पोखरा अब पर्यटन राजधानी

पोखरा अब पर्यटन राजधानी
पोखरालाई पर्यटन राजधानी घोषणा गर्न आयोजित कार्यक्रममा नाच्दै प्रधानमन्त्री प्रचण्ड। तस्बिर : रासस
सुन्नुहोस्

पोखरा :‘हाम्रो समयले, हाम्रो पुस्ताका युवाहरूले भोगेको एउटा अब्बल क्रान्तिका नायक हुनुहुन्छ’, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रशंसामा गायक प्रकाश सपूतले बोले, ‘उहाँले गरेको परिवर्तनप्रति मलाई धन्यवाद पनि दिन मन थियो।’ 

प्रधानमन्त्री र आफ्नो एउटा राम्रो फोटो पनि नभएको भन्दै गायक सपूतले अवसर छोप्न खोजे। प्रधानमन्त्री दाहालका अघि जीवनमै पहिलोपटक प्रस्तुति दिन पाएकोमा खुसी पनि साटे। अनि अलिअली हिच्किचाउँदै र लजाउँदै भने, ‘प्रोटोकलले मिल्छ भने एकपटक नाच्नलाई आग्रह गरेँ।’

जनतासँगै नाच्दा सम्झनाबिर्सना रहने भन्दै प्रकाशले उद्घोष गर्नासाथ प्रधानमन्त्री दाहाल आसनबाट उठेर सपूतले गाइरहेको मञ्चमा झरे। अनि प्रकाशले गाउन थाले, गलबन्दी च्यातियो, तिम्ले तानेर..., प्रधानमन्त्री दाहाल हात हल्लाइहल्लाई छमछमी नाचे। 

आइतबार पोखरालाई पर्यटन राजधानी घोषणा गर्न आइपुगेका थिए, प्रधानमन्त्री दाहाल। त्यही छेकोको गीत–संगीतको माहोल बनाउन डाकिएका थिए। गायक प्रकाश सपूतले खुसीको मौकामा जनतासँगै नाच्ने भनेर प्रधानमन्त्रीलाई नचाइछाडे। साथमा मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारी र मेयर धनराज आचार्यले पनि तालमा ताल मिलाए। 

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पोखरालाई पर्यटन राजधानी घोषणा पहल गरेका हुन्। प्रधानमन्त्री दाहालले आइतबार पर्यटन राजधानीको स्तम्भ अनावरण गरेका थिए। पोखराको प्राकृतिक सुन्दरतामाथि खण्ड काब्य ‘प्राकृतिक पोखरा’ लेखेर मदन पुरस्कार जितेका कवि मुकुन्दशरण उपाध्यायलाई प्रधानमन्त्री दाहालले सम्मान गरे। यस्तै माछापुच्छ«े फेवातालमा पौडी खेल्दो रै’छ, पोखरा त पोखरा नै रै’छ..गीतका गायक तथा सर्जक प्रेमप्रकाश मल्ललाई मरणोपरान्त सम्मान गरिएको थियो। पोखराको पर्यटकीय सम्भावना उजागरमा योगदान गरेका भूगोलविद् हर्क गुरुङलाई पनि सम्मान गरिएको थियो। 

पर्यटकहरूले नेपाली गीत भन्नासाथ सम्झने ‘रेशम फिरिरी, रेशम फिरिरी.. सर्जक बुद्धि परियारका पुत्र धर्मेन्द्र सेवानले गाएर पर्यटन र संगीतलाई जोडे। सरुभक्तले लेखेको हङकङ—पोखरा, निर्माेही आफ्नो को छ र गाउँदै विवेक श्रेष्ठले गाउनुअघि नै प्रमोद खरेलले शीतल गिरीको गीत ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा गाउन भ्याइसकेका थिए। 

सांगीतिक माहोलसहित आइतबार पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको हो। प्रधानमन्त्री दाहालले भने, ‘प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको अदिप्तीय संगम पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्दछु।’ उनले पोखरा पर्यटन राजधानी भइसकेपछि आवश्यक पूर्वाधारका लागि संघ सरकारले उचित पहल गर्ने आश्वास पनि दिए। ‘पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ’, प्रधानमन्त्री दाहालले भने। 

प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने आश्वास पनि बाँडे। विमानस्थलले ऋणमा डुबायो भन्ने अफवाहका पछि नलाग्न उनले आग्रह गरे। विमानस्थलको ऋणलाई अनुदानमा बदल्न प्रयास भइरहेको पनि उनले सुनाए। ‘सबै ऋण अनुदानमा बदल्नेबारे मेरो ध्यान छ’, उनले भने। 

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार र स्थानीय तह मिलेर पर्यटन राजधानी कार्यान्वयन गर्ने बताए। उनकै सरकारका नीति तथा योजना आयोग उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा संयोजकत्वको समितिले अध्ययन गरी पोखरालाई पर्यटन राजधानी घोषणाको सिफारिस गरेको थियो। 

पोखराका मेयर धनराज आचार्यले पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडलाई आइतबारबाटै २४ घण्टा खुला गरिएको जानकारी दिए। लेकसाइडभन्दा बाहेक मुख्य बजार क्षेत्रमा पनि खाजा पसलहरू राति अबेरसम्म खुला राख्न दिने जानकारी गराए। पोखरा २४सैं घण्टा खुला राख्नुपर्ने माग उठ्दै आए पनि प्रहरी प्रशासनले सुरक्षाको कारण देखाउँदै मध्यरातमै रेस्टुरेन्टहरू बन्द गराउँदै आएको छ। मेयर आचार्यले राजधानी घोषणाले अन्तर्राष्ट्रिय ब्रान्डिङ गरी पोखरामा धेरै पर्यटक ल्याउन सकिने उनले विश्वास व्यक्त गरे।  
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.