परीक्षा शुल्कको रसिद माग्दा विद्यार्थी कुटिए, विरोध प्रदर्शनले राजविराज तनावग्रस्त

परीक्षा शुल्कको रसिद माग्दा विद्यार्थी कुटिए, विरोध प्रदर्शनले राजविराज तनावग्रस्त
कुटपिट घटनाको विरोधमा विद्यार्थीहरुको विरोध प्रदर्शन। तस्बिर : मनोहर पोखरेल
सुन्नुहोस्

राजविराज : तोकिएको भन्दा बढी परीक्षा शुल्क लिएकोबारे प्रश्न उठाउँदा राजविराज नगरपालिकास्थित एक विद्यालयका दुई विद्यार्थीमाथि कुटपिट भएको छ।

राजविराज-१० स्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयको कक्षा १० प्राविधिकतर्फ अध्ययनरत १६ वर्षीय विकास कुमार मण्डल र रोशनकुमार साहलाई प्रधानाध्यापक रमानन्द सुनरैत यादव र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रितेश यादवले कुटपिट गरेका हुन्।

विद्यालयले परीक्षा र रजिष्ट्रेशन शुल्क मनपरी लिइरहेको विषयमा प्रश्न उठाउँदै पैसा तिरेबमोजिम रसिद मागेपछि विवाद बढेको हो। विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै विद्यालय सुधार सहयोगबापत विद्यार्थीसँग रकम माग गरेपछि केही विद्यार्थीहरूले मनोमानी शुल्कको मारमा परेको भन्दै विरोध जनाएका थिए। अतिथि सत्कार, बिजुली बिल, अतिरिक्त समय शिक्षक, कम्प्युटर शिक्षा, ई-लाइब्रेरीका लागि विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विद्यार्थीबाट विद्यालय सुधार सहयोग शुल्क लिइएको प्रअ यादवले बताए।

परीक्षाको फर्म भरेबापत शुल्क तिरे पनि विद्यालयले परीक्षा शुल्कको नाममा थप रकम मागेको विषय सार्वजनिक गर्दा आफूहरूलाई निर्घात कुटपिट गरेको घाइते विद्यार्थीहरूले सुनाए। 'कक्षा १० को फर्म भर्न अन्य विद्यालयमा पाँच सय लिए पनि हाम्रोमा एक हजार रुपैयाँ शुल्क लिइएको छ। त्यो तिरेकोमा पछि परीक्षाको प्रवेश पत्र लिन खोज्दा थप चार सय रुपैयाँ मागे,' विकासले भने।

मनोमानी रकम असुल गरेको भन्दै विरोध गरेको संवादसहितको भिडिओ साथीहरूले फेसबुकमा पोस्ट गरेपछि आवेगमा आएका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षले कुटपिट गरेको विकासले बताए। विद्यालयको बेइज्जत गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रितेश, प्रधानाध्यापक रामानन्द र बाहिरबाट बोलाइएका उमेश यादव र प्रकाश यादवले कुटपिट गरेको रोशनले बताए। 

उनीहरूका अनुसार फलामको रडले कुटपिट गरेर आरोपितहरूले कपडा खोल्न लगाएर नांगो बनाई भिडिओ बनाएर राखेका छन्। विरोध गरेमा वा घटनाबारे कसैलाई भनेमा नांगो भिडिओ फेसबुकमा पोष्ट गरदिने धम्कीसमेत दिएको उनीहरूले बताएका छन्। 

विद्यार्थीहरूमाथि कुटपिट गरी घाइते बनाएको घटनाको विरोधमा बुधबार बिद्यार्थीहरूले राजविराजमा सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन्। घटनाका दोषी प्रधानाध्यापक रामानन्द र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रितेशलगायतमाथि कारबाहीको माग गर्दै बिद्यार्थीहरूको जुलुसले राजविराजमा बृहत् विरोध प्रदर्शन गरेका हुन्। 

आक्रोशित विद्यार्थीहरूले नाराबाजी गर्दै राजविराज नगर परिक्रमा गर्नुका साथै शिक्षा विकास तथा समन्वय इकाई, राजविराज नगरपालिकालगायत सरोकारवाला कार्यालय पुगेर घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरे। उनीहरूले सहरको विभिन्न भागको परिक्रमा गर्दै सहिद दशन चोकमा चक्का जाम गर्नुका साथै नगरपालिका कार्यालयमा प्रदर्शन गर्दा कामकाज प्रभावित भएको छ। राजविराज तनावग्रस्त भएपछि सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालित भएको छ।

कक्षा ९ का लागि ५ सय र कक्षा १० का लागि एक हजार रुपैयाँ रजिष्ट्रेशन शुल्क लिइरहेको स्विकारे पनि प्रधानाध्यापक यादवले विद्यार्थीलाई कुटपिट नगरेको दाबी गरे।

उता घाइते विद्यार्थीको आँखा, पिठ्यु र शरिरको विभिन्न भागमा चोट लागेको छ। उनीहरूको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भएको छ। विभिन्न विद्यार्थी संगठनहरूले कुटपिट निन्दनीय र खेदजनक भएको भन्दै सम्बन्धित दोषीलाई कारबाही गर्न माग गरेका छन्। विद्यार्थी संगठनका नेताहरु समेत आन्दोलनमा प्रत्यक्ष संलग्न रहेर साथ दिइरहेका छन्। विद्यार्थी नेताहरुले आन्दोलन जारी राख्ने भन्दै आरोपितहरूलाई कारबाही नगरिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.