञ्चालन गरेको एमाले नेता लालबहादुर थापा बताउँछन्। थापा भन्छन्, ‘दलहरूलाई सानो ठूलो साइज बनाउने जनता नै हो, जनता माझ भोटका लागि मात्रै जाने होइन, जितेपछि पनि जनताका सुख–दुःख सुन्न जानुपर्छ।’ नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सुदूरपश्चिमको डडेलधुरा, बझाङलगायतका स्थानमा सभा, सम्मेलन गरिसकेको छ।
संगठन विस्तार र जनतासँग जोडिन भन्दै रास्वपाले सुदूरपश्चिममा गतिविधि बढाएको छ राजनीतिक विश्लेषक शिवहरी मुडभरी भन्छन्, ‘यो दलहरूको मध्यावधि निर्वाचनको तयारी हो। अबको १ वर्षभित्रै सत्तापरिवर्तनको खेल सुरु भइहाल्छ। अहिले पो संविधानअनुसार सत्तापरिवर्तन गर्न पाइँदैन, २ वर्षको अवधि जान दिनुस्, देशमा सत्ता परिवर्तनका खेलहरू सुरु भइहाल्छन्।’