मलेसियाबाट स्वर्ण र रजत लिएर फर्किन् सजिना

मलेसियाबाट स्वर्ण र रजत लिएर फर्किन् सजिना
सुन्नुहोस्

विराटनगर : मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालकी सजिना तामाङ स्वर्ण र रजत पदक जित्न सफल भएकी छन्।

फागुन १७ देखि २० गतेसम्म भएको ‘हवारङ वाररिअर आईटीएफ तेक्वान्दो वर्ल्ड च्याम्पियनसिप’बाट दुईवटा अन्तर्राष्ट्रिय पदक लिएर उनी घर फर्किएकी छन्। भोजपुरको षडानन्द नगरपालिका–४ घर भएकी १६ वर्षीया सजिना स्वर्ण र रजत लिएर फर्किएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्कीले जानकारी दिए। 

कार्कीका अनुसार सजिनाले एकल स्पाइरिङतर्फ ४३–५३ तौल समूहबाट स्वर्ण र एकल प्याटन निलो पेटी समूहबाट रजत जितेकी हुन्। सजिनाले पछिल्लो समय आईटीएफमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छन्। विगतमा पनि उनले विभिन्न पदकहरू जितेकी थिइन्। 

भोजपुरको दुर्गम गाउँमा जन्मिएकी महिला खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट स्वर्ण र रजत जित्नु मुलुकका लागि ठूलो उपलब्धि भएको अध्यक्ष कार्कीले बताए। सजिनाको पारिवारिक आर्थिक अवस्था सामान्य छ। बाबु वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामै छन्। ‘दुर्गम गाउँकी चेलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जित्नु ठूलो उपलब्धि हो। महिला खेलाडीले विश्वसामु नेपालको नाम राख्न सक्नु चानचुने कुरा हैन,’ कार्की भन्छन्, ‘यो राष्ट्रका लागि ठूलो सफलता र गौरवको विषय हो। खेल क्षेत्र र खेलाडीको विकासमा राज्यले ध्यान दिनुपर्छ।’ 

उनले विश्वसामु नेपाललाई चिनाउन सफल भएकी सजिनालाई संघीय र प्रदेश सरकारले सम्मान गर्नुपर्ने पनि बताए। सरकारले सम्मान र सहयोग गरे मात्रै खेलाडीको हौसला बढ्ने उनको भनाइ छ। अन्तर्राष्ट्रिय पदक बोकेर फर्किएकी सजिनालाई बुधबार विराटनगर विमानस्थलमा कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघले सम्मान गरेको छ। प्रदेश संघका तर्फबाट कोषाध्यक्ष ओमकुमार श्रेष्ठलगायतले उनलाई विमानस्थलमा सम्मान गरेका हुन्। 

नेपालको प्रतिनिधित्व गर्दै ‘हवारङ वाररिअर आईटीएफ तेक्वान्दो वर्ल्ड च्याम्पियनसिप’मा भाग लिन सजिनासहित ४ जना खेलाडी र १ जना अम्पायर गरेर ५ जनाको टोली गत फागुन १६ गते मलेसिया प्रस्थान गरेको थियो। ४ खेलाडीमध्ये वीरेन्द्र कुँवर दुईवटा विधामा २ कास्य पदक जित्न सफल हुँदा देवेन्द्र सुनार र कैलाश अर्याल पदकविहीन बनेर फर्किए। 

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका कोषाअध्यक्ष विक्रम बाठा मगर नेपालको तर्फबाट अम्पायरको भूमिका निर्वाह गर्दै खेलाडीको टोलीसँग मलेसिया गएका थिए। उक्त प्रतियोगितामा विश्वभरिका ३१ मुलुकका २ हजार ४ सयभन्दा बढी खेलाडीले सहभागिता जनाएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले जनाएको छ। 

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले यसअघि सजिनालाई बिदाइ गर्ने क्रममा पदक जितेर आएमा नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरिसकेका छन्। बोर्डले खेल र खेलाडीको प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेताहरूलाई सम्मान गर्ने प्रचलन बसाएको छ। सम्मानले खेलाडीको मनोबल उच्च हुने वाग्ले बताउँछन्। 

खेलाडीहरू स्वदेश वा विदेशमा हुने प्रतियोगितामा भाग लिन जाँदा आफ्नो खर्च गरेर जानुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेकामा उनको जोड छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.