आख्यानका अक्षरमा इतिहास बने परशु प्रधान
काठमाडौं : जीवनभरको पीडादायी र दुःखान्त भयो, मेरो पहिलो रात अर्थात् हनिमुन। म कुनै कवि वा लेखक होइन, न कुनै दार्शनिक। मेरा सारा सपना एकै रातमा खरानी भएका थिए, मेरा सारा इच्छा, आकांक्षाहरू पानीपानी भएका थिए। कुनै नाटक वा सिनेमामा घट्ने, हुन सक्ने सम्भावित असम्भव स्वयं ममा घट्यो।’ यी वाक्य कथाकार परशु प्रधानको शृंखलाबद्ध कथोपन्यास ‘घर’ को नवौं शृंखलाको सुरुआत हो।
त्यसैले ‘घर’हरू देख्यो कि उही परशु प्रधान सम्झना आउँछ। अझ वाणी प्रकाशनको त नाम कसैले लियो कि त परशु प्रधानको अनुहार आँखामा सल्बलाउँछ। निजामती कर्मचारीलाई देख्यो वा भेट्यो भने पनि उनकै चित्र छाउँछ। शिक्षक र प्रधानाध्यापक जो भेटे पनि उनकै झल्को छाउँछ। साझा प्रकाशन पुग्दा उनै राष्ट्रिय समाचार समिति (रासस) टेक्दा पनि उनकै याद सल्बलाउँछ। बालसाहित्यदेखि कथा, उपन्यास अनि कथोपन्यास जताततै उनै परशु प्रधान छरप्रष्ट नाम नै ठोक्किन आइपुग्छन्। तर, उनै आख्यान पुरुष परशु प्रधान ८० वर्षको उमेरमा हामीमाझबाट सोमबार राति सदाका लागि बिदा भएका छन्। अब उनी भेटिन्छन् त केवल अक्षरमा।
साहित्यकार गोविन्द गिरी प्रेरणाले परशुलाई यसरी बुझेका छन्, ‘लेखेर नथाक्ने, गतिविधिहरूबाट नथाक्ने एक खम्बा हुन्, परशु प्रधान। एउटा चलायमान, गतिशील एवं सिर्जनामा रमाउने स्रष्टा हुन् परशु।’ यस्ता ‘व्यक्तित्व’लाई पूर्वी पहाडी जिल्ला भोजपुरबाट देशको राजधानी काठमाडौं ल्याउने को होला ? प्रश्न उठ्नु स्वाभाविक हो। प्रेरणा लेख्छन्, ‘परशु प्रधानलाई काठमाडौं डोहोर्याउने व्यक्ति थिए– कवि केदारमान व्यथित। त्यसैले प्रधानले व्यथितलाई पितावत् मानेका छन्। ‘गड फादर’ भनेका छन्। व्यथितले पनि परशुलाई पुत्रवत् व्यवहार र स्नेह गर्थे।’
व्यथितको जीवनकालभरि यो सम्बन्ध यथावत् रहेको उनको भनाइ छ। उमेरले वृद्ध भए पनि परशु सबै उमेर समूहसँग उसबठ र रमझम गर्न रुचाउँथे। अनि त्यसलाई साहित्यमा ढाल्थे। ‘त्यसैको उपज थियो, केही क्षणः केहीअनुसार।’ प्रेरणा सम्झन्छन्, ‘साहित्यकारहरूसँगको यही संवादलाई पछि उनले ‘केही अनुहारः केही क्षण’ शीर्षकमा विस्तृत स्वरूपमा बाहिर ल्याए। त्यही पुस्तकले २०५१ सालको उत्तम शान्ति पुरस्कार प्राप्त गर्यो।’
२००० सालमा भोजपुरमा जन्मिएका परशुले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा सुरु गरे। २०२० सालमा साहित्यकार जानुकादेवी रेग्मीसँग भागी विवाह गरे। उनै जानुकाले छोरा प्रतीक सानोछँदाको सन्दर्भ लिएर ‘मेरो सानो खरायो, आज कता हरायो...’ बालकविता लेखिन्। केही दशक सबै विद्यार्थीमाझ लोकप्रिय यो कविताले जानुकालाई कल्पना प्रधानका नामबाट परिचित गराइदियो। उनैसँग जात नमिलेकै आरोपमा १२ वर्ष जेल सजाय हुने भएपछि उनी केही वर्ष बनारसतिर भासिनु परेको थियो।
पवन आलोक नेपाली साहित्यमा परिचित नाम हो। चर्चा भएकै विषय हो, पवनलाई साहित्यको आलोकमा स्थापित गराउने श्रेय परशुलाई जान्छ। नेपाल स्रष्टा समाजका संस्थापक अध्यक्ष उनै पवन परशुबारे भन्छन्, ‘नेपाली साहित्यका विशिष्ट साधक, विशेषतः नेपाली आख्यान साहित्यका धरोहर, मेरा आदरणीय गुरु, सदा प्रेरणा दिइराख्ने मेरा मार्गदर्शक र साहित्यिक अभिभावक परशु प्रधानको महाप्रस्थानको दुःखद खबरले अत्यन्त मर्माहत छु, टुहुरो झैं महसुस गरेको छु। ममात्र होइन, लाग्छ सम्पूर्ण साहित्यिक जगत् स्तब्ध भएको छ।’ उहाँको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको भन्दै उनले थपे, ‘नेपाली कथाको एउटा युगकै अवसान भएको छ।’ उनका अनुसार, नेपाली साहित्यमा पुस्तक विमोचनको परम्परा सुरु गर्ने साथै रचना गर्भको थालनी गर्ने श्रेय परशु दाइलाई जान्छ।
परशुले वाणी प्रकाशनको स्थापना गरे जसले विराटनगर र पूर्वाञ्चल क्षेत्रकै साहित्यको अगुवाई गरिरहेकै छ। एक दशकसम्मको अहोरात्र खटाइले उचाइमा पुर्याएपछि उनले प्रकाशनको जिम्मा अन्य साहित्यकारलाई लगाएका थिए। भोजपुरकै वीरेन्द्र माविमा हेडसर भएर चलाए। २०१६ सालमै पीआर प्रधानको नाममा विराटनगरबाटै प्रकाशित हुने छहारीमा उनले ‘हाँसेकी ती चन्द्रमा’ शीर्षकमा पहिलो रचना प्रकाशन गरे। कविताबाट सुरु गरेका उनले पहिलो पुस्तक कविता संग्रह नै प्रकाशन गरे। तर, उनको जीवनकालमा पहिचान भने कथाकारमा भयो। सीताहरू र घर उनका कथोपन्यास हुन् जुन शृंखलाबद्ध रूपमा बाहिर आए।
उनको पहिलो उपन्यास हो, ‘सबै बिर्सिएका अनुहारहरू’ हो भने दोस्रो ‘रात जो पग्लन्छ’ हो। २०२६ सालदेखि प्रशासन सेवामा जागीर सुरु गरेका उनले रासस र साझा प्रकाशनमा जागीर खाए भने २०५१ सालमा अवकाश लिएपछि पूर्णरूपमा साहित्यमै होमिए।
‘हुँदैन नभेटुन्जेलसम्म सम्बन्ध कसैसँग। हुँदैन सरोकार पनि कुनै। रहँदैन भेटे पनि अर्थ। हुँदै जान्छ जोडघटाउ सम्पर्कमा आएपछि नै। हुँदै जान्छ हिसाबकिताबमा जोडघटाउ। हुन्छन् सम्बन्ध यस्ता पनि। नजिकै लाग्छ टाढा भएर पनि। भेटिसकेजस्तो लाग्छ भेटै नहुँदा पनि। चिनिसकेजस्तो लाग्छ चिन्दै नचिन्दा पनि। हुन् सबै अनुभव र अनुभूतिका कुरा। हुन् मनका कुरा। हुन् इमानदारी र आदर्शका कुरा पनि। भएको थियो सम्बन्ध त्यस्तै परशु प्रधानसँग।’ सञ्चार एवं साहित्यकर्मी श्रीओम श्रेष्ठ रोदनले परशुबारे लेखेका कुरा हुन् यी जसले उनको अन्यसँगको सम्बन्ध छर्लंग पार्छ। उनी सम्झन्छन्, ‘ पुराणमा पढिएका ऋषिको तपस्याजस्तै तपस्या हो परशु प्रधानको। जीवनमा कति विकट यात्रा, कति निकट यात्रा, कति सहज यात्रा भए होलान् ? जे–जस्तो यात्रामा पनि विश्रामको साथ नलिने अविश्रान्त स्रष्टा हुनुहुन्छ। नदीमा बगिरहने पानीजस्तै निरन्तर बगिरहनुभएको छ सिर्जना नदीमा।’
स्वर्गीय प्रधानका ‘द लिटिल बुद्ध इन टोकियो, वक्ररेखा, फेरि आक्रमण, यौटा क्रान्तिपुरुषको जन्म, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, कथा र रचनागर्भ, उत्तराद्र्ध, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’ आदि कथा संग्र्रह प्रकाशित छन्। उनका नानीको कथा, बोल्ने चरो, सुनको छाती, विश्व परिकथा आदि चर्चित बालकथा संग्रह पनि छन्।