टिचिङमा पनि कलेजो प्रत्यारोपण

टिचिङमा पनि कलेजो प्रत्यारोपण

काठमाडौं : त्रिवि शिक्षण (टिचिङ) अस्पताल महाराजगन्जमा पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको छ । ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय पितालाई प्रत्यारोपण गरिएको हो ।

ती व्यक्तिको स्वास्थ्य सामान्य छ । दाता र प्रत्यारोपण गरिएका दुवैजनालाई सघन उपचार कक्षमा राखिएको छ । उनीहरुलाई एक साताभन्दा बढी समय सघन उपचार कक्षमै राखेर उपचार गरिने अस्पतालले जनाएको छ ।

प्रा.डा. रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको चिकित्सकको १६ घन्टा लगाएर प्रत्यारोपण गर्न सफल भएको हो । शुक्रबार बिहान आठ बजे सुरु गरिएको प्रत्यारोपण कार्य शनिवार मध्याह्न १२ बजे सकिएको भण्डारीले बताए ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रत्यारोपणमा संलग्न नेपाली शल्यचिकित्सकलाई भारतको एपोलो अस्पतालका डा. निरभ गोयलले सघाएका थिए । 

खड्गाले पहिलो प्रत्यारोपण कार्य सफल भएकोमा खुसी व्यक्त गरे । ‘कलेजो प्रत्यारोपण कार्यलाई निरन्तरता दिने सोच बनाएका छौं । दाता भेटिएको अवस्थामा हरेक महिना कम्तीमा एक जनामा प्रत्यारोपण गर्ने योजना छ’, उनले भने ।

कलेजो प्रत्यारोपणको नेतृत्व गरेका डा. भण्डारीले अस्ट्रेलियामा विशेष तालिम लिएका थिए । डा. भण्डारीले पाँच वर्षदेखि प्रत्यारोपण कार्यलाई अघि बढाउन व्यक्तिगत पहल गर्दै आएका थिए ।

प्रत्यारोपण टोलीमा एनेस्थेसियातर्फ डा. अमित भट्टराई, डा. अनिल श्रेष्ठ, डा. पंकज जोशी, क्रिटिकल केयरमा डा. सुवास आचार्य, डा. प्रमेशसुन्दर श्रेष्ठ, चिकित्सक, नर्स एवं स्वास्थ्यकर्मी सहित झन्डै ५० जना संलग्न थिए ।

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले प्रत्यारोपण कार्यको पूर्वाधारका लागि एघार करोड बजेट निकासा गरेका थिए ।

नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण कार्य भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा सुरु गरिएको थियो । ०७३ मंसिर २२ गते कलेजो प्रत्यारोपण सुरु गरिए पनि त्यसले निरन्तरता पाएको छैन ।

२५ लाखमै प्रत्यारोपण

कलेजो प्रत्यारोपण कार्य जटिल र खर्चिलो मानिन्छ । तर शिक्षण अस्पतालले भने न्यून खर्चमा प्रत्यारोपण गर्ने दाबी गरेको छ ।

कलेजो प्रत्यारोपणका लागि नेपालीहरू भारतमा जाने गरेका छन् । चिकित्सकका अनुसार भारतका अस्पतालमा झन्डै ५० लाख खर्च हुने गरेको छ । आवतजावत खर्च जोड्दा झन्डै ७५ हजारको हाराहारीमा खर्च हुन्छ ।

नेपालबाट बर्सेनि झन्डै ६० भन्दा बढी बिरामी प्रत्यारोपण गर्न भारत जाने गरेको अनुमान छ । तर शिक्षण अस्पतालले भने झन्डै २५ लाखमा प्रत्यारोपण गर्ने योजना बनाएको छ ।

प्रत्यारोपणमा अगुवाइ गरेका डा. भण्डारीले सरकारले उपचारमा सहुलियत दिए कमजोर आर्थिक अवस्थाका बिरामीलाई सहयोग पुग्ने बताए ।

कसरी बिग्रन्छ कलेजो ?

धुम्रपान एवं मद्यपान, हेपाटाइटिस बी, हेपाटाइटिस सी लगायतका कारणले कलेजो बिग्रने डा. भण्डारीले बताए ।

त्यस्तै कलेजोमा जम्ने बोसो ( फ्याटी लिभर) एवं अन्य संक्रमणका कारण पनि कलेजो बिग्रन सक्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.