अल्पमार्गमै अस्ताए पत्रकारिताका उज्ज्वल नक्षत्र

अल्पमार्गमै अस्ताए पत्रकारिताका उज्ज्वल नक्षत्र
फाइल तस्बिर।
सुन्नुहोस्

वीरेन्द्रनगर : सानैदेखि सिर्जनशील व्यक्तित्व। आफूले पाएको जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्ने उनको स्वभाव। आफ्नो, परिवार र समाजका लागि केही गर्नुपर्छ भन्ने हुटहुटी भएका रुकुमपूर्वका अन्नपूर्णकर्मी विक्रम परियार सोमबार राति बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा परी सधैंका लागि अस्ताए। 

रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ रुमालबाराका परियारले २०७५ चैत ३० गतेबाट रुकुमबाट प्रकाशित रेखदेख साप्ताहिकबाट पत्रकारिता सुरुवात गरेका थिए। रेखदेख साप्ताहिकमा आबद्ध हुँदाका सम्पादक प्रवीण ददेलले भने, ‘उनी पत्रकारिता गर्ने तीब्र इच्छाशक्ति बोकेर पत्रिकाको कार्यालयमा आएका थिए। मैले पनि केही गर्न सक्ने युवा भनेर काम गर्ने अवसर दिएँ।’ उनले करिब २ वर्ष रेखदेख पत्रिकामा काम गरेको ददेलले बताए। पत्रकार परियार निकै इमान्दार, लगनशील र सिर्जनशील रहेको उनले स्मरण गरे।

रेखदेख साप्ताहिकबाट सुरुवात भएको उनको पत्रकारिता त्यसैमा सीमित रहेन। उनी रुकुमपूर्वबाट अन्नपूर्ण पोस्ट् दैनिकमा आबद्ध भएर राष्ट्रिय स्तरका सञ्चार माध्यममा पनि सक्रिय रूपमा काम गरे। उनले आफ्नै इरुकुम डटकम अनलाइन सञ्चालन गरी व्यावसायिक पत्रकारिता पनि गर्दै थिए। पछिल्लो समय उनी नेपाल पत्रकार महासंघ रुकुमपूर्वको सहसचिव, दलित पत्रकार संघ रुकुमपूर्वको अध्यक्ष र प्रेस सेन्टर रुकुमपूर्वका उपाध्यक्षको जिम्मेवारीमा पनि थिए। 

सोमबार उनी दलित पत्रकार संघको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन गाडी चढेर काठमाडौं जाँदै थिए। उनको दलित पत्रकार संघको यही महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने सपना थियो। त्यसैले उनका अन्य साथीले नजाउ भन्दाभन्दै पनि उनी एक्लै काठमाडौं हिँडेका थिए। 

विक्रम बुवा रनवीर नेपाली र आमा रश्मी नेपालीका कान्छो सन्तान हुन्। उनका जेठो दाइ अमृत परियारको परिवार दाङमा बस्दै आएका छन्। बुवाको पहिले नै मृत्यु भइसकेकाले आमाको उनी एक्लो सहारा थिए। विक्रमको आमा र उनी मात्र रुकुममा बस्थे।

सोमबार विक्रम चढेको रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भयो। उक्त दुर्घटनामा विक्रमको मृत्युसँगै उनकी आमा रश्मीको पनि सहारा गुम्यो। रुकुमपूर्वको पत्रकारिताको एउटा सपना पनि अस्तायो। 

सानैदेखि विक्रमसँगै हुर्किएका र हालसम्म पनि सहकार्य गर्दै आएका साथी निराजन शेर्पालीले भने, ‘विक्रम रुकुमपूर्वबाट एक्लै काठमाडौं हिँडे। बागलुङको निसीखोला गाउँपालिकामा बस दुर्घटना भएको खबर आयो। विक्रम चढेकै गाडी रहेछ। हिजो साँझ त घाइते छन् भन्ने सुनियो। बिहान त मृत्यु भएको खबर आयो। विक्रमको त दुर्घटनास्थलमै मृत्यु भइसकेको रहेछ। घरमा आमा अचेत अवस्थामा हुनुहुन्छ। हामी उनको अन्त्येष्टिमा रुकुमगाडमा पुग्यौं। मेरो बालापनदेखिको साथीलाई सदाका लागि बिदाइ गर्नुपर्‍यो। आमा अचेत अवस्थामै हुनुहुन्छ। गाउँ नै शोकमा डुबेको छ।’

मंगलबार रुकुमगाडमा विक्रमको दाहसंस्कारमा उनका परिवार, रुकुमका स्थानीय तहका जनप्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजका अगुवा र स्थानीयको उपस्थिति थियो। प्रेस सेन्टर केन्द्रीय समिति र रुकुम कमिटीले शोक विज्ञप्ति जारी गर्दै विक्रमको निधनले रुकुमको पत्रकारिता क्षेत्रका साथै संगठानिक रूपमा पनि अपूरणीय क्षति भएको भन्दै दुःख व्यक्त गरेको छ। 

‘विक्रम व्यावसायिक र सक्रिय पत्रकारिताका उज्ज्वल भविष्य थिए’, अन्नपूर्ण पोस्ट् दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारीले शोक प्रकट गर्दै भने, ‘उनको निधनले अन्नपूर्ण पोस्ट् र सिंगो नेपाली पत्रकारितामा अपूरणीय क्षति भएको छ।’

अन्नपूर्ण मिडिया नेटवर्कले रुकुम संवाददाता परियारको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.