लप्चीबासीलाई सीमा पास वितरण
दोलखा : तिब्बतसँग सीमा जोडिएको दोलखाको लप्ची–रामदिङ नाकाका स्थानीयलाई जिल्ला प्रशासन कार्यालय दोलखाले गाउँमै पुगेर सीमा प्रवेशका लागि पास वितरण गरेको छ।
केही समयअघिदेखि चीन सरकारले प्रवेशका लागि पास खोजेपछि आवश्यक सामग्री किन्न र चौरी चराउन समस्या भएको थियो। अनिवार्य पास मागेपछि लप्चीबासीले जिल्ला प्रशासन कार्यालयसँग पास उपलब्ध गराइदिन आग्रह गरेका थिए।
त्यसपछि कार्यालयले पास वितरण गर्न थालेको थियो। तर भौगोलिक विकटताका कारण सदरमुकाम आउन सास्ती भएपछि पास वितरण हुन सकेको थिएन। लप्चीबासी सदरमुकाम चरिकोट आउन नसकेपछि प्रशासन कार्यालयमा थन्किएको पासलाई प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले गाउँमै पास वितरणको व्यवस्था गरेका हुन्।
लप्चीका ३८ जना स्थानीयलाई गाउँमै पुगेर पास वितरण गरेको जिल्ला प्रशासन कार्यालय दोलखाका शाखा अधिकृत विकल श्रेष्ठले बताए। गाउँमा भेटिएका सबैलाई पास वितरण गरेको र छुटेकालाई जिल्ला प्रशासन कार्यालयबाटै वितरण हुने उनको भनाइ छ।
विगु गाउँपालिका–१ का लप्चीबासीले आफूहरूले पालेका याक चौरीको चरण क्षेत्र चीनतर्फकै भूभागमा रहेको तर कोरोना महामारीदेखि झण्डै ४ वर्षभन्दा बढी उनीहरूले चीन प्रवेश गर्न पाएको थिएनन्। गत असोज ११ गते स्थानीय स्तरमा समझदारी कायम भएपछि चीनका रामदिङ नाका अनौपचारिक रुपमा खुला गरिएको थियो।
अनौपचारिक रूपमा नाका खुला भएपछि सीमा पारी पुगेर सामान खरिद बिक्री सुरु भएको लप्चीका स्थानीयले बताएका थिए। आवश्यक सामग्री नुन, तेल, चामल,दाल लगायतका सामग्री किनमेल गर्नुका साथै चौरीका घ्यू र छुर्पी बिक्री वितरण गर्न पाएको स्थानीयको भनाइ थियो तर प्रवेशका लागि चिन सरकारले पास मागेपछि मारमा परेका थिए।
आवश्यक सामग्री किन्न र चौरी चराउन समस्या भइरहेको थियो। लप्ची नाकाबाट चिनियाँ बजारमा जाँदा स्थानीयले हालसम्म पास प्रयोग गरेका थिएनन्। नागरिकता देखाएर चिनियाँ बजार जाने गरेका थिए तर चिनियाँ सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै अनिवार्य पास मागेपछि लप्चीबासीले नेपाल सरकारसँग पास उपलब्ध गराइदिन आग्रह गरेका थिए।
चौरी चरनका लागि नेपालतर्फको भूभाग प्रयाप्त नभएको र आफूहरूले उत्पादन गरेको चौरीका घ्यु र छुर्पी बिक्री वितरण गर्न समस्या भएको र आफूहरूलाई अत्यावश्यक सामग्री नुन, तेल, चामल,दाल आदि सामग्री नेपालतिरको लामाबगर हुँदै खरिद गर्दा असाध्यै महँगो हुने तथा जलविद्युत आयोजना निर्माण गर्ने भन्दै लामाबगर झर्ने बाटो पनि भत्किएकाले डोरीमा झुन्डिएर हिँड्नुपर्ने बाध्यता रहेको बेला जिल्ला प्रशासन कार्यालय दोलखाले गाउँमै पुगेर पास वितरण गरेपछि सहज भएको स्थानीय फुर्वा शेर्पाले बताए।
लप्चीका माथिल्लो भेगमा हिमपात हुन लागेपछि लप्चीबासी आफ्नो चौरीगोठ लुम्नाङतिर झार्ने गर्छन् र हिउँद सकिएपछि चौरीको चरणका लागि चीनको भूभाग प्रयोग गर्छन्। लप्चीबासीको दैनिकी चीनको बजारमै निर्भर छ।
आफ्नै वडाको लामाबगरबाट लगिने एक प्याकेट नुनको एक सय ६० रुपैयाँसम्म पर्ने र सबैभन्दा सस्तो ३० केजीको एक बोरा चामललाई छ हजारसम्म पर्ने लप्ची टोल विकास समितिका अध्यक्ष वाङ्चुक शेर्पाले बताए। तर, लप्ची–रामदिङ नाका हुँदै चीनको छुप्साङबाट सामान ल्याउँदा नुन एक पोकाको बढीमा ५० रुपैयाँ मात्र पर्ने उनको भनाइ छ।
लप्चीबाट रामदिङ हुँदै चीनको छुप्साङ पुग्न झन्डै डेढ घण्टा लाग्छ पास भएपछि चीन सरकारले टाँसिघाङसम्म जान दिए झन् सस्तोमा सामान पाउन सकिने लप्चीका स्थानीयबासीको भनाइ छ। लप्चीमा ४६ घरधुरी र एक सय ५० जनसङ्ख्या छ। उनीहरूले १ हजारभन्दा बढी चौरी पालेका छन्।
प्रतिक्रिया दिनुहोस !