लिफ्टिङ मेसिनबाट पशुको उपचार

लिफ्टिङ मेसिनबाट पशुको उपचार
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले ठूला जनावरहरूलाई चिकित्सा जाँच, शल्यक्रिया र अन्य उपचार सहज बनाउन ‘पशु लिफ्टिङ मेसिन’ प्रयोग गरेर उपचार सुरु गरेको छ।

पशुपालनमा किसानलाई सहजीकरणको नीति लिएको नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेपछि किसान खुशी भएका छन्। नगरपालिकाको पशुसेवा शाखाले वडा नम्बर ४ कुविण्डेका किसानको उठ्न नसकेर थला परेको गाईको उपचारमा मेसिनको प्रयोग गरेको हो। आधुनिक प्रविधिबाट किसानलाई भेटेरिनरी उपचारमा सहयोगी गर्ने उद्देश्य अनुरूप मेसिन सञ्चालनमा ल्याइएको नगरपालिकाका पशुसेवा शाखाले जनाएको छ।

नगरपालिकाको वडा नम्बर ४ स्थित कुविण्डेका किसान दुर्गाप्रसाद सापकोटाको घरमा पालिएको गाईको उपचारमा मेसिनको प्रयोग भएपछि नगरका अन्य किसानले पनि यो उपचार विधिबारे जानकारी पाएका छन्। ‘मेरो दैनिक २० लिटर दूध दिने जर्सी गाई बसेको थलाबाट उठ्न सकेन, पशु चिकित्सकलाई जानकारी गराएँ, नगरपालिकाका पशु चिकित्सकहरू मेसिनसहित घरमै आएर उपचार गरिदिए’, कुविण्डे दुग्ध उत्पादक सहकारीका प्रशासन व्यवस्थापक समेत रहेका सापकोटाले भने। 

उनले थलाबाट उठ्न नसकेको गाई मेसिनको सहायतामा उठाइएपछि विस्तारै निको हुँदै गएको जानकारी दिए। नगरपालिकाले उपचार विधिबारे अरू वडाका किसानलाई जानकारी गराउने र किसानको आवश्यकता हेरेर मेसिनको संख्या बढाउने कार्यक्रम तय गरेको छ। प्रशस्त दूध उत्पादन हुने चौतारा नगरले पहिलो पटक मेसिन प्रयोगमा ल्याएको हो। ‘पशु लिफ्टिङ मेसिन’को सहयोगमा पशु चिकित्सकहरूले आफूलाई वा जनावरहरूलाई चोटपटक लाग्ने खतरा बिना सुरक्षित रूपमा उपचार गर्न सक्दछन्। 

विशेष गरी जनावरहरू घाइते वा बिरामी भएको र आफैं चल्न नसक्ने अवस्थामा यसले उठाउन, उपचार गर्न सहज हुन्छ। मेसीनको सहयोगमा आफ्नो खुट्टा नलाग्दा पनि पशुवस्तुलाई उभ्याइने भएकोले जनावरलाई थप हानी नहुने चौतारा साँगाचोकगढी नगरपालिका पशु विकास शाखाका चिकित्सक अर्जुनबहादुर खड्काले बताए।

यो सेवालाई नगरपालिकाभर विस्तार गरी पशु पालन क्षेत्रको विकासमा जुट्ने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले बताए। ‘परम्परावादी एवं निर्वाहमुखी पशुपालन होइन व्यावसायीकरण र आधुनिकीकरण गर्ने नगरको लक्ष्य छ’, सापकोटाले भने, ‘पशुपालन क्षेत्रको सम्भावनाको विश्लेषण गरी कुल कृषि गार्हस्थ्य उत्पादनमा पशु सेवा क्षेत्रबाट उल्लेख्य योगदान पुर्‍याउने लक्ष्यका साथ हामी जुटिरहेका छौं।’ लिफ्टिङ मेसिनद्वारा पशुको उपचार सुरु गर्नु त्यसको सुरुवात भएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.