लुम्बिनीले गाउँ गाउँमा कृषि उद्यमीसहित रोजगारी सिर्जना गर्ने
तानसेन : लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री नव प्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँ गाउँमा कृषि उद्यमीसहित रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
लुम्बिनी प्रदेशका ६ जिल्लाका ११ पालिकामा मुख्य मन्त्री नव प्रवर्तन साझेदारी कार्यक्रम स्वीकृत भएको छ। छनोट भएका पालिकाहरूमध्ये पाँच वटामा कृषि, फलफूल तथा तरकारी, तीन वटामा उत्पादन रोजगारसम्बन्धी, दुई वटामा पर्यटनसम्बन्धी र एउटामा सेवा प्रभावका कार्यक्रम सञ्चालन हुने छन्।
पाल्पाको रिब्दीकोटमा अकवरे खुर्सानी, बेसार र सुन्तलाको बजारीकरण र तिनाउँ गाउँपालिकामा होमस्टे प्रवर्द्धन तथा उद्यमशीलता विकासमा कार्यक्रम गरिने छ। गुल्मी जिल्लामा ३ वटा पालिकामा यो कार्यक्रम छनौट भएको छ।
गुल्मीको दरवार गाउँपालिकामा फलफूल तथा तरकारी खेती प्रवर्द्धन, रेसुङ्गा नगरपालिकामा रेसुङ्गा क्षेत्रमा साहसिक पर्यटकका लागि जिप लाइन तथा स्काई साइकिलिङ निर्माण गर्ने, कालीगण्डकी गाउँपालिकामा सुन्तला जातका फलफूल तथा तरकारी खेती उत्पादन, प्रशोधन तथा बजारीकरणमा काम गर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ।
कार्यक्रम अन्तर्गत अर्घाखाचीको सन्धीखर्क नगरपालिकामा सामुदायिक विद्यालयमा आधारभूत शिक्षाको गुणस्तर बढाउन ई-शिक्षा तथा डिजिटल शिक्षा सञ्चालन गर्ने, बर्दियाको बासँगढी नगरपालिकाका जैविक कृषि प्रवर्द्धन, रोल्पाको त्रिवेणी गाउँपालिकामा कृषि परियोजनामार्फत युवा रोजगारी बढाउने, दाङको राप्ती गाउँपालिकामा बेसार अदुवा उत्पादन, प्रशोधनसँगै उद्योग स्थापना गर्ने गरी कार्यक्रमहरू स्वीकृत भएको सचिव घिमिरेले बताए।
कार्यक्रम सञ्चालनका लागि प्रदेशका १०९ पालिका मध्ये ६० वटाले प्रस्ताव पेश गरेकोमा ११ वटा पालिकाको मात्र प्रस्ताव स्वीकृत भएको हो। कार्यक्रमले स्थानीय स्तरमा कृषि उत्पादन बढाउने, युवालाई रोजगारी बनाई बढ्दो वैदेशिक रोजगारीलाई कम गर्ने, किसानहरूमा उत्साह बढाउने, सहर तथा गाउँ ठाउँमा पर्यटकहरू बढाउने र समग्र प्रदेश लाई संवृद्ध बनाउने लुम्बिनी प्रदेश सरकारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !