साउदीमा मदिरा उत्पादन तथा ओसारपसार अभियोगमा २९६ जना नेपाली जेलमा, कम्पनी छोडेर भाग्‍ने बढे

साउदीमा मदिरा उत्पादन तथा ओसारपसार अभियोगमा २९६ जना नेपाली जेलमा, कम्पनी छोडेर भाग्‍ने बढे
तस्बिर : अन्नपूर्ण

साउदी : खाडी मुलुकमध्ये साउदी अरेबियालाई वैदेशिक रोजगारको लागि अवसरको रूपमा हेरिन्छ। जहाँ ४ लाख नेपाली कार्यरत छन्। रोजगारीको लागि जाने संख्या पनि उल्लेखनीय छ।

पछिल्लो समयमा साउदीमा रहेका नेपालीहरू विभिन्न प्रलोभनमा परी कानुन र नियम विपरीत काम गर्दा जेल पर्ने गरेका छन्। दूतावास रियादमा कार्यरत श्रमसहचारी देवेन्द्र कार्कीका अनुसार हालसम्म विभिन्न अपराधमा संलग्न ४ सय ८० जना नेपाली जेल परेका छन्।

तीमध्ये २ सय ९६ जना मदिरा उत्पादन, सेवन र ओसारपसारमा संलग्न रहेको पाइएको हो। ९९ जना लागु‍औषध ओसारपसारमा जेल परेका छन् भने बाँकी ८५ जना  चोरी, महिला जिस्काउने र अन्यमा कसूरमा जेल परेको दूतावासका सहचारी कार्कीले जानकारी दिए।

वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपालीहरू कार्यरत कम्पनी छोडेर भाग्ने  संख्या पनि दैनिकरूपमा बढिरहेको पाइएको छ। साथै हालः श्रम सम्झौताभन्दा बढी लोभ गर्ने र जसरी पनि पैसा कमाउन कानुन विपरीत काम गर्नेहरू समस्यामा परेपछि कम्पनी छोडेर भाग्ने गरेका हुन्।

नेपाली दूतावासका अनुसार हालसम्म कम्पनी छोडेर भाग्नेको संख्या १२ हजार बढी रहेको छ। साउदी अरेबिया पठाउने नेपाली कामदारूको  कार्यरत कम्पनी, तोकिएको काम तथा समयमा तलब सेवा सुविधाको उपलब्ध नगराई नेपालीलाई अलपत्र  पार्ने २० मेनपावरको कामकारबाहीमा दूतावासले रोक लगाएको छ।

द्वितीय सचिव टीकाराम उपाध्यायले साउदीमा कार्यरत नेपाली कामदारको मृत्यु संख्या बढ्दो रहेकाले यसलाई रोक्न  खानपिन र स्वास्थ्य सुरक्षामा जोड दिन आग्रह समेत गरेका छन्। मंसिरभित्र १३ जना नेपालीको मृत्यु भएको छ। 

कम्पनी छाडेर भाग्नुको कारण 

२२ महिनाअघि  साउदी पुगेका काभ्रेका विक्रम साथीहरूको लहैलहमा लागेर कार्यरत कम्पनीबाट बिना जानकारी भागेर अवैधानिकरूपमा काम गर्न पुगे। अहिले उनी अलपत्र अवस्थामा छन्। ‘अहिले मसँग खाने बस्ने तथा नेपाल जाने रकम समेत छैन,' उनले भने, 'दोधारमा परेँ।'

उनले कार्यरत कम्पनीमा काम गर्दा सम्झौताअनुसार १५ सय रियाल प्रतिमहिना पाउँथे। तर, साथीभाइको कुरामा लागि २५ सय रियालभन्दा बढी कमाउने आशमा कार्यरत कम्पनीबाट भाग्दा अहिले उनी अलपत्र परेका हुन्। उनीविरुद्ध पहिला कार्यरत कम्पनीले जरिवाना र चोरी केसमा मुद्दा हालेको छ।

त्यस्तै डोल्पाका विशालले दुई वर्ष पहिला साउदीको एक रेस्टुरेन्टमा कार्यरत रहँदा नेपाली साथीभाइको कुरा सुनी कम्पनी छोडेर भागे। उनी पनि अहिले अलपत्र छन्। ‘धेरै कमाउने आशामा साथीको कुरा सुनेर  साउदीको कानुन अनुसार मदिरा (रक्सी) बनाउने र बेच्ने काममा लाग्दा अहिले आफू जेलमा बस्नु परेको तीतो अनुभव सुनाए। 

उनी हाल स्वदेश फिर्ताको पर्खाइमा छन्। उनले आफूसँगै काम गर्ने अरू २१ जना नेपालीलाई समेत अवैधानिक रुपमा काम गरेको र साउदीको नियमविपरीत मदिरा बनाउने र बेच्ने गरेको आरोपमा जेलमा रहेको बताए।

जेलमा रहेका ओखलढुंगाका रामले भने,'१८ महिना पहिला साथीभाइसँग रमाइलो गर्न साथीको कोठामा ८/१० जना जम्मा भएका थियौं। मदिरा पिउने सिलसिलामा साथीभाइबीच झगडा पर्‍यो। पुलिस पनि तत्काल आएर समातेर लग्यो। हामी जेल परेको खबर कम्पनीलाई दिएलगत्तै कम्पनीले पनि यहाँको नियम कानुनविरुद्ध काम गरेको भन्दै उल्टो हामीलाई कम्पनीबाट सामान चोरी गरेको भनेर जरिवाना स्वरुप ४० हजार रियालसहित केस हालिदियो। अदालतले पनि दोषी करार दिँदै जेल चलान गर्‍यो।’ 

बाग्लुङका चेतनका अनुसार दुई वर्षअघि साउदीको अल हबिद कम्पनीमा ड्राइभर भिषामा आएका थिए। तर, बीचैमा साथीभाइको कुरामा लागेर कार्यरत कम्पनीभन्दा दुई गुणा बढी पैसा कमाउने आशले कम्पनी छोड्दा अहिले आफू अलपत्र परेको उनको भनाइ छ। 

‘पुरानो कम्पनीमा काम गर्दा  ८० हजार रुपैयाँ बढी घर ठाउँथेँ,तर, लोभमा परेर कम्पनी छोडेँ, सुरुमा त राम्रो कमाएँ पनि तर पछि थाहा भयो कि भागेर काम गर्दा साउदीको नियम र कानुन अनुसार अवैधानिक मानिदो रहेछ,' उनले भने।

कम्पनीले आफूविरुद्ध चोरी गरेको र साथीभाइलाई भगाएको आरोपमा २० हजार साउदी रियाल जरिवाना गरी केस दर्ता गरेको बताए।

५ महिना अगाडि साउदी आएकी हाल जेलमा रहेकी सिन्धुपाल्चोकी कान्छीमाया तामाङले पैंसाको लोभमा पर्दा कारागार आउनुपरेको गुनासो गरिन्। 'काम गर्दा महिनाको ४० हजार नेपाली रुपैयाँ बचत हुन्थ्यो। साथीभाइको कुरामा लागेर भागेँ। सुरुमा राम्रो कमाइ भयो र खुसी पनि थिएँ। एकदिन नचिनेको फोन आयो,रक्सीको  अर्डर आयो,लोकेसन पठाएँ । ती साउदीका सीआईडी रहेछन् । मसँगै अन्य साथीलाई समातेर लग्यो। अहिले मसँगै अन्य ३० जना नेपाली जेलमा छौं।अब घर फर्न्छौं या फर्कदैनौं केही थाहा छैन।'

रुकुमका सोम तामाङ १ वर्षपछि घर फर्कने क्रममा एयरपोर्टमा एक नेपाली साथीसँग भेट भयो। उनले १० ग्राम काँचो सुन लगेबापत १०–१५ हजार नेपाली रुपैयाँ दिने  र बस्ने होटेलको व्यवस्था गरिदिने आश्वासन दिए। आफूलाई फाइदा हुने आशमा सुन बोकी नेपालका लागि उडेँ। एयरपोर्ट पुग्ने वित्तिकै प्रहरीको फन्दामा परिहाले।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.