एकीकरणदेखि सांस्कृतिक वैभवसम्म

एकीकरणदेखि सांस्कृतिक वैभवसम्म

नेपाली सेनाको विकास हुँदै जाँदा सेनाले आफू जन्मेको तिथिमिति भने बिर्सनु पक्कै न्यायसंगत हुने छैन।

१६१६ सालमा लमजुङे राजकुमार द्रव्य शाहले गोर्खामा रहेको लिगलिग कोट जितेपछि गोर्खा राज्यको जग बसेको हो। पहिला गोर्खा भन्ने ठाउँ नै थिएन। यिनै राजाले गोर्खा राज्यको नाम दिए। त्यसअघि गोर्खा इलाका सिन्जा राज्यअन्तर्गत पनि थियो। १६१६ मै उनले नारायण अर्याललाई राजगुरु, सर्वेश्वर खनाललाई राजपुरोहित, गणेश पाण्डेलाई प्रशासन हेर्ने प्रमुख काजी, भगीरथ पन्तलाई सेनापति काजी, केशव बोहोरालाई भूमि विभाग प्रमुख–काजी तथा गंगाराम रानामगरलाई न्यायालय प्रमुख–काजी नियुक्ति दिएर चार काजीको सुरुवात गरेका थिए भने भगीरथ पन्त सेनापति भएका थिए।

गोर्खाबाट नेपाल एकीकरण सुरु भएको थियो भने यस महाअभियानले नेपालको सिमाना पूर्वमा टिष्टा र पश्चिममा काँगडा पु¥याएको थियो। खासमा नेपाली सेनाले आफ्नो इतिहास लेख्दा यी तलका दुई कुरा सत्य होइनन् भन्ने बुझ्नुपर्छ। यही कारण नेपाली सेनाको ज्येष्ठता २०३ वर्ष कान्छो बनाइएको छ। किनकि सेनाले प्रधानसेनापतिकै मनासर विभिन्न स्थापना मिति राखेका छन् अनी जंगीअड्डामा काम गर्ने लेखक विद्वान्हरूले पनि प्रधानसेनापतिहरूलाई खुसी पार्न लेखिदिएका छन्। अहिले आएर १८१९ सालमा स्थापना मिति बनाइएको छ। पहिलो हो ः १८२५ सालमा गोर्खाली राजाले कान्तिपुर राज्य विजय गरेपछि मात्र गोर्खाली राजा र सेना नेपाली भएको भन्ने बिल्कुल पूर्वग्राही छ। उपत्यकाका इतिहासकारहरूबाटै यस्ता कुरा लेखे ता कि गोर्खालीलाई अवमूल्यन गर्नु नै ती लेखाइका उद्देश्यकेन्द्रित थिए।

सप्रमाण ठोकुवा गर्न सक्छु उपत्यकामा कुनै पनि राज्य नेपाल नामका थिएनन्, कान्तिपुर, भक्तपुर र ललितपुर थिए। प्राचीनकालदेखि नै काठमाडौं उपत्यका नेपालको राजाधानी रहेकाले र पछि बाइसे–चौबिसेकालसम्म पनि काठमाडौं खाल्डोलाई जनजिब्रोमा नेपाल भन्ने गरिएको पक्का हो। राजा महेन्द्रले अबदेखि मेची–महाकालीभित्रको भूगोललाई नेपाल भन्नु भन्ने आदेश जारी गरेपछि मात्र आजको नेपाल भनिन थालेको हो। टुक्रिएका ६० ससाना राज्यभित्र कान्तिपुर, ललितपुर र भक्तपुर पनि थिए। बडामहाराजले नै हो कान्तिपुर विजय गरेपछि भूगोलमा नेपाल दिएका हुन् पहिलोपटक। तर त्यसमा सबै नेपाल थिएन। श्री ५ पृथ्वीनारायण शाहले आफू पनि नेपालभित्रकै गोर्खाली राजा भएको मानेर नै उनले आफूले जितेका सबै भूगोललाई नेपाल भने। अन्यथा, उनले सबै भूगोललाई गोर्खा नाम दिन कुनै आपत्ति थिएन।

दोस्रो हो– नेपाली सेना श्री ५ पृथ्वीनारायण शाहको पालामा मात्र खडा भएको होइन। जुन दिन गोर्खा शाहवंशीय राज्य खडा भयो, उसै दिनमा यो सेना स्थापित भयो। अनि गोर्खाली राजा द्रव्य शाहदेखि अन्तिम राजा ज्ञानेन्द्रको राज्यकाल १६१६–२०६३ सालसम्म यो वंश अविछिन्न रूपले नेपालमा रहेको प्रस्ट छ। जब राजनीतिक क्रमिकता भंग हुन्न भने सैनिक, आर्थिक, धार्मिक, सामाजिक, इतिहास भंग कुनै हालतमा हुन्न। यो संसारको मान्यता हो। सेनाको विकास हुँदै जाँदा सेनाले आफू जन्मेको तिथिमिति भने बिर्सनु पक्कै न्यायसंगत हुने छैन।

नेपालविरुद्ध पटक–पटक शत्रुहरूले आक्रमण गरेका छन्। बंगालको नवाव मिरकासिमले मकवानपुरमा गरेको आक्रमण, अंग्रेज क्याप्टेन किनलकले कान्तिपुरको मल्ल राजाको सहयोगको लागि गरेको सैनिक अभियान, तिब्बत र चीन मिली गरेको आक्रमण तथा अंग्रेजले गरेका युद्धहरूको प्रतिकारमा नेपाली सेनाले आफ्नो प्राण अर्पेको छ। अर्काे चरण हेर्ने हो भने देशको कूटनीतिक इच्छाशक्तिलाई सघाउन तत्कालीन भारतमा भएको सिपाही विद्रोहविरुद्ध लड्न, प्रथम विश्वयुद्ध, वजिरीस्तानको युद्ध, द्वितीय विश्व युद्ध तथा भारत स्वतन्त्र भएपछि पनि हैदराबादमा भएको हिन्दु–मुस्लिम समस्या समाधान गर्न समेत हजारौंहजार सेना पठाएर सहयोग गरेको थियो। उक्त कारबाहीहरूमा सयौं सेनाले वीरगति पाए।

देशको यही कूटनीतिक पाटोमा श्रीवृद्धि गर्न नेपाली सेनाले संयुक्त राष्ट्रसंघको आह्वानमा २०१७ सालदेखि हालसम्म संसारका विभिन्न दंगाग्रस्त क्षेत्रमा १ लाख ५० हजारभन्दा बढी शान्ति सेना पठाई संसारभर आफ्नो उच्च प्रतिष्ठा कायम गरेको छ। हाल आएर शान्ति सेना पठाउने देशमा संसारमै नेपाल पहिलो बनेको छ। राष्ट्रसंघमा नेपालले औंला ठाडो पार्न सक्ने बलियो आधार यही बनेको छ। नेपाली सेनाले देश विकास कार्यमा, विशेषगरी नेपाल–अंग्रेज युद्ध र नेपाल भोट युद्धको तयारीका लागि र त्यसपछिका दिनमा हजारौं किलोमिटर कच्ची तथा पक्की सडक तयार गरेको छ। हालसम्म पनि सो कार्यमा लागि परेकै छ। देशको प्राकृतिक सम्पदा जोगाउन वन्यजन्तु, निकुञ्ज, आरक्ष, पानीको स्रोतको संरक्षणमा वर्षौंदेखि खटिएको छ भने देशलाई आपत्ति आइपर्दा विभिन्न दैवी तथा अन्य प्रकोपमा उल्लेखनीय योगदान पु¥याएको छ।

अन्य समयमा तराई क्षेत्रमा घटेका बाढीपहिरोजस्ता कार्यमा समेत करोडौं रुपैयाँको आर्थिक र खाद्यान्न तथा लत्ताकपडाहरूको सहयोग प्रदान गरेको छ। दुःख परेको बेला सबैले सबैलाई मद्दत गर्ने नेपाली संस्कारलाई नेपाली सेनाले आत्मसात् गरेको छ। अर्को महŒवपूर्ण पक्ष भनेको नेपाली सेनाले जगेर्ना गरेको सांस्कृतिक परम्परा हो। सेनाले बुद्ध जयन्ती, फूलपाती, शिवरात्रि, घोडेजात्रा, क्रिसमस (यो दिनमा बिदा पाउँछन्), वसन्त श्रवण, इद पर्वजस्ता राष्ट्रिय पर्वको सम्मान गर्दै आएको छ। हरेक सैनिक अंगमा आआफ्नो निशानको पूजा, हरेक महिना सत्यनारायणको पूजा, हरेक दिन स्थानीय देवीदेवताको पूजा, स्वस्थानीको पूजा तथा दसैं चाडलाई धार्मिक विधिअनुसार मान्दै आएको छ।

देशभरका गढी÷किल्ला र त्यसभित्रका विभिन्न घर, देवीदेवता स्थलहरू देशकै वास्तुकला र धार्मिक सम्पदा पनि हुन्, जुन सेनाले बनाएको थियो। संवैधानिक सरकारको आवश्यकतामा नेपाली सेनाले हरहमेशा नुनको सोझो गरेको छ। अन्तमा, लिगलिग कोटदेखि वर्तमानसम्म नेपाली सेनाबाट शहादत प्राप्त गर्ने सम्पूर्ण सिपाही, नेपाल एकीकरणको नेतृत्व गर्ने राजपरिवार अनि सम्पूर्ण नेपालीमा सलाम ! नेपालको माटो बढाउने र बचाउने काममा बिरगती प्राप्त गर्ने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जलि !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.