राप्रपाले विश्वासको मत नदिने
जुन बेला हैसित पुग्छ, त्यो बेला गणतन्त्र पल्टाइदिन्छौं : लिङ्देन
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र पल्टाइदिने चेतावनी दिएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै राप्रपाका अध्यक्ष लिङ्देनले गणतन्त्रमाथि सधैं फोहोरी खेल भइरहने हो भने यसलाई ढालिदिने चेतावनी दिएका हुन्।
उनले आफूहरूको संख्या सानो भएपनि गणतन्त्रको नाममा लुटतन्त्र मच्याइरहेको बताए। उनले नयाँ सत्ता समीकरणमा आफू सहभागी नहुने स्पष्ट पारे।
उनले भने, 'हामीले ल्याएको व्यवस्था भनेर गणतन्त्रको जसरी व्याख्या गरिरनु भएको छ। पछिल्लो समय गणतन्त्रको नाममा जुन प्रकारको लुटतन्त्र भइरहेको छ। त्यो लुटतन्त्र नै गणतन्त्र हो भने त्यो गणतन्त्रको हामी सधैं विरोध गर्छौं। सडकमा विरोध गर्छौं। सदनमा विरोध गर्छौं। जुन बेला हैसित पुग्छ त्यत्तिबेला पल्टाइदिन्छौं। त्यतिबेला हाम्रो मुख थुन्न सक्नुहुन्न।'
उनले संसदमा उभिएर राजा र धर्मका नाममा गाली गर्ने छुट कसैलाई नभएको जिकिर गरे। राप्रपा अध्यक्ष लिङ्देनले नयाँ गठबन्धन स्वार्थहरूको गठबन्धन भएको आरोप लगाए। जतिसुकै सिद्धान्त र दर्शनको लेप लगाए पनि नयाँ सत्ता हेरफेर स्वार्थको जोडघट भएको भन्दै उनले स्वार्थ मिले टास्सिने नमिले छुटिने बताए।
उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने बताए।