नेपाललाई दोस्रो झड्का, अनिल शाह आउट
काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ। टस हारेर ब्याटिङ गरेको नेपालको दोस्रो विकेट गएको हो।
नामिबियाका रुबेन ट्रम्पलम्यानले अनिल साहलाई आउट गराएका हुन्। साहले ६ बलमा १ चौकासहित ८ रन बनाएर बाहिरिए। त्यस अगाडि ट्रम्पलम्यानकै पहिलो बलमै नेपालका कुशल भुर्तेल जेजे स्मिटको हातबाट समातिए।
आजको खेलमा देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र सूर्य तामाङ बेञ्चमा बसेका छन्। घरेलु मैदानमा भएको अघिल्लो भेटमा नामिबियालाई दुवै खेलमा नेपालले हराएको थियो। एक दिवसीय विश्वकप खेलेर आएको नेदरल्यान्ड्स र जिम्बावेलाई पछि पारेर टी-२० विश्वकपमा छनोट भएको नामिबिया नेपालका लागि चुनौती रहेको छ। नामिबिया पनि नेपाललाई पराजित गरेर सुख सुरुवात गर्ने लक्ष्य लिएको छ।
नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी ।