मार्जिन प्रकृतिको कर्जा ५ महिनामा ८१ अर्ब

मार्जिन प्रकृतिको कर्जा ५ महिनामा ८१ अर्ब

काठमाडौं : बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो राखेर प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा पछिल्लो १ महिनामा करिब ३ करोड रुपैयाँ हाराहारी मात्रै प्रवाह भएको छ। आर्थिक वर्ष २०८०/८१ मंसिरसम्म मार्जिन प्रकृतिको कर्जा ८१ अर्ब १९ करोड ४ लाख रुपैयाँ प्रवाह भएको छ।

आव २०८०/८१ कात्तिकसम्मको तथ्यांकअनुसार मार्जिन प्रकृतिको कर्जा ८१ अर्ब १६ करोड ८ लाख रुपैयाँ प्रवाह भएको थियो। एक महिनाको अन्तरमा भएको यस्तो कर्जावृद्धि अत्याधिक भने होइन। किनभने यसबीच बैंकहरूले घटाएको निक्षेपको ब्याजदरको प्रभाव कर्जाको ब्याजदरमा परिसकेको थिएन। तर, एकदम न्यून मात्रै घट्यो। यद्यपि अझै माघमा ब्याजदर घट्ने क्रममा छ। यसो हुँदा मार्जिन प्रकृतिको कर्जामा आकर्षण हुनसक्ने लगानीकर्ता बताउँछन्। 

यता गत वर्षको तुलनामा भने ६.४ प्रतिशतले कर्जा वृद्धि भएको छ। गत आवको ५ महिनामा ७५ अर्ब ९ करोड १६ लाख रुपैयाँ प्रवाह भएको थियो। यो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत संस्थाहरूको सेयर किन्ने प्रयोजनका लागि सेयर धितो राखी प्रवाह भएको कर्जा मार्जिन प्रकृतिको कर्जा हो। अहिले यस्तो कर्जा गत असारको भन्दा ४ अर्ब ८८ करोड २१ लाख रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

राष्ट्र बैंकले सेयर धितोको जोखिम भार घटाएपछि यस्तो प्रकृतिको कर्जा लिन थप प्रोत्साहन मिलेको छ। लगानीकर्ता पनि उत्साहित देखिन्छन्। उक्त प्रोत्साहनले पछिल्लो समय सेयर बजारले राम्रो गति पनि लिँदै आएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २०८८.९९ विन्दुमा आएको छ। उक्त दिन ३ सय ७ कम्पनीको २ करोड २१ लाख ३२ हजार ७ सय ६८ कित्ता सेयर ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो। यसदिन १२ कम्पनीको सर्किट लेभलमा कारोबार भयो।

मार्जिन कर्जा करोडमाथि लिने बढी

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाबाट मार्जिन प्रकृतिको कर्जा लिनेको अवस्था १ करोड रुपैयाँमाथि लिनेको बढी देखिन्छ। सोहीअनुसार गत मंसिरसम्ममा लगानीकर्ताले १ करोडभन्दा माथिको ऋण ४७ अर्ब ८४ करोड ५४ लाख रुपैयाँ बराबरको प्रवाह भएको छ। यो कुल मार्जिन कर्जाको ५८.९३ प्रतिशत हो। यसअघिको वर्ष मंसिरमा यस्तो ऋण ४२ अर्ब ८० करोड ७५ लाख रुपैयाँ थियो। यसपछि ५० लाखदेखि १ करोड रुपैयाँभन्दा माथिको ऋण ११ अर्ब ८४ करोड ५१ लाख रुपैयाँ बराबरको प्रवाह भएको छ। यो कुल मार्जिन कर्जाको १४.५९ प्रतिशत हो।

यस्तै २५ लाखदेखि ५० लाखभन्दा माथिको ऋण १४ अर्ब १ करोड ६ लाख रुपैयाँ बराबरको प्रवाह भएको छ। यो कुल मार्जिनको १७.२६ प्रतिशत हो। यस्तै कुल मार्जिन कर्जाको सबैभन्दा कम २५ लाख रुपैयाँभन्दा कम ऋण रहेको छ। जसमा कुल मार्जिन कर्जाको ९.२२ प्रतिशत अर्थात् ७ अर्ब ४८ करोड ९२ लाख रुपैयाँबराबर प्रवाह भएको छ। सेयरधनीहरूले बैंक तथा वित्तीय संस्थाबाट पछिल्लो व्यवस्थाअनुसार व्यक्तिगतका लागि १५ करोड र संस्थागतका लागि २० करोड रुपैयाँ बराबरको मार्जिन कर्जा लिन पाइन्छ। 

विगत केही वर्षको प्रवृत्ति हेर्दा दुई आर्थिक वर्षयता बैंक तथा वित्तीय संस्थाको मार्जिक प्रकृतिको कर्जा प्रवाह घटेको थियो। केन्द्रिय बैंकले कडाइ गर्नुअघि आर्थिक वर्ष २०७६/७७ मा  ५० अर्ब ४० करोड ९६ लाख रुपैयाँ बराबरको मार्जिन प्रकृति कर्जा प्रवाह भएकोमा आव २०७७/७८ मा ११०.८४ प्रतिशतले  बढेको थियो। उक्त प्रतिशतले कर्जा वृद्धि हुँदा वार्षिक १ खर्ब ६ अर्ब २८ करोड १५ लाख रुपैयाँ बराबरको प्रवाह भएको थियो। तर, राष्ट्र बैंकको ४/१२ करोडको सीमाले कसेसँगै आव २०७८/७९ मा २४.२५ प्रतिशतले घटेर ८० अर्ब ५० करोड ७७ लाख रुपैयाँ मात्रै प्रवाह भएको थियो। 

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत ४/१२ करोड रुपैयाँको सीमा लगाएर सेयर बजारलाई नियन्त्रण गरेपछि सेयर बजार प्रभावित भएको थियो। जसमा मार्जिन प्रकृतिको कर्जामा एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँको सीमा लागू गर्‍यो। यसको प्रभावले पुँजीबजारमाथी उठ्नै सकेन।

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९८ मा पुगेको नेप्से करिब १४ सय अंकले घटेर १८१८ अंकमा झर्‍यो। यसबीच लगानीकर्ताले धेरै सम्पत्ति गुमाए। राष्ट्र बैंकको सीमाप्रति लगानीकर्ताबाट टीकाटिप्पणी भयो। यसपछि ४ संस्था हटाएर जुनसुकैबाट १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था गर्‍यो। अझ पछिल्लो समय केन्द्रीय बैंकले व्यक्तिगतका लागि १५ करोड र संस्थागतका लागि २० करोड रुपैयाँ बनायो। तर, लगानीकर्ताले अझै यस्तो क्याप हटोस् भन्ने चाहेका छन्। राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामार्फत मौद्रिक नीतिमा संशोधन गर्दै ५० लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गर्ने घोषणा गर्‍यो। जबकी यसअघि जोखिम भार १५० प्रतिशत थियो। यससँगै बजारमा सकारात्मक प्रभाव पनि देखियो।

घट्दो ब्याज र मार्जिन प्रकृतिको कर्जा

यतिबेला बैंक तथा वित्तीय संस्थाका कर्जा लगानी क्षमता अधिक छ। तर, नयाँ कर्जाको माग खासै छैन। यसरी बैंकको लगानीयोग्य पुँजी (तरलता) अधिक र कर्जा प्रवाह खासै नभएकाले अझै माघ १ गतेबाट अधिकांश बैंकहरूले निक्षेपको ब्याजदर घटाउने तयारीमा छन्। यसैबीच आगामी माघ १ बाट लागू हुने ब्याज दुई बैंकले प्रकाशित गरिसके। जसअनतर्गत कुमारी बैंकले माघबाट १ वर्ष र यसमाथिको मुद्दती निक्षेपमा अधिकतम ब्याज ८.११ प्रतिशतमा सीमित राख्ने भएको छ। त्योभन्दा कम अवधिका लागि बैंकले ६.५ देखि ७.२५ प्रतिशतमात्र ब्याज दिने भएको छ। जबकी यसअघि पुसमा ९.०१ प्रतिशत अधिकतम ब्याज दिएको थियो। उक्त बैंकको मंसिरको आधारदर १०.६६ प्रतिशत छ।  

यसैगरी एनआईसी एसिया बैंकले ८.६७ प्रतिशतको ब्याजलाई ८.०६ प्रतिशतमा झारेको छ । यो ब्याज दुई वर्षदेखिमाथि मुद्दती निक्षेपका लागि तोकेको हो। यसपछि २ वर्षसम्म राख्नेका लागि ७.७५ प्रतिशत, डेढ वर्ष राख्नेले ७.५ र एक वर्ष राख्नेले ७.२५ प्रतिशत ब्याज रहेको बैंकले जनाएको छ।  पछिल्लो समय महिनै पिच्छे निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि घट्ने भएपछि ऋणीलाई सहज हुने भएको छ। यसले अहिले पर्याप्त लगानीयोग्य पुँजी भइरहेको तर कर्जाको माग अपेक्षाअनुसार हुन नसकेको बैंकरले बताउँदै आएका छन्। 

बैंक तथा वित्ताीय संस्थाबाट पछिल्लो व्यवस्थाअनुसार व्यक्तिगतका लागि १५ करोड र संस्थागतका लागि २० करोड बराबरको मार्जिन कर्जा लिन पाइन्छ। 

मार्जिन प्रकृतिको कर्जा
 
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत संस्थाहरूको सेयर किन्ने प्रयोजनका लागि लगानीकर्ताले आफूसँग भएको सेयरलाई बैंक तथा वित्तीय संस्थामा धितो राखी लिने कर्जालाई मार्जिन प्रकृतिको कर्जा भनिन्छ।

पछिल्लो समय राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जा ग्राहकले सुरक्षणबापत राखिने सेयरको मूल्यांकन गर्दा नेप्सेबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ। उक्त रकमको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ। यसअघि १२० कार्य दिनको मूल्यांकन गर्न पाइन्थ्यो। अर्थतन्त्रले अधिकांश क्षेत्र अस्तव्यस्त रहँदा सेयर कारोबार भने प्रत्येक दिन अर्बौं रुपैयाँको हुने गरेको छ। 

सेयरमा लगानी गर्नेका लागि सेयर मार्जिन प्रकृति कर्जा लिन सकिन्छ भने यसबाहेक पनि लगानीकर्ताले आफूसँग भएको सेयर धितो राखेर अन्य शीर्षकमा समेत कर्जा लिन पाउने व्यवस्था छ। उद्यमी व्यवसायीले उद्योग व्यवसायका लागि अन्य धितोसँगै सेयरसमेत धितो राख्न चाहेमा सेयर 
धितो राखी कर्जा लिन पाइन्छ।

बैंक तथा वित्तीय संस्थाले व्यावसायिक प्रयोजनका लागि प्रवाह भएको कर्जाका लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोको रूपमा सेयरसमेत धितोको रुपमा राख्न सक्छन्। अन्य संस्थाको सेयर किन्ने प्रयोजनदेखि बाहेकका व्यावसायिक प्रयोजनका लागि सेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमा १५/२० करोड रुपैयाँ लागू हुँदैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.