जनश्रमदानबाटै बन्यो ३ करोड लागतको गुम्बा

जनश्रमदानबाटै बन्यो ३ करोड लागतको गुम्बा
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका— २ बरुवामा जनश्रमदानबाट ३ करोड लागतको गुम्बा निर्माण गरिएको छ। सात सय वर्ष पुरानो ‘शंक क्षेलिङ गुम्बा’ भूकम्पले भत्काएपछि जनश्रमदानबाट २०७७ सालबाट निर्माण सुरु गरिएको गुम्बा निर्माण समितिका अध्यक्ष सत्यमान तामाङले बताए। ‘निर्माण कार्य सकिएको छ। अब मूर्ति स्थापना, रङ, बुट्टा भर्नेलगायतका काम बाँकी छ’, तामाङले भने। ४८ घर गुठी रहेको गुम्बा एक रोपनी जग्गामा निर्माण भएको हो। बौद्ध धर्मअनुसारका हरेक संस्कार गर्न बौद्धमार्गीलाई लक्षित गर्दै गुम्बा निर्माण सुरु गरिएको समितिले जनाएको छ। गुम्बा निर्माणमा देश विदेशमा रहेका दाताबाट प्राप्त भएको सहयोग र जनश्रमदानबाट निर्माण कार्यलाई जारी राखिएको समितिले जनाएको छ। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गुम्बा निर्माण गर्नुपर्ने सूचीमा शंक क्षेलिङ गुम्बा रहे पनि अहिलेसम्म कुनै निकायबाट सहयोग नपाएको स्थानीयले बताएका छन्। ‘अहिलेसम्म जनश्रमदानबाट निर्माण गरियो’, स्थानीय कर्म वाङ्जेनले भने, ‘१ सय ६७ दिनसम्म श्रमदानमा सहभागी भयौं। अबका दिनमा बाँकी काम सम्पन्न गर्न सरकारी निकायहरूलाई भनिरहेका छौं।’ ५० लाख रुपैयाँ कोषमा भएको रकमबाट निर्माण सुरु गरिएको हो। गुम्बा निर्माणमा जनश्रमदानबाट ३० लाख, पाँचपोखरी थाङ्पाल गाउँपालिकाबाट ३० लाख र गुठीयारलगायत आफन्तबाट उठेको करिब ७० लाख रुपैयाँ हालसम्म खर्च भएको समितिका अध्यक्ष तामाङले जानकारी दिए।

पटकपटक संघ र प्रदेश सरकारलाई गुम्बाको बारेमा ध्यानाकर्षण गराउँदासमेत कुनै पनि सहयोग प्राप्त नभएको स्थानीय ग्याल्जेन स्याङ्बोले भने। ‘सरकारले वास्ता नगरेपछि समुदाय आफैंले गुम्बा निर्माणको काम अगाडि बढाएका हौं’, उनले भने, ‘अहिले श्रमदानबाट पनि यति धेरै काम हुने रहेछ भन्ने सन्देश दिन सकिएको छ।’ भूकम्पले गुम्बा भत्काएको र आसपासमा अर्को गुम्बा नभएका कारण स्थानीयलाई पूजा गर्न निकै कठिन भएको प्रमुख लामा छेवाङ ग्याल्बो लामाले बताए। ‘वर्षामा पानी पर्ने, हिउँदमा हावा चल्ने, खुल्ला ठाउँमा पूजा गर्नुपर्दा धेरै समस्या हुने गरेको थियो’, उनले भने, ‘हाम्रो समुदायमा मर्दापर्दा हरेक काम गुम्बामा नै हुन्छ। अहिले गुम्बा निर्माणले तीव्रता लिएसँगै यी समस्या समाधान हुने आशा छ।’

पाँचपोखरीमा ४१ वटा गुम्बा पुनर्निर्माण गर्नुपर्ने पाँचपोखरी गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए। ‘४१ वटा गुम्बा निर्माण गर्नुपर्नेछ, बल्ल ५÷६ वटा बन्यो अरु पनि क्रमशः बनाउने योजना छ’, उनले भने, ‘गाउँपालिकाको आन्तरिक स्रोत अत्यन्तै न्यून रहेकाले पनि गुम्बा, मठमन्दिरलगायतका क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिएको छैन।’

बौद्ध धर्मावलम्बीहरूको विवाह, व्रतबन्धलगायतका पुनित कार्यहरू गुम्बामा आयोजना गरिन्छ। पुनर्निर्माणमा ढिलाइ हुँदा यो समुदायलाई आफ्नो रीतिरिवाज पूरा गर्न समस्या परिरहेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.