राजनीतिक र प्रशासनिक संयन्त्रको तालमेल भएन : प्रदेश सभामुख घर्ती
गुल्मी : लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले राजनीतिक र प्रशासनिक संयन्त्रको तालमेल हुनुपर्ने बताएका छन्। गुल्मीको मालिका गाउँपालिकाद्वारा आयोजित दास्रो मालिका रनिङ शिल्ड प्रतियोगिता कार्यक्रममा बोल्दै सभामुख घर्तीले पछिल्लो समय प्रशासनिक क्षेत्रमा अटेरी प्रवृतिको हाबी हुँदै गएको दाबी गरे। राज्यको कानुन र नियमलाई टेकेर इमानदारीपूर्वक काम गर्ने सुरक्षाकर्मी मात्रै रहेको बताउँदै कर्मचारी र शिक्षकमा राजनीति समेत लागेको उनले बताए।
समाजिक मूल्य मान्यता र संस्कृति लोभ भइरहेको बेला कार्यक्रममा देखाइएका मौलिक कला र संस्कृतिले नेपाली समाजको संस्कार, संस्कृति जगेर्नामा सहयोग पुप्याएकोमा सभामुख घर्तीले खुसी व्यक्त गरे। देशमा संघीय संरचना सुरु भएसँगै जिल्लामा पूर्वाधार र विकास निर्माणको कार्यले गति लिएको धारणा व्यक्त गर्दै सभामुख घर्तीले स्थानीय सरकारले सञ्चालन गर्ने यी र यस्ता कार्यक्रमले समाजका कला संस्कृति र मौलिकता पहिचानसँगै खेलकुद क्षेत्रको विकास हुने बताए।
मालिका गाउँपालिका ४ अर्खावाङ्गमा दास्रो मालिका रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। कार्यक्रममा पालिकाभित्रका केही वडाका स्थानीयले स्थानीय स्तरमा सञ्चालन हुने यानी माया, भैलो, भजनलगायतका झाँकी प्रस्तुत गरेका थिए। गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ वटा स्थानीय तह छन्। जसमध्ये दोस्रो रनिङ शिल्ड प्रतियोगितामा गुल्मीका आठ र बाग्लुङ्गको वडिगाड गाउँपालिका गरी नौ वटा पालिकाको सहभागिता रहेको सहभागीता मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले जानकारी दिए।