दोलखा महोत्सवमा पाँच करोड भन्दा बढीको कारोबार
दोलखा : दोलखा महोत्सवमा पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। दोलखा उद्योग वाणिज्य संघले सदरमुकाम चरिकोटमा पुस १३ देखि २४ गतेसम्म आयोजना गरेको बृहत दोलखा महोत्सवमा पाँच करोडभन्दा बढीको कारोबार भएको हो।
१२ दिनसम्म सञ्चालन भएको महोत्समा झण्डै एक लाख मानिसहरूले अवलोकन गरेको संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले बताए। मंगलबार सकिएको महोत्सवमा भीमेश्वर नगरपालिकासहित जिल्लाको नौवटै पालिका र विभिन्न ४० भन्दा बढी संघ संस्थाको सहकार्य रहेको थियो।
महोत्सवमा राखिएका एक सय ५० वटा स्टलमा स्थानीय कृषिजन्य उत्पादन, हस्तकला, फलफूल, खाना तथा कपडा लगायतका सामग्रीहरू रहेको र ती स्टलहरूमा दैनिक ४० लाखसम्मको कारोबार भएको संघले जनाएको छ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, ब्याण्डमिन्टल खेल प्रतियोगिता, गजल साँझ, स्टिट फुड फेस्टिबल लगायतका कार्यक्रम समेत सञ्चालन गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !