नेपाली चिकित्सकको अगुवाईमा शिक्षण अस्पताल महाराजगन्जमा पहिलो पटक कलेजो प्रत्यारोपण
काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा कलेजो प्रत्यारोपण गरिएको छ। वरिष्ठ कलेजो प्रत्यारोपण सर्जन प्रा.डा रमेश सिंह भण्डारी नेतृत्वको टीमले कलेजो प्रत्यारोपण गरेको हो। नेपाली चिकित्सकको अगुवाईमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको शिक्षण अस्पताल महाराजगन्जले जनाएको छ।
४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको हो। ४० वर्षीया श्रीमतीले उनलाई दिएको कलेजो प्रत्यारोपण गरिएको हो।
यस अघि गरिएका कलेजो प्रत्यारोपणमा अन्य मुलुकका चिकित्सकहरुको संलग्नता प्रत्यारोपण गरिँदै आएको थियो। कलेजो प्रत्यारोपण सर्जन भण्डारीका अनुसार, कलेजो प्रत्यारोपणमा नेपाली चिकित्सकहरुको टीमद्वारा गरिएको प्रत्यारोपण कोशेढुंगा सावित भएको छ। अब नेपाली चिकित्सकहरुद्वारा नै दिगो ढंगले प्रत्यारोपण गर्न सक्ने बाटो खुलेको छ।
कलेजो दान गरेकी महिला डिस्चार्ज भइसकेकी छन्। कलेजो प्रत्यारोपण गरेका पुरुष भने आज डिस्चार्ज हुँदैछन्। उनको २७ पुसमा प्रत्यारोपण गरिएको हो।
त्रिवि शिक्षण अस्पतालमा यस अघि १७ जेठ २०७६ पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो। हालसम्म १० जना व्यक्तिमा सफल कलेजो प्रत्यारोपण भइसकेको डा. भण्डारीले जानकारी दिए।